१० भदौ , काठमाण्डौ ।
रसुवामा आएको अहिलेसम्मकै भीषण बाढीको घटनापछि उद्धार, राहत तथा आगामी आवश्यक कदमबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्च स्तरीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवाको प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।
अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको उनले बताएका छन् । उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ भने मेडिकल टिम, नेपाल स्काउट र रेडक्रसलगायत सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चाल्ने तयारी गरिएको छ।

प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको उल्लेख गरेका छन्। तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।
स्थानीयलाई एसएमएस तथा फोनमार्फत सुरक्षित स्थानमा जान सचेत गराइएको समेत उनले जानकारी दिएका छन् । सम्भावित उद्धार तथा राहत कार्यलाई ध्यानमा राख्दै सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ भने निजी हेलिकप्टर कम्पनीलाई समेत आफ्ना हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको छ ।
प्रधानमन्त्री शाहले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सरकारी निकायबाट आउने उद्धारसम्बन्धी अद्यावधिक सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन् ।
रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको हो । निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न जानकारी गराइएको प्रधानमन्त्रीले बताएका छन् ।
प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको छ भने विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टिम, स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरिरहेको छ । आगामी आवश्यक कदमबारे निर्णय गर्न केही समयमै उच्चस्तरीय बैठक बोलाइएको पनि उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। यता गृह मन्त्रालयले ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
गृह मन्त्रालयले सूचना जारी गरी भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको हो । गृहले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन भनेको हो ।
खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नु पनि गृहले अनुरोध गरेको छ । पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक, मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउन समेत गृहमन्त्री सुधन गुरूङले आग्रह गरेका छन् ।
यस्तै नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द गरिएको छ । क्षतिको अनुमान गर्न नसकिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्ले बताएका छन् । रसुवाको बाढी आउने क्रममा रहेकाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ राजमार्गलगायत त्रिशूली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान महाशाखाको सुझाव ।
आज बिहान १०ः५१ बजे सूचना जारी गरी बाढी महाशाखाले भनेको छ, रसुवा भोटेकोसीमा आएको बाढी हाल धादिङ–गल्छी आसपास पुगेको अबको केही घण्टामा मुग्लिन पार हुने क्रममा रहेको हुदाँ पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट राजमार्ग लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध
यसैबीच बुधबार बिहान आएको बाढीका कारण रसुवामा २८ जना प्रहरी सम्पर्कविहीन भएका खबर हामीले प्राप्त गरेका छौं । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन्। अरु १३ जना सम्पर्कविहीन छन्।
यस्तै स्याफ्रुबेसीमा पनि ६ जना प्रहरी हराइरहेका छन्। त्यहाँ ९ जना प्रहरी रहेकोमा ३ जना मात्रै सम्पर्कमा आएको र अरु सम्पर्कविहीन रहेको पनि डीआईजी रेग्मीले बताए । बाढीले प्रहरी कार्यालय पनि बगाएको छ। विपत् प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ।
बुधबार बिहान ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । खोज तथा उद्धारका लागि नेपाली सेनाले दुई वटा हेलिकप्टरसहितको टोली परिचालन गरेको छ । अस्पतालमा सेनाको स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ।
उद्धारका लागि नेपाली सेनाले धुन्चे, रसुवा र धादिङको गजुरीबाट टोली परिचालन गरेको छ । यस्तै टिमुरे बीओपीका ९ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
तिब्बतको च्याङलु लगायतका क्षेत्रमा बाढीले निकै ठूलो विनाश निम्त्याएको जानकारी दिँदै अधिकारीले क्षतिको यकिन विवरण आउन भने केही समय लाग्ने उल्लेख गरे । उनका अनुसार बाढीको आयतन निकै ठूलो रहेकाले सीमा क्षेत्रका कतिपय सञ्चार सम्पर्क विन्दुहरू समेत अवरुद्ध हुने अवस्थामा पुगेका छन् ।
तिब्बततर्फ मानवीय र भौतिक क्षति निकै उच्च रहेको खबरहरू प्राप्त भइरहेकाले नेपालतर्फका तल्लो तटीय क्षेत्रमा पनि यसको गम्भीर असर पर्न सक्ने भन्दै उनले सबैलाई सजग रहन आग्रह गरेका छन् । ‘तिब्बततर्फ मानवीय क्षति एकदमै ठूलो भोल्युममा भएको छ, अब कति भन्ने विवरण आउन बाँकी छ,‘ अधिकारीले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले नदीमा पानीको सतह अनपेक्षित रूपमा बढिरहेकाले तटीय क्षेत्रमा कुनै पनि गतिविधि नगर्न र उच्च सतर्कताका साथ सुरक्षित रहन आम जनसमुदायलाई अपिल गरेका छन् ।
प्रशासनले तटीय क्षेत्रमा सञ्चालित आयोजना, मजदुर र स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र कुनै पनि विपद्को संकेत पाउनसाथ सुरक्षा निकायमा खबर गर्न समेत सूचित गरेको छ । बाढीको जोखिम अझै कायमै रहेकाले अर्को सूचना नआएसम्म नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ ।




