६ भदौ , काठमाण्डौ ।
बाराको जितपुरसिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्याको घटनामा संलग्नहरुलाई कारबाही गरिने गृहमन्त्री सुधन गुरुङले बताएका छन् । तीन वर्षीया गरिमामाथि भएको जघन्य अपराधले आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताउँदै उनले सरकारको पहिलो प्राथमिकता गरिमा चौधरीलाई न्याय दिनु भएको प्रष्ट पारेका छन् ।
यो घटनामा संलग्नलाई फासीको सजाय दिनुपर्ने भन्दै सडकमा आन्दोलन भइरहेका बेला गृहमन्त्रीले भने मृत्युदण्डको कानून नभएको र बनाउन पनि नमिल्ने बताएका छन् । उनले एउटी सानी छोरीमाथि भएको अपराधको पीडा कुनै परिवारको मात्र होइन, सम्पूर्ण समाजको पीडा भएको र आमा, महिला र नागरिकमा देखिएको आक्रोश आफूले पनि महसुस गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै गृहमन्त्री गुरुङले सरकार घटनाको पहिलो दिनदेखि मौन नरहेको, निष्क्रिय नभएको जिकीर गरेका छन् । उनले भनेका छन्, ‘घटनालाई अत्यन्त संवेदनशील रूपमा लिँदै प्रभावकारी अनुसन्धानका लागि ढिलाइ नगरी विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै, कुनै पनि किसिमको बाधा वा त्रुटि नहोस् भन्नेमा सचेत भएर अनुसन्धान भइरहेको छ ।’
उनले आरोपित तत्कालै पक्राउ गरिएको र अनुसन्धान भइरहेको बताएका छन् । ‘प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको छ,’ उनले भनेका छन्, ‘मृत्युदण्डको मागमा देखिएको आक्रोशलाई पनि म बुझ्छु। तर नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत हस्ताक्षर गरेको छ ।’
उनले गृह प्रशासनको मुख्य जिम्मेवारी र सीमा निष्पक्ष तथा मजबुत अनुसन्धान गर्नु भएको र अनुसन्धानमा कुनै कमी नहोस्, दोषी उम्किन नपाओस् र पीडितले न्याय पाओस् भन्ने रहेको बताउँदै घटनाको आवेगमा राज्यले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था नभएको बताए ।
कानून, न्याय तथा संसदिय मामिला मन्त्री सोबिता गौतमले पनि सरकारमा आएपछि पहिलो निर्णय नै महिला तथा बालबालिकाविरुद्ध हुने यस्ता जघन्य अपराधमा विद्यमान कानुनी बधा हटाउने निर्णय गरेको बताउँदै मन्त्री गुरुङले भनेका छन्, ‘आवश्यक कानुन संशोधनको मस्यौदा तयार भइ संसदीय प्रक्रियामा लैजाने तयारीमा छ। कानुन निर्माण रातारात हुने प्रक्रिया होइन, तर यसको अर्थ सरकार चुप बसेको छ भन्ने पनि होइन। हामी कानुनलाई अझ प्रभावकारी बनाउने काममा निरन्तर लागिरहेका छौँ।’
उनले अहिलेको अवस्थामा पहिलो प्राथमिकता गरिमालाई न्याय भएको बताउँदै प्रमाण सुरक्षित हुनुपर्ने, अनुसन्धान निष्पक्ष र वैज्ञानिक हुनुपर्ने अनि दोषी उम्कनु नपाउने गरी काम हुनु पर्ने बताएका छन् । ‘‘निर्दोष फस्नु हुँदैन,’ उनले भनेका छन्, ‘पछिल्लो समय गरिमाको अभिभावकले जाहेरी दिनुभएको आधारमा अनुसन्धानका लागि थप चारजना पक्राउ गरिएको छ। त्यसैले यस संवेदनशील घटनालाई राजनीतिकरण वा अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगरौँ, आक्रोशले रन्थनिएर सानी नानीको लाश माथी राजनिती हुँदै पो छ कि भन्ने पनि सोच्नुहोला र विगतको घटनाहरूदेखि हामीले पाठ सिक्नुपर्छ।’
उनले आक्रोशले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित गर्ने कामले अन्ततः न्याय नै कमजोर बनाउने बताएका छन् । यता नेपाली कांग्रेसका सभापति गगन थापाले पनि गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्याको घटनामा सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताएका छन् ।
थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गरिमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।सभापति थापाले घटनाले आफूलाई अत्यन्तै दुःखी र स्तब्ध बनाएको बताएका हुन् । गरिमा हराएको दिनदेखि नै परिवारले राज्यको साथ खोजिरहेको उल्लेख गर्दै थापाले अझै पनि न्याय पाइने आशामा परिवारले सरकारलाई गुहारिरहेको बताएका छन् ।
‘के सरकारले यो परिवारको पीडा बुझेको छ ? राज्यप्रति उनीहरूले राखेको आशा र भरोसाको गम्भीरता महसुस गरेको छ ?’ उनले प्रश्न गरेका छन् । घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम सजाय दिलाउन सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने थापाको भनाइ छ ।
साथै, यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जवाफदेही बनाउन तत्काल कदम चाल्न उनले सरकारसँग आग्रह गरेका छन् । गरिमाको घटनाले बालिका तथा किशोरीको सुरक्षाका लागि अझै धेरै काम गर्न बाँकी रहेको पुनः स्मरण गराएको थापाले बताएका छन् ।
‘हरेक बालिका सुरक्षित, संरक्षित र न्यायप्रति विश्वस्त हुने वातावरण नबन्दासम्म हाम्रो जिम्मेवारी पूरा भएको मान्न सकिँदैन,’ उनले भनेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
शाहीले घटनाले आफूहरू सबैलाई स्तब्ध बनाएको भन्दै यस्ता जघन्य अपराधमा दोषीलाई कठोर सजाय हुने गरी आवश्यक कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था निर्माणको प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेका हुन् । ’तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको हृदयविदारक घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। यस्ता जघन्य अपराधमा दोषीलाई कडा सजाय हुने गरी आवश्यक कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था निर्माणको प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई हार्दिक अपिल गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले बालबालिकामाथि हुने यस्ता अपराध नियन्त्रण गर्न कानुनी व्यवस्था थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। कानुन निर्माण तथा संशोधनको प्रक्रियामा आफ्नो पार्टीको पूर्ण साथ र समर्थन रहनेसमेत उनले बताएका छन् ।
‘अब कुनै बालिकाले यस्तो पीडा भोग्न नपरोस्,’ शाहीले भनेका छन्, ‘दोषीलाई कठोर सजाय र पीडितलाई न्याय सुनिश्चित गरौँ।’ उनले बालिकामाथि हुने हिंसा तथा जघन्य अपराध रोक्न राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन हुनुपर्नेमा जोड दिएका छन् ।
यसबीच यो घटनका विषयमा अन्य सांसदहरूले सरकारको जवाफ खोजेका छन् । शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरू पूजा चौधरी, रुक्मिणी कोइराला, रेणु चन्दलगायतले यसबारे सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । ‘सरकारलाई प्रश्न छ, बच्ची हराएको जानकारी गराउँदा पनि प्रहरीले बेलैमा किन एक्सन लिएन ?’ सांसद चन्दले सोधिन् ।
सांसदहरूले यो घटनामा दोषी रहेकालाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीका अनुसार साउन ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका १ दसधुरे टोलीकी तीन वर्षीया बालिका गरिमा चौधरी एकाएक घरबाटै हराएकी थिइन् ।
उनको शव तीन दिनपछि छिमेकीको घरमा भेटिएको थियो । गरिमाकी आमा मानमतिले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन्। प्रहरीले खोज्छौं भन्ने जवाफ दिएका थिए । यसमा संलग्न रहेको आरोपमा छिमेकी १६ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ती किशोरको बयानका आधारमा २४ वर्षीय प्रोग्रेश चौधरी पनि पक्राउ परेकामा थप चार जना पनि पक्राउ परेका हुन् । यता गरिमाको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन सुरु भएको छ । माइतीघरमा बिहीबारदेखि गरिमाका लागि न्याय खोज्दै सडकमा आमाहरू नै उत्रिएका छन् ।
उनीहरुले महिला तथा बालिकामाथि हुने यौन हिंसा र हत्याका घटनामा विद्यमान कानुनी व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्। यस्ता जघन्य अपराधमा आजीवन कारावासमात्र पर्याप्त नहुने भन्दै फाँसीको सजाय व्यवस्था गर्न माग गरेका छन् । कठोर सजायको व्यवस्था नभएसम्म यस्ता घटना दोहोरिइरहने उनीहरुको आक्रोश छ ।
गरिमा घटनापछि आफूहरुका छोरीहरु पनि असुरक्षित महसुस गरेको यी आमाहरुले बताएका छन् । निर्मला पन्तको घटनामा लामो समय बितिसक्दा पनि न्याय हुन नसकेको उल्लेख गर्दै उनीहरुले गरिमा चौधरीको घटनालाई न्यायका लागि निर्णायक मोड बनाउनुपर्ने बताएका छन् ।
प्रदर्शनकारीहरुले बलात्कारजस्तो अपराधमा कठोर सजाय आवश्यक रहेको बताएका हुन् । निर्मला पन्तको घटना भएको आठ वर्ष भइसक्दा पनि पीडितले न्याय नपाएकोमा उनीहरुको आक्रोस छ । शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका हुन् ।
गरिमाको मृत्युपछि बारा र काठमाडौंमा न्यायका लागि प्रदर्शन भइरहेका छन् । शुक्रबार पनि सिरहाको गोलबजारमा पनि प्रदर्शन भएको थियो । गरिमालाई न्यायको माग गर्दै युवा समूह गोलबजारको आयोजनामा शुक्रबार शान्तिपूर्ण ¥याली निकालिएको हो ।
प्रदर्शनकारीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर ‘गरिमा बहिनीलाई न्याय दे’, ‘बालेन सरकार न्याय दे’, ‘गृहमन्त्री न्याय दे’, ‘हत्यारालाई कारबाही गर’, ‘राजनीतिक सम्झौता चल्दैन’, ‘पीडित परिवारलाई न्याय दे’, ‘नारीमाथिको अन्याय बन्द गर’ र ‘नारीमाथिको हिंसा सहँदैनौँ’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शन आज पनि जारी छ । यसबीच सामाजिक संजालमा समेत नेतादेखि अभियन्ता, अधिकारकर्मी, कलाकार, सेलिब्रेटीहरुले समेत अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै गरिमाको न्याय र आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भन्नका लागि सरकारसंग माग गरेका छन् ।
अभिनेता अनमोल केसीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले दोषीलाई कडा सजाय दिन माग गर्दै दुःख व्यक्त गरेका हुन्। उनले गरिमाले न्याय पाउनु पर्ने र त्यो न्याय मात्र एउटा फैसलामा सीमित नहोस भन्ने भनाइ समेत राखे ।
केसीले यस्तो कठोर न्याय होस् कि फेरि कसैले यस्तो जघन्य अपराध गर्ने सोचसम्म राख्न आँट नआओस् भनेर जिकिर गरे । ’गरिमाले न्याय पाऊन्। र, त्यो न्याय केवल एउटा फैसलामा सीमित नहोस्। यस्तो कठोर न्याय पाओस् कि फेरि कसैले यस्तो जघन्य अपराध गर्ने सोचसम्म राख्न आँटा नआओस्,’ उनले लेखेका छन् ।




