२७ साउन , काठमाण्डौ ।
अमेरिका–इजरायल र इरानबीच जारी चौतर्फी तनाव र सैन्य टकरावका बीच मध्यपूर्वको जलक्षेत्र रणभूमि बनिरहेको छ । एकातिर स्थल र आकाशबाट क्षेप्यास्त्र तथा ड्रोन प्रहार भइरहेका छन् भने अर्कातिर विश्व व्यापारको मुटु मानिने जलमार्गहरूमा सैन्य नाकाबन्दी र जहाजहरूमाथि आक्रमणका घटना तीव्र बनेका छन् ।
यसैक्रममा इरानमाथि अमेरिका र इजरायलले लगाएको कडा नाकाबन्दी तोडेर इरानी बन्दरगाहतर्फ अघि बढ्दै गरेको पानामाको एउटा कार्गो जहाजमा अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको छ । यस घटनाले विश्वकै सबैभन्दा संवेदनशील तेल जलमार्ग स्ट्रेट अफ होर्मुजमा तनावलाई थप पराकाष्ठामा पु¥याएको छ ।

यसका साथै यमनका हुथी विद्रोहीहरूले बाब अल–मन्देब जलडमरूमध्यमा गरेको ज्यालेरी आक्रमण, संयुक्त राष्ट्रसंघले पश्चिम किनार बारे जारी गरेको चेतावनी, र कतार तथा पाकिस्तानले सुरु गरेको रणनीतिक कूटनीतिक मध्यस्थताबारे आज हामी विस्तृत चर्चा गर्नेछौँ ।
अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमका अनुसार इरानको नाकाबन्दी तोड्ने प्रयास गरिरहेको पानामाको ध्वजावाहक कार्गो जहाजलाई पटक–पटक चेतावनी दिइएको थियो । तर जहाजले अमेरिकी सेनाको निर्देशन पालना नगरी इरानी बन्दरगाहतर्फ गति बढाएपछि अमेरिकी सैन्य हेलिकप्टर वा ड्रोनबाट जहाजको ’स्टेयरिङ प्रणाली’ लाई लक्षित गरी दुईवटा विनाशकारी हेलफायर क्षेप्यास्त्र प्रहार गरियो ।
क्षेप्यास्त्र प्रहारबाट जहाजको नियन्त्रण प्रणाली ध्वस्त पारिएपछि जहाज अघि बढ्न नसकी समुद्रमै रोकिएको छ । अमेरिकी सेनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार इरानविरुद्धको समुद्री नाकाबन्दीलाई चुस्त बनाउन व्यापक सैन्य शक्ति परिचालन गरिएको छ ।
इरानतर्फ जाँदै गरेका ५५ वटा व्यापारिक जहाजहरूलाई चेतावनी दिएर बाटो मोड्न लगाइएको छ । निर्देशन नमान्ने ३ वटा जहाजमाथि प्राविधिक तथा सैन्य प्रहार गरी निष्क्रिय पारिएको छ । यस्तै, २ वटा जहाजमा अमेरिकी कमाण्डो टोली प्रवेश गरी पूर्ण रूपमा कब्जामा लिइएको छ ।
यस घटनाले अमेरिकाले इरानविरुद्ध लगाएको आर्थिक तथा सैन्य नाकाबन्दीलाई कुन हदसम्म कडा बनाउन खोजिरहेको छ भन्ने स्पष्ट पार्छ । यस आक्रमणसँगै स्ट्रेट अफ होर्मुजमा जलपोतहरूको आवतजावत लगभग ठप्प बनेको छ ।
विश्वभर खपत हुने कूल कच्चा तेलको करिब २० देखि ३० प्रतिशत हिस्सा यही साँघुरो जलमार्ग भएर ओसारपसार हुन्छ । यसैबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिका र इजरायलको नाकाबन्दीविरुद्ध कडा टिप्पणी गर्दै स्ट्रेट अफ होर्मुज पुनः खोल्नका लागि निम्न सर्तहरू अघि सारेका छन् ।
अमेरिकाले इरानविरुद्ध जारी राखेको सम्पूर्ण युद्ध र समुद्री नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने, विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थामा रोक्का गरिएका इरानी सम्पत्तिहरू फुकुवा गरिनुपर्ने, मध्यपूर्वभर इजरायल र अमेरिकाले गरिरहेका सैन्य कारबाही रोकेर पूर्ण युद्धविराम लागू हुनुपर्ने सर्तहरू छन् ।
रेजाईका अनुसार यी मागहरू पूरा नभएसम्म इरानले कुनै पनि हालतमा होर्मुज जलमार्गबाट विरोधी राष्ट्र वा तिनीहरूसँग सम्बन्धित जहाजहरूलाई आवतजावत गर्न दिने छैन । मध्यपूर्व पूर्ण रूपमा महायुद्धमा होमिन सक्ने जोखिम बढेपछि छिमेकी र मध्यस्थकर्ता राष्ट्रहरू कूटनीतिक रूपमा सक्रिय भएका छन् ।
कतारले ओमान र इरानबीच स्ट्रेट अफ होर्मुज खोल्ने विषयमा भइरहेको वार्ता निर्णायक र महत्त्वपूर्ण चरणमा पुगेको दाबी गरेको छ । पूर्व अमेरिकी वरिष्ठ कूटनीतिज्ञ एलन एरका अनुसार इरान र ओमान ६० दिनका लागि अस्थायी रूपमा व्यावसायिक जहाज आवतजावत गराउने योजनामा सहमत भएका छन् ।
६० दिने परीक्षण कालमा जहाजहरूलाई इरानी जलसेनाको निगरानीमा छुट्टाछुट्टै तोकिएका सुरक्षित मागबाट जान दिइनेछ । तर यो योजना लागू हुनका लागि अमेरिकाले आफ्नो नाकाबन्दी खुकुलो पार्दै सहमति जनाउनुपर्नेछ, जुन अहिलेसम्म अनिश्चित छ ।
यसैबीच, पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी मध्यस्थकर्ताको भूमिका खेल्दै इरानको राजधानी तेहरान पुगेका छन् । उनले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघचीसँग गहन छलफल गरेका छन् । पाकिस्तानले अमेरिका र इरानबीचको सीधा युद्ध रोक्न र विश्वव्यापी आपूर्ति शृङ्खलालाई जोगाउन होर्मुज खोल्ने विषयमा सेतुको काम गरिरहेको छ ।
होर्मुज जलडमरूमध्यमा तनाव जारी रहँदा यमनका इरान समर्थित हुथी विद्रोहीहरूले अर्को महत्त्वपूर्ण जलमार्ग बाब अल–मन्देबमा आक्रमण तीव्र पारेका छन् । हुथी विद्रोहीहरूको आधिकारिक समाचार संस्था ’साबा’ का अनुसार हुथी सैन्य दस्ताले साउदी अरेबियाका लागि सैन्य सामग्री र आपूर्ति बोकेको भनिएको एउटा व्यावसायिक जहाजमाथि घातक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका छन् ।
यस आक्रमणमा परी जहाजमा सवार ६ जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् । होर्मुज र बाब अल–मन्देब दुवै जलमार्ग एकैपटक अशान्त बनेपछि लाल सागर र हिन्द महासागर जोड्ने व्यापारिक मार्गहरू पूर्ण रूपमा ठप्प हुने जोखिम बढेको छ ।
यसले गर्दा एसिया र युरोपबीच हुने इन्धन, खाद्यान्न र औद्योगिक कच्चा पदार्थको ढुवानी महँगो र ढिलो हुन पुगेको छ । यसैबीच गाजा र जलक्षेत्र बाहेक कब्जामा रहेको प्यालेस्टिनी भूभाग पश्चिम किनार र लेबनान सीमामा पनि स्थिति थप बिग्रिँदै गएको छ ।
संयुक्त राष्ट्रसंघका उपविशेष संयोजक रामिज अलअकरबले पश्चिम किनारमा इजरायली सेना र बसोबासीहरूको हिंसात्मक कारबाहीका कारण मानवीय संकट गहिरिँदै गएको बताएका छन् । राष्ट्रसंघीय तथ्यांक अनुसार यस वर्ष मात्रै पश्चिम किनारमा ७६ जना प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ, जसमा १८ जना मासूम बालबालिका रहेका छन् ।
राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायलाई यो क्षेत्रमा थप रक्तपात रोक्न तत्काल हस्तक्षेप गर्न अपिल गरेको छ । उता उत्तरी सीमा अर्थात् दक्षिणी लेबनानमा इजरायली वायु रक्षा प्रणालीले आफ्नै सैन्य गतिविधिलाई लक्षित गरेर ’इन्टरसेप्टर क्षेप्यास्त्र’ प्रक्षेपण गरेको छ ।
इजरायली सेनाले पछि स्पष्टीकरण दिँदै प्राविधिक पहिचानमा भ्रम उत्पन्न भई आफ्नै दस्तालाई दुश्मनको लक्ष्य सम्झेर क्षेप्यास्त्र हानिएको स्वीकार गरेको छ । यस घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको र स्थिति नियन्त्रणमा रहेको इजरायली सेनाले जनाएको छ ।
मध्यपूर्वमा भइरहेको यो बहुआयामिक युद्धले केवल दुई वा तीन देशलाई मात्र नभई समग्र विश्व अर्थतन्त्रलाई नै धराशायी बनाउने खतरा पैदा गरेको छ । स्ट्रेट अफ होर्मुज बन्द हुनु वा त्यहाँ जहाजहरूमाथि आक्रमण हुनुको सीधा असर विश्वव्यापी कच्चा तेलको मूल्यमा पर्छ।
यसले नेपालजस्ता आयातमा निर्भर देशहरूमा पेट्रोनियम पदार्थ र उपभोग्य वस्तुको मूल्य आकासिने निश्चित छ । अमेरिका र इजरायल एकातिर तथा इरान, हुथी, र उनीहरूका पछाडि रहेका शक्तिहरू अर्कोतिर उभिँदा तेस्रो विश्वयुद्धको कालो बादल मडारिएको छ ।
कतार, ओमान र पाकिस्तानले गरिरहेको ६० दिने अस्थायी शान्ति योजनालाई अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भन्ने कुराले आगामी दिनको युद्धको दिशा तय गर्नेछ ।






