बारा बालिका प्रकरणः ५ बुँदे सहमतिमा मृत्युदण्डको माग, डीएसपीलाई कारबाही

५ भदौ ८३, शुक्रबार

५ भदौ , काठमाण्डौ ।

Advertisement

बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १ दसधुरी निवासी मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा चौधरीका लागि न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। उता बारामा भने पीडित परिवार र सरकारबीच ५ बुँदे सहमति भएको छ ।

सहमति अघि नै स्थानीय प्रहरी अधिकारीलाई कारबाही स्वरुप जिम्मेवारीमुक्त गरिएको छ भने स्थानीयले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । इन्डिपेन्डेन्ट मदर्श अफ नेपालको आयोजनामा बलात्कारपछि हत्या भएको भनिएकी चौधरीको न्यायका लागि आज प्रदर्शन भएको हो।

Advertisement

बलात्कार र हत्या जस्ता ठूला अपराधविरुद्ध कडा कानुन लागू गर्न माग गर्दै उनीहरूले ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्। उनीहरू माइतिघरबाट जिल्ला अदालतसम्म नाराबाजीसहित ¥याली गरेर फेरि माइतिघर आएर नाराबजी गरिरहेका छन्।

कानुनमन्त्री र गृहमन्त्री सो स्थानमा आएर सम्बोधन गर्नुपर्ने नत्र आफूहरूलाई मन्त्रालयमा जान दिनुपर्ने भन्दै उनीहरूले माइतीघरमा नाराबाजी गरिरहेका छन्। बलात्कारी र हत्यारालाई कडा कारवाही गर्नुपर्ने मागसहित उनीहरूले न्याय चाहिन्छ ढिला चाहिँदैन, छोरीको आँसुको मूल्य छैन न्याय अनिवार्य छ, बाल हिंसा रोक्न कडा दमन चाल, बलात्कारीलाई फाँसी दे, छोरी मर्ने पाइँदैनजस्ता प्लेकार्ड बोकेर नारा लगाएका छन् ।

Advertisement

उता बारामा भने घटनालाई लिएर उत्पन्न तनाव अन्ततः ५ बुँदे सहमतिपछि साम्य भएको छ । पीडित पक्ष र प्रशासनबीच गएराती भएको वार्ता सफल भएसँगै चरणबद्ध रूपमा भइरहेका आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन् ।

भाद्र २ गते घटेको उक्त अमानवीय घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबीच गएराति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा लामो छलफल भएको थियो ।

वार्तामा पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबीच ५ बुँदे सहमति भएको छ । पीडित परिवारको लागि उचित राहत र रोजगारीको व्यवस्थापन गर्न स्थानीय तहको समेत सहभागितामा नेपाल सरकार गृह मन्त्रालय समक्ष सिफारिस गरी पहल गर्ने ।

घटनामा संलग्न संदिग्धहरू हाल प्रहरी हिरासतमा रहे पनि अनुसन्धानका क्रममा अन्य कसैको संलग्नता पुष्टि भएमा उनीहरूमाथि पनि नियमानुसार कडा कारबाही अघि बढाउने । जिल्लाको वर्तमान र भविष्यका सुरक्षा चुनौतीहरूको विश्लेषण र पुनरावलोकन गरी नागरिकलाई भरपर्दो र विश्वसनीय सुरक्षा वातावरण मिलाउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने ।

इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा कार्यसम्पादनमा लापरबाही देखाउने सुरक्षाकर्मीहरूलाई आवश्यक कारबाही गर्ने माग पूरा भएको तथा सहमति भएकै मितिदेखि आन्दोलनका सम्पूर्ण विरोधका कार्यक्रमहरू पूर्ण रूपमा स्थगित गर्ने सहमति भएको छ ।

तीन वर्षीया बालिका चौधरीको बलात्कारपछि हत्या घटनामा प्रहरीमाथि लापरबाही गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय सिमरा, बाराका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीको जिम्मेवारी खोसिएको छ । प्रहरी प्रधान कार्यालयले क्षेत्रीलाई प्रधान कार्यालयमा तानेर उनको स्थानमा डीएसपी दयाकृष्ण भट्टलाई पठाएको छ ।

डीएसपी क्षेत्रीसँगै इन्सपेक्टर प्रकाश थापालाई पनि जिम्मेवारीबाट हटाइएको छ । गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले समयमै खोजी तथा अनुसन्धानमा गम्भीरता नदेखाएको भन्दै स्थानीय आक्रोशित भएका थिए ।

गरिमा हराएको जानकारी उनका बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा गराए पनि प्रहरीले खोजीमा गम्भीरता नदेखाएको स्थानीयको आरोप छ । प्रहरीले समयमै सक्रियता देखाएको भए बालिकाको ज्यान जोगाउन सकिने स्थानीयले दाबी गर्दै आएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले वार्तामा भएको छलफल र पाँच बुँदे सहमतिको पुष्टि गर्दै स्थिति सामान्य बन्दै गएको जानकारी दिए। मागहरू पूरा हुने सुनिश्चितता पाएपछि प्रशासन र पीडित पक्ष आन्दोलन रोक्न सहमत भएका हुन् ।

२ गते साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र सानी बालिका मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार उनी साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन् ।

बालिकालाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा ना. १ ज ७७५८ नम्बरको म्याजिकका सहचालक सुमन थापाले चकलेट दिने भनेर बालिकालाई फकाई घटनास्थलसम्म लगेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराको भनाई छ । मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरु गरेको थियो ।

त्यतिबेला सहचालक थापा पनि घटनास्थलमै शव खोज्न प्रहरीलाई सघाइ झैं गरिरहेका थिए । सोही क्रममा कुकुरले उनीतिर संकेत गरेपछि घटनास्थलबाटै सुमनलाई प्रहरीले हिरासतमा लियो । थापाले बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।

बारा प्रहरीका अनुसार घटनामा म्याजिक चालकसमेतको संलग्नता देखिएपछि जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रमोद चौधरीलाई पक्राउ गरिएको छ । चौधरीविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top