८ जेठ , काठमाण्डौ ।
राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भनिन् प्रधानमन्त्री संसद्मा नआएर संसद्को गरिमा र संसदीय मर्यादाको पालना गरिरहनु भएको छैन् , उहाँलाई संसद्मा उपस्थित हुन्, सम्माननीय सभामुख महोदयबाट रुलिङ होस् , हामी विपक्षीका मात्रै होइनौं सत्तारुढ रास्वपा सांसदहरु पनि जनताका सवालमा प्रधानमन्त्रीसँग सीधै प्रश्नोत्तर गर्न चाहिरहनु भएको छ तर बाध्यताले उहाँहरु बोल्न सक्नु भएको छैन् ।
खुश्बुले संसद्मा बोलेको २४ घण्टा नबित्दै रास्वपाका सांसदहरुले यही गुनासो पार्टीका सभापति रवि लामिछानेसँग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आज कोशी र मधेश प्रदेशका पार्टीका सांसदहरुसँग प्रदेशगत छलफल गरेका छन् । सो क्रममा सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्री र सरकारबारे गुनासो पोखेका छन् ।
छलफलमा सभापति लामिछानेले सरकारका विषयमा भएको गुनासो निर्धक्क भएर सुनाउन आग्रह गरेपछि सांसद्हरुले मनको बह पोखेका हुन् । छलफलमा सहभागी एक सांसद्का अनुशार ‘केही माननीयहरूले संसद्मा सरकारबारे बोल्नु भएको छ। संसद्मा नबोल्नुस्, केही गुनासो छ भने मलाई भन्नुस्,’ लामिछानेले भनेका थिए।
उनीहरूले जनगुनासो प्रधानन्त्री र मन्त्रीलाई सुनाउन नपाएको सभापति लामिछानेलाई सुनाएका छन्। ‘प्रधानमन्त्री र मन्त्रीका सचिवालयले जनगुनासोको सुनुवाइ नगर्दा हामीलाई अप्ठ्यारो भएको छ,’ बैठकमा सहभागी सांसदको भनाइ उद्धृत गर्दै रास्वपाका एक सांसदले भने, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयमा हाम्रो एक्सेस भएन। हामीलाई रेस्पोस्न नै गर्नुभएन।’
प्रधानमन्त्री र मन्त्रीसँग भेटघाट समेत गर्न नपाएको उनीहरूको भनाइ थियो। अझ प्रधानमन्त्री र मन्त्रीका सचिवालयले समेत नटर्ने गरेको रास्वपा सांसदले सभापति लामिछानेसँग गुनासो गरेका छन्। यस्तै ‘सरकार र सांसदबीच दूरी बढेको पनि सांसद्हरुले अनुभव सुनाएका थिए ।
आफ्नो क्षेत्रका बासिन्दाले समस्या सुनाउने गरेको र ति समस्या लिएर प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पु¥याउन नसकिएको उनीहरूको पीडा छ। जसले गर्दा सरकारका कामकारबाही जनताको अपेक्षा अनुसार नभएको उनीहरूले भनाइ छ। हामी जनताका प्रतिनिधि हौँ। जनताले हामीलाई गुनासो सुनाउँछन्। हामी सरकार पु¥याउन सकिरहेका छैनौँ। मन्त्री र स्वकीय सचिवालयले वेवास्ता गरिरहेका छन्,’ छलफलमा सांसद्हरुले भनेका छन् ।
झण्डै दुई तिहाईको सरकार हुँदा पनि कामकारबाही प्रभावकारी नभएको र संसद्मा समेत बोल्न नसक्ने अवस्था आएको उनीहरूको भनाइ थियो। यस विषयमा प्रधानमन्त्री शाहसँग कुराकानी गर्न रास्वपा सांसदले सुझाएका छन्। ‘पार्टी र सरकारबीच तालमेल नहुँदा संसदमा पनि हाम्रो उपस्थिति फितलो देखिएको छ,’ छलफलमा सहभागी सांसदले भने, ‘पार्टीको लाइन के हो भन्ने विषयमा सभापति र प्रधानमन्त्रीबीच कुराकानी हुनुपर्छ।’
रास्वपा सांसदले सरकारलाई पार्टीले निर्देशन दिनुपर्ने बताएका छन्। त्यससँगै सरकार रास्वपाको नीति अनुसार चल्नुपर्ने उनीहरूले सुझाएका छन्। छलफलमा सहभागी सांसदहरूको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘सरकारले पार्टी चलाउने होइन, पार्टीले सरकार चलाउने हो। त्यहीअनुसार, पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूलाई निर्देशन दिनुपर्छ।’
रास्वपा सांसदले पार्टी महाधिवेशनको तयारी सुरु भएसँगै नयाँ र पुरानो भनेर गुठबन्दी भइरहेको पनि गुनासो गरेका थिए । ‘नयाँ र पुरानाका नाममा वडा तहसम्म ठूलो गुटबन्दी भइरहेको छ,’ रास्वपा सांसदले सभापति लामिछानेलाई भनेका छन्, ‘नयाँहरूले पुरानालाई मैले राखेको ठाउँमा बस्नुपर्छ, मैले दिएको खानुपर्छ भनेर व्यवहार गरिरहेका छन्। पुराना नेता र कार्यकर्ताले क्षताअनुसार जिम्मेवारी र भूमिका पाइरहेका छन्।’
सांसदका गुनासो सुनेपछि रास्वपा सभापति लामिछानेले यसको सम्बोधन गर्ने आश्वासन दिएका छन्। ‘तपाईहरूले उठाएका विषयमा प्रधानमन्त्रीसँग कुराकानी गर्नेछु, कसरी हुन्छ, सहज बनाउनेछु,’ लामिछानेको भनाइ थियो।बैठकपछि रास्वपा सचेतक प्रकाशचन्द्र परियारकाअनुसार सभापतिले सांसदहरूलाई वडादेखि संघसम्मको गतिविधि, आगामी महाधिवेशनमा देखा परेका चुनौती र संसदीय भूमिकालाई कसरी जनमुखी बनाउने भन्ने विषयमा निर्देशनात्मक सुझाव दिएका छन् ।
छलफलका क्रममा सांसदहरूको कार्यसम्पादनलाई गुणस्तरीय बनाउने, कानुनी जटिलताहरू निराकरण गर्ने र पार्टीको विधानअनुरूप सरकारको कार्यसम्पादनमा सहयोग पु¥याउने विषयमा समेत गहन विमर्श भएको जनाइएको छ । सभापतिले सांसदहरूलाई आफ्नो व्यक्तित्व निर्माण गर्दै जनताका मुद्दामा प्रखर रूपमा प्रश्तुत हुन आग्रह गरेको पनि परियारले जानकारी दिए ।
झापा क्षेत्र नं. ५ का सांसदको अनुपस्थितिबारे सोधिएको प्रश्नमा सचेतक परियारले मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीसँग पार्टी सभापतिको नियमित समन्वय र सहकार्य भइरहेको बताए । उनले आगामी बजेट निर्माणको व्यस्तताका कारण केही विशिष्ट परिस्थितिहरू उत्पन्न हुनु स्वाभाविक भएको तर्क गरे ।
यस्तै रास्वपाकी सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो ? भन्दै प्रश्न गरेकी छन् । छलफल सांसद राना मगरले सुकुम्बासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताएको जानकारी दिइन ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्थानीय तहहरूले सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै पार्टीको धारणा बुझ्न चाहेको बताइन । केन्द्रीय सरकारको निर्देशन भएको भन्दै झापाका स्थानीय तहले सुकुम्बासी बस्ती हटाउन भन्दै सूचना जारी गरिरहेको भन्दै आपत्ति समेत जनाइन ।
सांसद राना मगरले काठमाडौंमा सरकारले सुकुम्बासी हटाएको घटनालाई आधार बनाएर झापालगायतका स्थानीय तहहरूले धमाधम खाली गराउने सूचना जारी गर्नु उचित नभएको बताइन । रास्वपाले आफ्ना जनप्रतिनिधिहरूलाई उत्तरदायी बनाउन र पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन यस्ता अन्तक्र्रियात्मक कार्यक्रमहरूलाई सातै प्रदेशमा निरन्तरता दिने योजना बनाएको छ ।
यसको सुरुवात कोशी र मधेश प्रदेशबाट गरेका छन्। लामिछानेले सातै प्रदेशका सांसदसँग छलफल गर्ने परियारले जानकारी दिएका छन् । रास्वपाले चाँडै सरकार र पार्टीको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने उनले बताए । सांसदले उठाएका विषय संयन्त्रको बैठकमा राख्ने पनि सभापति लामिछानेले आश्वासन दिएका छन्।
सांसदसँगको छलफलको अन्त्यमा सभापति लामिछानेले भने, ‘सरकारका विषयमा संसद्मा विरोध नगर्नुस्। तपाईहरूले उठाएका विषय म हल गर्छु, कसरी हुन्छ निकास खोज्छु।’



