काठमाडाैं- कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा पुरस्कार योजनामा स्वतः सहभागी हुन सक्नेछन्। ग्राहकले मोबाइल बैंकिङ एपको ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ मेनुमार्फत योग्य कारोबारको संख्या, कारोबार विवरण र पुरस्कार प्राप्तिको अवस्था हेर्न सक्ने बैंकले जनाएको छ।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्ये दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपश्चात १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन्।

बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न र नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ। बैंकले यस कार्यक्रमले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि र वित्तीय पारदर्शिता सुदृढ गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन्। बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्दै सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।




