आजको मौसम अपडेटः कहाँ पर्छ भारी वर्षा, कुन सडक बन्द?

१९ साउन ८३, बुधबार

२० साउन , काठमाण्डौ ।

Advertisement

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालको तराई भूभाग नजिकै अवस्थित छ। यसैको प्रभावका कारण अहिले देशका अधिकांश भूभागमा साधारणतया बदली भई विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानमा तथा हिमाली र तराई भूभागका केही स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

Advertisement

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत प्रबल सम्भावना रहेको छ।

यसैगरी, आज राति पनि देशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि वर्षाको निरन्तरता रहनेछ।

Advertisement

भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै काठमाडौँ उपत्यकाका धेरैजसो स्थानमा विहानैदेखि सिमसिम पानी परिरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उपत्यकाको खासगरी उत्तरी भेगमा हल्का वर्षा भइरहेको हो।

दिउँसो फेरि मौसम बदली हुने र हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिएको छ। मौसमविद् लामिछानेका अनुसार बेलाबेला मौसम केही खुलेजस्तो भए पनि र घाम देखिए पनि समग्रमा दिनभर काठमाडौँ उपत्यकामा साधारणतया मौसम बदली नै रहने सम्भावना छ।

एकातिर मौसमले चेतावनी दिइरहेको बेला अर्कोतर्फ सडक मार्गमा आएको अवरोधका कारण यातायात सेवा समेत प्रभावित बनेको छ । सिन्धुलीमा भएको गम्भीर दुर्घटना र त्यसपछिको तनावपूर्ण स्थितिका कारण खोटाङबाट सिन्धुली हुँदै काठमाडौँ आवतजावत गर्ने यातायात सेवा अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

गत साउन १८ गते फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सडक किनारमा रोकी राखेको कारलाई काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बसले ठक्कर दिएको थियो। उक्त ठक्करका कारण कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो।

यस दुर्घटनामा परि सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीका गणेश थापा र सुजन बलमपाकी मगर नदीमा बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरी व्यापक रूपमा परिचालन गरिएको भए पनि हालसम्म उनीहरूको कुनै पनि अवस्था पत्ता लाग्न सकेको छैन।

यसैबीच, पीडित पक्षले उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्गमा चक्काजाम गरी सडक अवरोध सिर्जना गरेका छन्। सडक पूर्ण रूपमा बन्द भएपछि खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले अर्को सूचना जारी नभएका कारण यातायात सेवा स्थगित गर्नुपरेको जानकारी दिएका छन्।

यसरी मुख्य सडक मार्ग अवरुद्ध हुँदा पूर्वी क्षेत्रबाट काठमाडौँ तथा अन्यत्र आवतजावत गर्ने सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन् र ठूलो सास्ती ब्यहोर्न बाध्य भएका छन्।
उता म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो ।

बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । सो सडक भएर यात्रु मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी रातिको समयमा यातायात सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top