३२ असार , काठमाण्डौ ।
कुनै समय संसदमा बलियो उपस्थिति, सडकमा ठूलो प्रभाव र मधेसदेखि पहाडसम्म आफ्नै जनाधार भएका दलहरू आज कहाँ पुगे ? जुन पार्टीहरूले नेपालको राजनीति बदल्ने दाबी गरेका थिए, आज उनीहरू नै आफ्नो अस्तित्व जोगाउने संघर्षमा छन् । फागुनको निर्वाचनले केवल सरकार बदल्ने जनादेश दिएन, यसले पुराना राजनीतिक शक्तिहरूको आधार नै हल्लाइदिएको छ ।
मधेसी दलहरू कमजोर भए, वामपन्थी शक्तिहरू खुम्चिए, र नयाँ विकल्पको खोजीमा जनता अर्को दिशातर्फ लागे । च्याउसरी दर्ता भएका राजनीतिक दलहरु भित्र कसरी शक्तिशाली भनिएका दलहरू पनि केही वर्षमै किनारामा पुगे ? भन्ने विचारणीय प्रश्न हो । फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनले नेपालको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्यायो ।
लामो समयदेखि संसद र क्षेत्रीय राजनीतिमा प्रभाव राख्दै आएका मधेसी, प्रगतिशील तथा वामपन्थी दलहरू यसपटकको चुनावमा लगभग किनारामा पुगे । एक समय मधेसको मुख्य शक्ति मानिएका दलदेखि दशकौँदेखि संसदमा उपस्थिति जनाउँदै आएका कम्युनिस्ट धारका पार्टीसम्म जनताको समर्थन गुमाउँदै गएका छन्।
यी घटनाले ती दलहरूको राजनीतिक यात्रा कमजोर बन्दै गएको हो? कि बदलिँदो जनमत बुझ्न नसक्दा उनीहरू संकटमा परेका हुन ? भन्ने प्रश्न उठेको छ । २०६४ सालको संविधान सभा निर्वाचनपछि मधेस केन्द्रित राजनीतिमा प्रभावशाली बनेका जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र पछिल्लो समय उदाएको जनमत पार्टी यसपटकको निर्वाचनमा ठूलो पराजय व्यहोर्न बाध्य भए ।
कुनै समय मधेसको राजनीतिमा निर्णायक शक्ति रहेका यी दलहरू अहिले संगठन, नेतृत्व र जनविश्वासको संकटसँग जुधिरहेका छन् । फागुनको निर्वाचनमा यिनीहरु निल बने । नत थ्रेस होल्ड कटाउन सके, नत प्रत्यक्षमा नै एक सिट जित्न सके । जनता समाजवादी पार्टी नेपालले २०६४ सालपछि पहिलोपटक प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न सकेन।
समानुपातिकतर्फ पनि पार्टीले सीमित मत मात्र प्राप्त ग¥यो। पार्टीभित्र एकता र समायोजनको प्रक्रिया अघि बढाउने भनिए पनि नेतृत्व, संरचना र भूमिकाको विषयमा अझै सहमति जुट्न सकेको छैन । जसपा नेपालका नेताहरूले मधेसी दल कमजोर हुनुको कारण आफैँभित्र खोज्नुपर्ने बताएका छन्।
जातीय पहिचानको राजनीतिमा सीमित हुनु, भ्रष्टाचार र नेतृत्वमाथि उठेका प्रश्नको जवाफ दिन नसक्नु, परिवारवाद र गुटबन्दी बढ्नु जस्ता कारणले जनतासँगको दूरी बढेको उनीहरूको स्वीकारोक्ति छ । ०७९ को निर्वाचनमा राष्ट्रिय दल बनेपनि विभाजन पछि बनेका जसपा र जसपा नेपाल गएको फागुन २१ को निर्वाचनमा निल बने ।
२०७९ सालको निर्वाचनमा अप्रत्यासित शक्ति बनेको जनमत पार्टी यसपटक संसद प्रवेशबाटै बाहिरियो । मधेसमा नयाँ विकल्पका रूपमा उदाएको यो पार्टी पनि केही वर्षमै आन्तरिक विवाद र संगठनात्मक कमजोरीको प्रभावमा परेको देखिन्छ । यता, नागरिक उन्मुक्ति पार्टी पनि विभाजन र नेतृत्व विवादका कारण कमजोर बन्न पुग्यो । छोटो समयमै राष्ट्रिय दल बन्दै राष्ट्रिय राजनीतिमा चर्चा पाएको यो पार्टी चुनावी परिणाममा कमजोर देखियो ।
दशकौँदेखि आफ्नो क्षेत्र सुरक्षित राख्दै आएका नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समेत यसपटक आफ्नो प्रभाव कायम राख्न सकेनन् । भक्तपुरलाई आफ्नो बलियो आधार क्षेत्र बनाउँदै आएको नेमकिपाको किल्ला यसपटक नयाँ शक्तिको उभारसँगै भत्कियो।
पार्टी नेतृत्वले जनताको सेवाभाव कमजोर हुँदा राजनीतिक संकट आउने बताउँदै संगठन विस्तारमा जोड दिएको छ । राष्ट्रिय जनमोर्चाले पनि लामो राजनीतिक इतिहास हुँदाहुँदै सीमित मतमा खुम्चिनुप¥यो। पार्टीले अहिले संगठन सुदृढीकरण र वामपन्थी तथा देशभक्त शक्तिसँग सहकार्यको प्रयास गरिरहेको जनाएको छ ।
जेनजी आन्दोलनपछिको राजनीतिक माहोलमा बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि अपेक्षित समर्थन जुटाउन सकेन। पार्टीभित्र वैचारिक लाइन र नेतृत्वको विषयमा विवाद बढ्दै गएपछि विभाजनको अवस्था सिर्जना भयो । त्यस्तै, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि निर्वाचन उपयोग गर्ने नीति लिएर मैदानमा आए पनि जनसमर्थन विस्तार गर्न सकेन। पार्टीभित्रै निर्वाचन रणनीतिलाई लिएर असहमति देखियो।
२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका छन् । यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ । यो हर्क साम्पाङ नेतृत्वको पार्टी हो । यो पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ ।
बाँकी राष्ट्रिय दलको मान्यत पाउने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् । यी चार दल विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलको रुपमा रहेका थिए । जबकी ०७९ को निर्वाचनमा ७ दलले राष्ट्रिय दलको मान्यता पाएका थिए ।
अर्काे रोचक पक्ष भनेको चाँही २०७९को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय पार्टीको मान्यता पाएका ५ राजनीतिक दलका अध्यक्ष ०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । ०७९ को निर्वाचनबाट प्रतिनिधिसभामा सबैभन्दा ठुलो पार्टी बनेको नेपाली कांग्रेसका सभापति गगन थापा, दोस्रो ठुलो पार्टी बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय पार्टी बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पराजित भएका हुन् ।
यी दलहरूको पराजय केवल चुनावी अंकगणितको विषय मात्र होइन । नेतृत्वप्रतिको अविश्वास, पुरानै शैलीको राजनीति, संगठन कमजोर हुनु, नयाँ पुस्तासँग जोडिन नसक्नु र जनताको बदलिँदो अपेक्षा बुझ्न नसक्नु अहिलेका प्रमुख चुनौती देखिन्छन् । तर यी दलहरू अझै राजनीतिक मैदानबाट पूर्ण रूपमा समाप्त भने भएका छैनन् ।
अधिकांश पार्टीले संगठन पुनर्निर्माण, आत्मसमीक्षा र नयाँ रणनीतिको कुरा गरिरहेका छन् । के यी दलहरूले आफ्नो कमजोरी पहिचान गरेर पुनः जनतामाझ विश्वास निर्माण गर्न सक्छन ? कि नेपालको राजनीतिमा नयाँ शक्तिहरूको उदयले पुराना धारहरूलाई क्रमशः विस्थापित गर्नेछ ?
नेपालको राजनीति अहिले परिवर्तनको चरणमा छ । पुराना दलहरू अनुतीर्ण भएका छन् भने नयाँ शक्तिहरूको परीक्षा सुरु भएको छ । अधिक , आशा र विश्वास गरिएकाले उनीहरुको स्थायित्व पनि चुनौतीपूर्ण देखिन्छ ।




