२५ वैशाख , काठमाण्डौ ।
नेपालमा ठूलो उत्साह र महत्वका साथ घोषणा गरिने अधिकांश पूर्वाधार आयोजना अन्तत आर्थिक अव्यवस्था, प्रशासनिक ढिलासुस्ती र राजनीतिक अस्पष्टताको शिकार बन्ने गरेका छन् । त्यसकै एक उदाहरण हो , चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ।
धुमुर्स सुन्तली फाउन्डेसनले यसको निर्माण सुरु गरेपनि अहिले राज्यकै मातहतमा आएको यो आयोजना फेरि आर्थिक संकटको चपेटामा परेको छ । निर्माण कम्पनीलाई पाँच महिनादेखि करिब १० करोड रुपैयाँ भुक्तानी हुन नसक्दा काम ठप्प भएको छ ।
वैशाख १५ देखि निर्माण रोकिएको अवस्थामा अब बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच भएको नयाँ सहमतिपछि मात्रै रंगशालाको भविष्य अघि बढ्ने संकेत देखिएको छ। नेपाली क्रिकेटको भविष्यसँग जोडिएको, अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वाधारका रूपमा प्रचार गरिएको यो परियोजना अहिले बजेट अभाव र भुक्तानी विवादका कारण ठप्प अवस्थामा पुगेको छ ।
निर्माण कम्पनीले लामो समयदेखि भुक्तानी नपाएको भन्दै काम रोक्ने निर्णय गरेपछि राष्ट्रिय महत्वको आयोजना अलपत्र अवस्थामा छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको यो रंगशालाबाट नेपाली क्रिकेटको दीर्घकालीन आधार तयार गर्ने उद्देश्य राखिएको छ ।
तर, आयोजना सुरु भएदेखि नै आर्थिक स्रोत सुनिश्चितता, प्रशासनिक समन्वय र दीर्घकालीन सञ्चालन मोडेलबारे स्पष्ट खाका नबनाइएकाले अहिलेको अवस्था सिर्जना भएको देखिन्छ । निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभी ले पटक–पटक भुक्तानी माग गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएपछि वैशाख १५ देखि निर्माण कार्य स्थगित गरेको जनाएको छ ।
कम्पनीका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धि, ढुवानी समस्या र बजारमा सामग्री अभावका बीच पनि कामलाई निरन्तरता दिइएको थियो, तर पाँच महिनादेखिको करिब १० करोड रुपैयाँ भुक्तानी रोकिँदा निर्माणलाई रोकिएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच रंगशालाबाट भविष्यमा प्राप्त हुने आम्दानी कसरी बाँड्ने भन्ने सहमति लामो समयसम्म नबन्दा प्रदेश सरकारले बजेट निकासा गर्न ढिलाइ गरेको देखिन्छ ।
तर वैशाख २२ मा भएको सहमतिअनुसार रंगशालाबाट हुने आम्दानीको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत महानगरपालिकाले प्राप्त गर्ने समझदारी बनेपछि अब भुक्तानी प्रक्रिया अघि बढाउने सहमति भएको छ । रंगशालामा अहिलेसम्म भूमिगत विद्युत प्रणाली जडान गर्ने काम सम्पन्न भइसकेको छ ।
दुवै भीआईपी टावरमा विद्युत संरचनाको काम सकिएको बताइएको छ भने आवश्यक जेनेरेटरसमेत स्थलमा आइसकेको छ । मैदानको ड्रेनेज प्रणालीका लागि आवश्यक पाइपहरू जडानको तयारीमा छन् । प्याराफिटका अधिकांश ब्लक निर्माण भइसकेका छन् भने भीआईपी टावरको मुख्य संरचना तयार भएर अन्तिम फिनिसिङको काम बाँकी रहेको जनाइएको छ ।
२०८१ असार २३ मा भएको सम्झौताअनुसार ७८ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ३० महिनाभित्र निर्माण सक्ने योजनाअनुसार अब समयसीमा सकिन धेरै बाँकी छैन ।
पहिलो चरणमा १५ हजार दर्शक क्षमताको प्याराफिट, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मैदान र पिच, दुई वटा भीआईपी टावर तथा स्कोरबोर्ड निर्माण गर्ने योजना तय गरिएको थियो । तर सम्झौतामै फ्लडलाइट र दर्शकका लागि स्थायी कुर्सी समावेश गरिएको छैन्



