त्रिशूली ३ ‘ए’ सुरुङको मुखमा पुग्न २० हजार घनमिटर अवरोध हट्यो, भित्री भाग सुरक्षित हुनसक्छ

१८ भदौ ८३, बिहीबार
Share this
817shares

१८ भदौ , काठमाण्डौ ।

Advertisement

भदौ १० गते गएको रसुवाको प्रलयकारी बाढीपछि आज नवौं दिन वितिसकेको छ । अझै पनि विभिन्न स्थानमा शव फेला परिरहेका छन् । यसैगरी बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितका सुरक्षाकर्मीहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन् । य

समा विभिन्न जलविद्युत सुरुङहरुमा फसेकाहरुको उद्धारमा भने विभिन्न देशबाट आएका विज्ञ तथा प्राविधिकहरुको टोलीले पनि सहयोग गरिरहेको छ । यस्तै विदेशबाट आउने सहयोग पनि जारी छ । यसैबीच त्रिशूली ३ ‘ए’को सुरुङमा फसेकाहरूको उद्धार कार्य निरन्तर रूपमा जारी छ ।

Advertisement

उद्धारकर्ताहरु अवरोध पन्छाउँदै भित्रसम्म जाने प्रयास गरिरहेका छन् । केबल डक्ट सुरुङको प्रवेश क्षेत्रको निकासमा रहेका २ दर्जनभन्दा बढी ठूला ढुंगाहरू विस्फोट गरी हटाइ सकिएको छ। भाद्र १३ गतेदेखि नियमित रूपमा २ वटा एक्साभेटर परिचालन गरी त्यहाँबाट ५ दिनसम्म करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकार सम्मका ठूला ढुंगाहरू पन्छाउने कार्य सम्पन्न भएको उद्धार स्थलमा रहेको सांसद् तथा इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिए ।

यस क्रममा आवश्यकता अनुसार ब्रेकर प्रयोग गरी फुटाउने तथा विस्फोटक पदार्थ मार्फत नियन्त्रणित रूपमा पड्काउने कार्य २४ सै घण्टा सञ्चालनमा रहेको सामाजिक सञ्जालमार्फत उनले जानकारी दिएका छन् ।

Advertisement

हाल सुरुङको मुखबाट करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो भाग सफा गरि सकिएको छ। ५.५ मिटर अग्लो सुरुङ मध्ये बाँकी करिब ३ मिटर गहिराइको पहुँच तथा निकास प्रणाली निर्माण सम्पन्न भएपछि मात्र भित्र जम्मा भएको लेदो हटाउने कार्य प्रारम्भ गरिने उनको भनाइ छ ।

सुरुङ भित्रको प्रारम्भिक अवलोकन अनुसार आँखाले देख्न सकिने करिब १ मिटर भित्र सम्मको भागमा पूरै मुख लेदोले भरिएको देखिएको छ। हाल सुरुङबाट करिब २ लिटर प्रति सेकेन्डको दरले विना दवाव पानी बाहिर निस्किरहेको छ, जसले सुरुङ भित्र पानी जमेको अवस्था नरहेको संकेत गर्ने न्यौपानले बताए ।

उनले सुरुङको बाहिरी भागमा गेटको स्ल्याब, काठका २ ठूला ठुटा तथा ठूला ढुंगाहरूले अवरोध गरेको पाइएको छ । यस अवस्थाले सुरुङ भित्र पानी र लेदो बाहेक ठूला ढुंगाहरू प्रवेश नगरेको हुनसक्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ ।

न्यौपानेका अनुसार यो जलविद्युत् आयोजनाको सुरुङभित्र पुग्ने उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको हो । सुरुङभित्रको वास्तविक अवस्था भने अझै यकिन भइसकेको छैन । १६० मिटर लामो सुरुङको करिब ६० मिटरभित्र एउटा मोड रहेको र त्यसपछि पावरहाउसतर्फ उकालो दिशामा जाने संरचना भएकाले सुरुङको भित्री भाग तुलनात्मक रूपमा सुरक्षित र सामान्य अवस्थामा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सांसद न्यौपानेले बताएका छन् ।

तर, उद्धार टोली सुरुङभित्र प्रवेश गरेर प्रत्यक्ष निरीक्षण गरेपछि मात्रै वास्तविक अवस्था स्पष्ट हुने बताइएको छ । घटनास्थलसम्म सडक पहुँच नभएकाले हाल हेलिकोप्टरमार्फत मात्रै आवश्यक सामग्री पु¥याउनुपर्ने अवस्था छ । यसले एक्साभेटर तथा अन्य उपकरणको मर्मतका लागि आवश्यक सामग्री ढुवानी गर्न समय लाग्ने चुनौती छ ।

यता पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या १२ सय २२ पुगेको छ । रसुवादेखि नवलपरासी पश्चिमसम्म शवहरू फेला परेको खोजी तथा उद्धारमा संलग्न निकायहरूले जनाएका छन्। केही शव नारायणी नदीमा बगेर भारत पनि पुगेका छन् ।

अहिलेसम्म रसुवामा ११५, नुवाकोटमा पनि १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८, चितवनमा ३४८ शव फेला परेका हुन् । यस्तै बुधवार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको सरकारी निकायहरूले बताएका छन् ।

हिजो बेलुकाको तथ्याङ्कअनुसार ४,२१६ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीनको खोजी प्राथमिकताका साथ जारी रहेको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको बताएकी छन्।

नेपाल प्रहरीका ७ हजार ९१२, सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ र नेपाली सेनाका ९ हजार १९९ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् । सुरक्षाकर्मीले नदी किनार, बाढीबाट प्रभावित बस्ती, सडक तथा पहिरो गएका क्षेत्रमा खोजी गरिरहेका छन् ।

प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन् । भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन छन् ।

जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङ्टाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारन्टीन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

सेनाले हालसम्म ४,०९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको बताइएको छ । यता भोटेकोसी बाढीपीडितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आठ दिनमा ५ अर्ब २० करोड ६० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

उक्त कोषमा बुधबार साँझ ५ बजेसम्म ७ अर्ब ३७ करोड ६० लाख ७३ हजार रुपैयाँ छ । बाढी आउनुअघि उक्त कोषमा दुई अर्ब १७ करोड रुपैयाँ थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले बाढी आउनुपूर्व कोषमा रहेको रकम घटाउँदा आठ दिनमा कोषमा ५ अर्ब २० करोड ६० लाख ७३ हजार ८९१ रुपैयाँ संकलन भएको देखिएको हो ।

उक्त रकम भोटेकोसी बाढीपीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेश तथा विदेशबाट संकलित रकम हो। यस अवधिमा भोटेकोसी बाढीपीडितको उद्धार र राहतका लागि विभिन्न देशबाट ७१ लाख ५८ हजार २४७ अमेरिकी डलर जम्मा भएको छ ।

यसको नेपाली रुपैयाँ एक अर्ब ८८ करोड १९ लाख हाराहारी हुन आउँछ। भोटेकोसी बाढीपछि गत मंगलबार बसेको दैवी प्रकोप उद्धार कोष सञ्चालन समितिको बैठकले कोषमा जम्मा भएको रकमको एक अर्ब रुपैयाँ तत्काल बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ।

बैठकले उक्त रकम गृह मन्त्रालयका सचिवका नेतृत्वमा परिचालन हुने कोषमा जम्मा गरी निकासा गर्ने निर्णय गरेको थियो। एभरेस्ट बैंकको खातामा जम्मा भएको रकम निकासा गरिएको थियो ।

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष सञ्चालन नियमावली २०६३ अनुसार कोषमा जम्मा भएको रकम दैवी प्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण गर्ने, तत्कालन राहतका लागि अस्थायी शिविर खडा गर्ने, पीडितको भरणपोषण तथा जीवन निर्वाहका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि, शैक्षिक सामग्रीजस्ता अत्यावश्यक वस्तु खरिद गर्ने, दैवी प्रकोपको कारणबाट घाइते वा बिरामी भएको व्यक्तिको औषधि उपचार गर्न खर्च गर्न सकिने छ ।

यसैगरी दैवी प्रकोपको कारणबाट देहावसान भएका व्यक्तिको काजकिरिया वा सद्गतका लागि मृतकका आफन्तका लागि आर्थिक सहायता गर्ने, दैवी प्रकोपको कारणबाट भएको फोहोरमैला तथा प्रदूषणको विसर्जन (डिस्पोजल) गर्ने, दैवी प्रकोपबाट पीडित व्यक्तिको अस्थायी रूपमा आश्रयस्थल बनाउने वा पुनस्र्थापना गर्ने, दैवी प्रकोपबाट पीडित व्यक्तिको आवासीय घर वा निजको पेसासँग सम्बन्धित औजार, वर्कसप मर्मतका लागि आर्थिक सहायता प्रदान गर्ने, दैवी प्रकोप रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पूर्वसावधानी अपनाउने वा पूर्वतयारी गर्ने उद्देश्यबाट उक्त रकम खर्च गरिने छ।

यसैबीच सरकारले बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती स्थानीय तहलाई उक्त रकम उपलब्ध गराएको हो । बाढी गएलगत्तै सरकारले रसुवा र नुवाकोटका लागि १÷१ करोड तथा धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र दोस्रो चरणमा भदौ १६ गते थप ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रुपैयाँ निकासा गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top