भूकम्पपछि पहिरो जाँदा भोटेकोशीमा भीषण बाढी, ४४ नेपाली सेना बेपत्ता

१० भदौ ८३, बुधबार

१० भदौ , काठमाण्डौ ।
आज विहान भोटेकोशीमा आएको बाढीबारे सरकारले नयाँ जानकारी गराएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा आएको ठुलो बाढीको मुख्य कारण भूकम्प र त्यसपछिको पहिरो भएको जानकारी दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै मन्त्री खनालले आज बिहान करिब ८ बजेर ४० मिनेट जाँदा भोटेकोशीमा भीषण बाढी आएको बताए ।

Advertisement

मन्त्री खनालले प्राप्त प्रारम्भिक सूचना उद्धृत गर्दै भने, ‘आज बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र त्यसका कारण ठुलो पहिरो खसेर नदी थुनिएपछि बाढी आएको देखिएको छ । उनले बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र सरकारले तत्काल उद्धार तथा राहतका लागि पहल सुरु गरिसकेको समेत सदनलाई अवगत गराए।

परराष्ट्रमन्त्री खनालले छिमेकी राष्ट्रहरूसँग समेत समन्वय गरी घटनाको यथार्थ बुझ्ने काम भइरहेको बताए । बाढीमा परेर नेपाली सेनाका ४४ जना सम्पर्कविहीन भएका छन् । परराष्ट्रमन्त्री खनालले प्रतिनिधिसभाको बैठकमा टिमुरे र मैलुङ पोष्टमा कार्यरत ४४ जना नेपाली सेना सम्पर्कविहीन रहेका जानकारी दिएका हुन् ।

Advertisement

यसैगरी रसुवा, टिमेर लगायत प्रहरी चौकीमा कार्यरत २६ जना नेपाल प्रहरी पनि सम्पर्कविहीन रहेका उनले जानकारी दिएका छन्। मन्त्री खनालका अनुसार नौ जना सशस्त्र प्रहरी पनि सम्पर्क बाहिर छन् । यस्तै रसुवागढी भन्सार, अध्यागमन कार्यालय लगायत कार्यालयका कर्मचारीसहित केही स्थानीय बेपत्ता रहेको पनि जानकारी दिइएको छ ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म नौ जनाको शव फेला परेको र सनाखत हुन भने बाँकी रहेको खनालको भनाइ छ । यस्तै बाढीबाट १६ जनाको मृत्यु भएको छ । त्यस्तै ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने चार बजे दिएको जानकारीमा उल्लेख छ । प्रदेश प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो ।

Advertisement

मृतकमध्ये ७ महिला र ८ पुरुष रहेका छन् । एक जनाको पहिचान खुलेको छैन । त्यस्तै, रसुवामा १३, नुवाकोटमा १९ र धादिङबाट ३ घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ । यसबीच प्रतिनिधि सभाको बैठकमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सांसदहरूले रसुवा, नुवाकोट र धादिङ लगायतका बाढी प्रभावित जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी राष्ट्रिय विपद् जारी गर्न सरकारसँग माग गरेका छन् ।

तिब्बतको जिबुङ क्षेत्रमा भएको हिमताल विस्फोटपछि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले अर्बौँको क्षति र सयौँ नागरिक बेपत्ता पारेको भन्दै सांसदहरूले युद्धस्तरमा उद्धार कार्य अघि बढाउन आग्रह गरेका हुन् । बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढीका कारण ८०० भन्दा बढी नागरिक बेपत्ता भएको र २०० भन्दा बढी मानिस अझै उद्धारको पर्खाइमा रहेको जानकारी दिए।

उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत, उद्धार, क्षतिपूर्ति र पुनर्निर्माणका लागि ५ बुँदे प्रस्ताव अघि सारे । चीनले बाढीबारे पूर्वजानकारी दिएको थियो वा थिएन भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने र तत्काल राष्ट्रिय विपद् घोषणा गर्नुपर्नेमा उनले जोड दिए । रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोसाइँकुण्ड यात्रामा रहेका ३६ जना तीर्थयात्री सवार बस बाढीमा परेको हृदयविदारक घटना सुनाउँदै हजारौँ नागरिक बेपत्ता भएको बताए।

उनले यसलाई राष्ट्रिय विपत्तिको रूपमा लिँदै तत्काल प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिन र राष्ट्रिय विपद् घोषणा गर्न माग गरे । नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले विपद्को समयमा राजनीतिभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताइन्। पीडित नागरिकले राज्यको उपस्थिति महसुस गर्नुपर्ने भन्दै उद्धार र राहतमा सरकारलाई काङ्ग्रेसको पूर्ण सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरिन्।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रसुवामा मोबाइल र फोन सेवा समेत बन्द भएको जानकारी दिँदै सञ्चार सम्पर्क पुनःस्थापित गर्न माग गरे। उनले निजी क्षेत्रका हेलिकप्टरलाई समेत पूर्ण नियन्त्रणमा लिएर उद्धारमा खटाउन र प्रभावित जिल्लालाई सङ्कटग्रस्त घोषणा गर्न सरकारसँग आग्रह गरे ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले बाटो र पुलभन्दा उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरण, हेलिकप्टर र प्रविधिमा लगानी बढाउन सरकारलाई सुझाव दिए। उनले चीन र भारतसँगको सूचना आदानप्रदान प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने र ‘वन टिम’ भएर काम गर्नुपर्ने बताए ।

राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले जलवायु परिवर्तनको असरका कारण नेपालले यो क्षति भोग्नुपरेको भन्दै जलवायु कूटनीति बलियो बनाउन माग गरिन्। उनले विगतमा जाजरकोट भूकम्पको समयमा नेताहरूबीच हेलिकप्टर चढ्न भएको प्रतिस्पर्धा अहिले दोहोरिन नहुने भन्दै सतर्क गराइन्। ओलीले पनि रसुवा त्रासदीलाई राष्ट्रिय विपद् घोषणा गर्न माग गरिन्।

बाढीका कारण प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ। विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले पनि सङ्कटको घडीमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभामुख अर्यालले घाइतेहरूको तत्काल उद्धार, बेपत्ताहरूको खोजी र पीडित तथा विस्थापितहरूलाई राहत उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले भने– ‘यस दुःखद घडीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।

बाढी प्रभावित क्षेत्रमा आवश्यक समन्वय र उद्धार कार्यलाई तीव्रता दिन म नेपाल सरकारलाई निर्देशन दिन्छु।’ सभामुख अर्यालले सरकारी निकायका साथै निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजलाई समेत यो मानवीय सङ्कटको समयमा एकजुट भई सहयोग र समन्वयका लागि हार्दिक आग्रह गरे।

मुलुकमा परेको यो ठुलो विपद् र संसद्मा समेत शोकको वातावरण रहेकाले आजको अन्य कार्यसूचीहरू थाती राख्दै सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्। प्रतिनिधिसभाको अर्को बैठक आगामी बिहीबार दिउँसो १ बजे बस्ने गरी तोकिएको छ। बाढीका कारण सिर्जना भएको सङ्कटलाई ध्यानमा राख्दै सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले बाढीको कारण र क्षतिको विवरणबारे सदनलाई जानकारी गराइसकेका छन्।

यसैबीच रसुवा बाढीका कारण आधा दर्जन देशका ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराइएको तथ्यांक अनुसार भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत, दक्षिण अफ्रिका, नेपाल लगायत देशका ३८४ पर्यटन सम्पर्कविहीन रहेका छन् । जसमा विदेशी पयर्टन २९१ र नेपाली नागरिक ९३ जना रहेका छन् ।

पयर्टन बोर्डका प्रवक्ता सुनिल शर्माले पर्यटन व्यवसायीहरुले उपलब्ध गराएको पछिल्लो डाटा अनुसारको यो संख्या भएको बताए । सम्पर्कविहीन हुनेमा भारतका १०५ जना, बेलायतका १२ जना, दक्षिण अफ्रिकाका ४, मलेसियाका १७, अमेरिकाका ३ जना तथा अस्ट्रेलिया र नेदरल्यान्ड्सका १÷१ जना छन् । १११ जनाको भने देश खुलेको छैन। त्यसैगरी ३७ जना एनआरआई छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top