२९ वैशाख , काठमाण्डौ ।
आज विहानदेखि देशभर मौसम बदली भएको छ भने धेरैजसो स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ८ बजे दिएको जानकारीअनुसार बागमती र गण्डकी प्रदेशका केही स्थान, कोसी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम बदली र वर्षा भइरहेको हो । मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै हिमाली भेगमा हिमपातको पनि सम्भावना छ । यस्तै राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ । मौसमविद्का अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ ।
’आज उपत्यकामा थप वर्षा हुने सम्भावना उच्च छ’, मौसमविद् बिनु महर्जनले भनिन्, ’हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ विहान पनि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भएको छ । ’आज काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ’, मौसमविद् महर्जनले भनिन्, ’कुनै बेला झुलुक्क घाम देखिए पनि फेरि बादल लाग्ने सम्भावना छ।’
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा विपद्को जोखिम उच्च रहने अनुमान गरेको छ । प्राधिकरणका अनुसार मनसुनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपद्को जोखिम उच्च रहेको हो ।
प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा १९ लाखभन्दा धेरै जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान छ । मस्यौदाअनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना छ ।
तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेषगरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुनसक्ने अनुमान छ । प्रतिवेदनमा मनसुन अवधिमा देशभर झन्डै ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना प्रभावित हुन सक्ने अनुमान छ ।
प्रदेशगत विश्लेषणअनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसुनजन्य विपद्को जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ । प्राधिकरणले विपद् पूर्वतयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, सुरक्षित ठाउँको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिए ।



