५ जेठ , काठमाण्डौ ।
देशकै सबैभन्दा सुरक्षित मानिने केन्द्रीय कारागारा सुन्धारामा रहेकी सपना तामाङले एकाएक ‘जेल ब्रेक’ गरिन्। काँडेतार, उच्च पर्खाल र प्रहरी निगरानीमा कडा सुरक्षा व्यवस्था हुने कारागारबाट उनी भाग्न सफल भइन् ? यद्यपि जेलको पर्खाल नाघेर भागेको २४ घण्टा बित्न नपाउँदै पक्राउ परिहालिन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले सपनालाई जेलको पर्खाल नाघेर भागेको २४ घण्टाभित्रै काठमाडौंको असनबाट पक्राउ गर्न सफल भयो। खासमा सपना आइतबार बिहान साढे १ बजे केन्द्रीय कारागारको महिला बन्दीगृहको पर्खाल नाघेर भागेकी थिइन्। नुवाकोट विदुर नगरपालिकाकी २५ वर्षीया सपना २०७७ साल मंसिरदेखि जन्मकैदको सजाय भोगिरहेकी थिइन्।
त्यसो त सपना यसअघि २०८२ भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा जेल प्रशासनले कैदीलाई खुला स्थानमा निकालेका बेला पनि फरार भएकी थिइन्। त्यसपछि दुई महिनापछि रसुवा प्रहरीले उनलाई धुन्चेबाट पक्राउ गर्यो। सपना रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको हत्या अभियोगमा दोषी ठहर भएकी कैदी हुन्।
प्रहरीका अनुसार २०७७ सालमा सुनको टप लुटेपछिको घटना सार्वजनिक हुने डरले उनले बालिकाको हत्या गरेकी थिइन्। रसुवा जिल्ला अदालतले उनलाई अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँका–चोरी मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। यसपालिको जेलब्रेक चाहिं सपनालाई भारी पर्ने देखिन्छ।
किनकी उनको ‘जेलब्रेक’बारे छानबिन गर्न कारागार प्रशासनले छानबिन समिति गठन गरेको छ। प्रहरीले सपना भाग्नुमा आकस्मिक नभएर योजनाबद्ध भएको हुनसक्ने अनुमान गरेको थियो। त्यसपछि प्रहरीको प्राम्भिक अनुसन्धानका आधारमा सपनालाई भगाउन सहयोग गर्ने भोजपुर घर भएका २६ वर्षीय समिर श्रेष्ठलाई पनि पक्राउ गरियो।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काकाअनुसार प्रारम्भिक छानबिनमा समिर सपनाको प्रेमी भएको खुलेको छ। अझ त्यो भन्दा पनि रोचक चाहिं, उनीहरूबीचको प्रेम पनि कारागारमै भएको पाइयो। खासमा पहिला समिरकी आमा पनि केन्द्रीय कारागारमै थिइन्। त्यसक्रममा आमालाई भेट्न जाँदा सपनासँग चिनजान भएर उनीहरू प्रेम सम्बन्धमा परे।
अनि सपनालाई जेलबाट भगाउने योजना बनाए। नभन्दै, सफल पनि भएन। सीसीटीभी फुटेजअनुसार सपना जेलको पर्खालबाट भागेको वेला उनले मोटरसाइकलमा राखेर लिएको गएको देखिन्छ। सेन्ट्रल जेलभित्र महिला बन्दीगृह समेत रहेको छ। यहाँबाट भगाउन सफल भएका समीरले आफ्नो डेरामा लगेर राखेका थिए।
त्यहींबाट प्रहरीले पक्राउ गर्यो। जेनजी आन्दोलनताका पहिलोपटक जेलबाट भागेर बाहिर बस्दा प्रेमी समीरसँगै विभिन्न स्थानमा घुमघाम गरेकी सपना फेरि पनि भागेर बाहिरै बस्ने योजनामा थिइन्। उनको योजनामा महिला बन्दीगृहकै एक बन्दीले साथ दिइन्। अपहरण तथा शरीर बन्धक र जिऊ मास्ने बेच्ने कसुरमै थुनामा रहेकी ती महिलाले सपनालाई कसरी जेलबाट भाग्न सकिन्छ भनेर योजना दिइन्।
ती महिलाले कुन स्थानबाट कसरी भाग्न सकिन्छ र कति बजे भाग्दा निस्कन सकिन्छ भनेर योजना बनाइन्। त्यसैअनुरुप दुवैजना सँगै भाग्ने योजनामा रहेको सपनाले बताएकी छिन्। तर पछि भाग्दा भने सपना तामाङ एक्लै भागिन्।योजनाअनुसार १२ फिटभन्दा अग्लो पर्खालको भित्रपट्टि सपनाले तरकारी ल्याउने क्रेटहरू राखिन्।
६ वटा क्रेट राख्दा पर्खालको माथि चढ्न सकियो। त्यसपछि सोही क्रेटमाथि चढेर केन्द्रीय कारागारको महिला बन्दीगृहबाट सपना जेठ २ को राति १ बजे उक्त पर्खालको माथि चढिन्। अनि त्यही पर्खालबाट भुईँमा फाल हानेर भागिन्। उक्त दिन आफू त्यहाँबाट भागेर हिँड्दै ठमेलसम्म पुगेको सपनाले प्रारम्भिक बयान दिएकी छिन्।
ठमेलमा पुगेर एक ट्याक्सी चालकको मोबाइलबाट सुरुमा समीरको बुवालाई फोन गरिन्। त्यसपछि समीरको बुवा लिन आएको र समीरको कोठामा गएको बयानमा भनेकी छन्। सपनाकाअनुसार समीरको आमा सीता थापा पनि सपनासँगै केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेकी थिइन्। त्यही क्रममा समीर श्रेष्ठ आमाका लागि माला बुन्नका लागि सामान तथा कपासहरू लिएर जान्थे।
त्यसपछि उनीहरूबीच भएको चिनजान बिस्तारै प्रेम सम्बन्धमा परिणत भएको थियो। प्रेम सम्बन्धमा रहेपछि सपना र समीरबीच बारम्बार कुराकानी भइरहन्थ्यो। कारागारकै टेलिफोनबाट समेत सपना र समीरबीच कुराकानी हुने गरेको पाइएको छ। त्यसैले हुनुपर्छ, भाद्र २४ पछि सपना जेलबाट भाग्दा समीरसँगै रसुवाका विभिन्न स्थानमा घुमफिर गरेर बसिन्।
सुरुका केही दिन काठमाडौं र त्यसपछि रसुवालगायतका जिल्लामा उनीहरू सँगै बस्दा कात्तिक १६ मा सपनालाई पक्राउ गरेर पुनः केन्द्रीय कारागारमा ल्याइएको थियो। सपनाका प्रेमी समीर भने असनकै एक भाडा पसलमा काम गर्ने व्यक्ति हुन्। तर अहिले प्रेमिकाको कारण कैदी भगाउन सहयोग गरेको आरोपमा उनीमाथि अनुसन्धान सुरु भएको छ।
फरार कैदी आफ्नो कोठामा आएपछि प्रहरीलाई खबर गर्नुपर्नेमा सम्पर्क नगरी लुकाएर राखेको कसुरमा समीरमाथि अनुसन्धान हुने प्रहरीले बताएको छ। उता, सपना भने १७ वर्षकै उमेरदेखि पक्राउ पर्न थालेकी थिइन्। प्रहरीका अनुसार उनी त्यतिबेला चोरीको कसुरमा पक्राउ पर्दै छुट्दै गर्न थालेकी थिइन्।
त्यो बेला उनको बानीमा सुधार होला भनेर प्रहरीले चोरीका सामग्रीसहित पटक–पटक पक्राउ गर्दा पनि मुद्दा नचलाइ सुधारका लागि चोरी भएका सामग्री पीडित परिवारलाई बुझाएर छोड्दै आएको थियो। तर पछिल्लो पटक चाहिं डाँका चोरी, अपहरण र हत्या मुद्दामा जन्मकैद (२५ वर्ष) को फैसला सुनाइयो।
संघीय राजधानीको सबैभन्दा सुरक्षित मानिने केन्द्रीय जेलबाट सपना सजिलै भाग्नुलाई भने गम्भीर सुरक्षा कमजोरी मानिएको छ। सुन्धारा कारागारको सुरक्षाका लागि प्रहरीको डीएसपीको कमान्डमा टोली खटिएको हुन्छ। हाल कारागारको सुरक्षाको कमान्ड प्रमुखमा डीएसपी शैलेश न्यौपाने छन्।
कारागारका जेलर भने कृष्ण चापागाईँ हुन्। सपनाले कारागारको पछाडितर्फको पर्खाल नाघेर भागेको जेलर चापागाईंको भनाइ छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी प्रविण धितालले पनि के कसरी सपना कारागारबाट भागिन् भन्नेबारे आन्तरिक छानबिन भइरहेको बताए।



