५ जेठ , काठमाण्डौ ।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई सोमबार राती पर्साको वीरगञ्जस्थित दियालो होटलबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई नियन्त्रणमा लिइएको हो, तर कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे स्पष्ट खुलाइएको छैन।
प्रहरीका अनुसार प्रसाईंलाई केही विषयमा बुझ्नुपर्ने भएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले उनलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा राखिएको मात्र बताएका छन्।
प्रसाईं सोमबार नै वीरगञ्ज पुगेका थिए र सोही दिन होटलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउको कारण सार्वजनिक नगरेपछि घटनालाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ र थप अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ। प्रसाईंको पछिल्लो गतिविधि र विभिन्न विवादका कारण उनी प्रहरी निगरानीमा रहेको चर्चा पनि भइरहेको छ।
अहिले उनलाई पर्सा प्रहरीको हिरासतमा राखिएको छ र आवश्यक प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने तयारी गरिएको छ। घटनापछि होटल परिसर क्षेत्रमा केही समय तनाव भएको थियो । उनका समर्थकहरुले पक्राउको कारण खुलाउन प्रहरीलाई दबाब दिएका थिए भने प्रसाईले समेत पक्राउ पुर्जी नबुझ्ने अडान लिएका थिए ।
प्रहरीले सोधपुछ गरी तथ्य पत्ता लगाउने र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने बताएको छ। प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । वीरगञ्जमा आज हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गरेका थिए । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए ।
मेडिकल व्यवसायी तथा राजनीतिक–सामाजिक अभियानकर्ता प्रसाईं पछिल्ला वर्षहरूमा विभिन्न विवाद, आरोप र प्रहरी कारबाहीमा पर्दै आएका छन् । उनी पटक पटक प्रहरी हिरासत र थुनामा परिसकेका छन् । उनी बैंक ऋण, आन्दोलन, राजनीतिक अभिव्यक्ति र सार्वजनिक प्रदर्शनसँग जोडिएर विवादित बन्दै आएका छन् ।
२०८१ असोजमा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ कमेरोटारस्थित घरबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। सो समय प्रसाईंले सामाजिक सञ्जालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विदेशमा अबैध पैसा राखेको भन्दै गलत प्रचार गरेका थिए।
प्रसाईंमाथि विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिने गरेको पनि उजुरी थियो। यस्तै मंसिर ४, २०८१ म प्रसाईंलाई प्रहरीले फेरि भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनीमाथि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप थियो ।
फागुन ४, २०८१ म निर्वाचन भाँड्ने आरोपमा उनी फेरि पक्राउ परे । विद्युतीय अपराध मुद्दा खेपेर माघ २५ मा हाजिर जमानीमा रिहा भएका प्रसाईं फागुन ४ मा फेरि पक्राउ परेका थिए। प्रहरीले उनलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको आदेशले उनी फागुन १३ मा रिहा भएका थिए।
फागुन १७, २०८१ सार्वजनिक शान्ति विरुद्धको कसुरमा पुनः पक्राउ परेका थिए । उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको थियो । सर्वोच्च अदालतको आदेशपछि फागुन १३ गते रिहा भएको केही दिनमै उनलाई पुनः पक्राउ गरिएको थियो। चैत १५, २०८१ तीनकुने हिंसात्मक प्रदर्शनका कारण उनी थुनामा बस्नु परेको थियो ।
राजतन्त्र फर्काउने उद्घोषका साथ आन्दोलनमा लागेका प्रसाईं नै कमान्डर बनेर राजधानीको तीनकुनेमा प्रदर्शन भयो। उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गयो। घटनापछि उनी भागेर भारत पुगे। त्यसपछि पक्राउ परेका प्रसाईंमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान लगायतका मुद्दा लगाइएका छन्। तीनकुने घटनापछि फरार रहेका प्रसाईं १४ दिनपछि भारतको असाम राज्यबाट पक्राउ गरिएको थियो ।



