अविरल वर्षापछि देशका विभिन्न राजमार्ग अवरुद्ध

१३ साउन ८३, बिहीबार

१४ साउन , काठमाण्डौ ।

Advertisement

 यदी तपाइँ यात्रामा निस्कदै हुनुहुन्छ भने, कुन कुन राजमार्ग अवरुद्ध छन्, राति कहाँ यातायातमा रोक लगाइएको छ ? आज दिउँसो र राति कहाँ, कत्रो वर्षाको सम्भावना छ ? भन्ने जानकारी राख्नु तपाइँका लागि फाइदाजनक हुनसक्छ ।

अविरल वर्षा, पहिरो तथा बाढीका कारण अहिले देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले बिहीबार बिहान ७ः५० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । वर्षाका कारण इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग हिलाम्मे बनेपछि उक्त सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

Advertisement

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि आवागमन ठप्प भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले पासाङ ल्हामु राजमार्ग कटान गरेपछि उक्त सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खसेपछि सवारी सञ्चालन रोकिएको छ भने जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानी खोलाको बाढीले सडक कटान गरेपछि उक्त सडकमा पनि यातायात सेवा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ । पछिल्लो चौबीस घन्टामा देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएका छन् ।

कास्कीकी याङ्जाकोटमा पछिल्लो चौबीस घन्टामा ६०.६ मिलिमिटर वर्षा मापन भएको छ । जाजरकोटमा ५५ मिलिमिटर, लमजुङको भुजुङमा ५२.८ मिलिमिटर, दार्चुलाको धरमपानीमा ४५.६ मिलिमिटर, काठमाडौंको सुन्दरीजलमा ४७.६ मिलिमिटर वर्षा मापन भएको छ ।

बिहान ८ः२५ बजेको मापनमा एक घण्टामा सबैभन्दा बढी वर्षा कञ्चनपुरमा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो अवधिमा कञ्चनपुरको दोधारामा ७३.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै आज दिउँसो पनि देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात, पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

दिउँसो नै कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेशको पहाडी र तराई भू–भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो काठमाडौंमा वर्षाको सम्भावना ६० प्रतिशत छ ।

यस्तै ताप्लेजुङ, विराटनगर, ओखलढुंगा, जिरी, पोखरा, जुम्ला, दिपायल, डडेलधुरा, धनगढीमा पनि वर्षाको सम्भावना ६० प्रतिशत रहेको महाशाखाले जनाएको छ । यसबाहेकका अरू केही जिल्लामा पनि ‘मध्यम’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top