काठमाडौं, साउन २० — सभामुख डोलप्रसाद (डीपी) अर्यालको अध्यक्षतामा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ। बैठकमा प्रतिनिधिसभाको आगामी संसदीय क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई अझ सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको थियो।
छलफलका क्रममा सांसदहरूको आचरण, संसद् बैठकमा अपनाउनुपर्ने पोशाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन तथा संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपायका साथै सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा सदस्यहरूले आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका थिए।
बैठकमा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।

त्यसैगरी, संसद्को कार्यसम्पादनलाई थप प्रभावकारी, मर्यादित र जनउत्तरदायी बनाउन सबै पक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा सहभागी सदस्यहरूले जोड दिएका थिए।



