रोल्पामा पहिरोमा बगेका शव छिमेकी जिल्लामा,१० जनाको मृत्यु

२९ साउन ८३, शुक्रबार

२९ साउन , काठमाण्डौ ।

Advertisement

देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ भने दिउँसो धेरै भारी र राति भारी वर्षाको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ। अर्काेतर्फ भारी वर्षाकै बीच रोल्पाको थवाङमा हिजो गएको पहिरोमा परी १० जनाको ज्यान गएको छ भने ३ जना अझै बेपत्ता छन् ।

वर्षा र बगिरहेको लेदोका बीच उद्धार खोजी कार्य अझै जारी राखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । सुरुमा मौसम सम्बन्धी खबर । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

Advertisement

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान कोसी र पाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भूभागका थोरै स्थान तथा वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागको एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

Advertisement

राति देशभर साधारणतया बादल लाग्ने विभागको भनाइ छ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको विभागले जानकारी दिएको छ ।

उता निरन्तरको वर्षापछि रोल्पा जिल्लाको थबाङ गाउँपालिकामा गएको भयानक पहिरोका कारण ज्यान गुमाउनेहरूको संख्या १० पुगेको छ भने ३ जना अझै बेपत्ता रहेका छन्। अविरल वर्षाका कारण आएको यस प्राकृतिक विपत्तिले थबाङस्थित कोटलबारा बस्तीमा ठूलो मानवीय क्षति पु¥याएको छ।

यस दुर्घटनामा परेर हालसम्म १० जनाको ज्यान गएको पुष्टि भएको छ भने उनीहरूको शवसमेत सनाखत भइसकेको छ। प्रारम्भिक विवरणअनुसार थबाङ ५ कोटलबाराका स्थानीय कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुन कुमारी पुन मगर र ८० वर्षीय बल बहादुर पुन मगरको पहिरोमा पुरिएर मृत्यु भएको छ।

यसका साथै पहिरोमा परेर बगेका अन्य ५ जनाको शव भने छिमेकी जिल्ला प्युठानमा फेला परेको प्रहरीले जनाएको छ। पहिरोको घटनामा दुई जना गम्भीर रूपमा घाइते भएका छन्। घाइते हुनेहरूमा सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर रहेका छन्।

उनीहरूलाई स्थानीय स्तरमा प्राथमिक उपचार पश्चात थप तथा विशेष उपचारका लागि बुटवलतर्फ पठाइएको छ। पहिरोमा परी ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिल बहादुर पुन मगर बेपत्ता भएका छन्।

बेपत्ता भएकाहरूको खोजी कार्यका लागि स्थानीय सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाहरूको संयुक्त टोली परिचालन गरिएको छ। लगातारको वर्षा र अप्ठ्यारो भौगोलिक बनावटका कारण उद्धार तथा खोजी कार्यमा केही कठिनाइ भए पनि प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको छ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला सुरक्षा समिति तथा स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको थियो। बाढी र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएकाले उद्धार सामग्री तथा टोलीहरूलाई घटनास्थलसम्म पुग्न केही समय लागेको थियो।

सरकार तथा स्थानीय निकायले मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने तथा घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।भौगोलिक रूपमा अति संवेदनशील मानिने रोल्पाका पहाडी बस्तीहरूमा बर्सायाममा यस किसिमका पहिरोको जोखिम उच्च रहने गरेको छ।

अविरल वर्षाका कारण हुने यस्ता भू–क्षय तथा बाढीपहिरोका जोखिमबाट बच्नका लागि सुरक्षित स्थानमा बस्ती स्थानान्तरण र दीर्घकालीन पूर्वतयारीको आवश्यकता फेरि एकपटक टड्कारो रूपमा देखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top