१५ साउन , काठमाण्डौ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गृहमन्त्रीकै उपस्थितीमा ६ बुँदे सम्झौता भएको छ ।
सम्झौता अनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यस्तै, सम्झौता अनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइनेछ ।

सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने सहमति भएको छ ।
त्यसैगरी, दुवै मृतकको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख छ । सम्झौतामा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकको तर्फबाट हस्ताक्षर गरिएको छ भने गृह मन्त्रालयको तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार मृतकहरूको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने उल्लेख गरिएको छ । गृह र स्वास्थ्य मन्त्री हिजो राति नै विराटनगरमा घाइतेहरुसँग भेट गरी सुनसरी पुगेका थिए । मध्यरातसम्म मृतकका पीडित परिवारसँग संवाद गरी सरकार र पीडित परिवार बीच सम्झौता भएको हो ।
मृतकका आमा बुवा मन्त्रीद्वसँग भावविभल भएका थिए । यसअघि २ युवालाई देवानगन्ज गाउँपालिकाले जनही १० लाख राहत दिने निर्णय गर्दै सहिद घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो । कार्यपालिकाको आपतकालीन बैठक बसी सात बुँदे प्रस्तावमा सर्वसम्मत निर्णय गरेको छ।
बैठकले शोक प्रस्ताव पारित गर्दै घटनामा गोली लागी निधन भएका वडा नं. ४ का २४ वर्षीय ओमप्रकाश मेहता र वडा नं. ३ का २२ वर्षीय जयप्रकाश मेहताको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ। निधन भएका दुवै व्यक्तिलाई गाउँपालिकाको तर्फबाट सहिद घोषणा गर्दै सोको स्वीकृतिका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ।
राहतस्वरूप मृतक परिवारलाई गाउँपालिकाबाट रु. १०÷१० लाखका दरले, पूर्ण वा अति अशक्त अपांगता भएकालाई रु. २÷२ लाख र मध्यम तथा सामान्य अपांगता भएकालाई रु. ५०÷५० हजारका दरले उद्धार, राहत तथा पुनःस्थापना खर्च शीर्षकबाट रकम उपलब्ध गराउने निर्णय भएको छ।
वर्तमान परिस्थितिका कारण वडा समितिको बैठक बस्न नसक्ने भएकाले वडा नं. ३ का जेष्ठ सदस्य राम बहादुर महतोलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिने निर्णय पनि गरिएको छ। घटनाबाट गाउँपालिकाभित्रका विभिन्न व्यक्तिको निजी सम्पत्तिमा भएको क्षति एकिन गरी सोको क्षतिपूर्तिका लागि नेपाल सरकारसँग माग गर्ने निर्णय समेत भएको छ।
शान्ति सुरक्षाको दृष्टिले असहज अवस्था सिर्जना भएकाले स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सेवाबाहेक गाउँपालिका अन्तर्गतका कार्यालयहरू अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरिएको छ।
यस्तै घटनामा मृत्यु भएका र विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कठोरतम सजाय दिन नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय बैठकले सर्वसम्मत रूपमा गरेको छ ।
त्यसअघि कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ र आगजनीबाट घर–पसलमा क्षति पुगेका परिवार तथा घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
बिहीबार मात्रै विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको निधन भएको थियो । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा यसअघि गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको निधन भएको थियो ।
उनको शव पाँच दिन बित्दासमेत अस्पतालमै छ। पीडित परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका थिए । अब सहमतिपछि भने आज अन्त्येष्टि हुनेछ । आइतबार रातीको गोलीकाण्डमा घाइते भएका अन्य ७ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचारत रहेका छन् ।
घाइते सर्वसाधारणको विराटनगरस्थित न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा सघन उपचार भइरहेको छ। घाइतेहरुलाई गृह र स्वास्थ्य मन्त्रीले भेट गरेका छन् । यही घटनालाई लिएर सिरहामा पनि भएको प्रर्दशनमा एक जनाको गोली लागेर ज्यान गएको छ ।
सिरहा, सप्तरी र जनकपुरमा कफ्र्यु लागेको छ भने वीरगन्जमा निषेधाज्ञा जारी गरिएको छ । विराटनगरमा पनि युवाहरुले हिजो जिल्ला प्रशासन कार्यालय अघि प्रर्दशन गरेकामा आज दिउसो भने सद्भाव र्यालीको आयोजना गरिने भएको छ।




