२२ भदौ , काठमाण्डौ।
अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटना भएको छ । रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
पोर्टो रिकोको सान जुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७६७–३०० कार्गो विमान स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे मियामीमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको थियो।
विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको थियो ।

रनवेबाट बाहिरिएपछि विमानले कैयौँ सवारीसाधनलाई ठक्कर दिएको थियो । त्यसपछि विमानमा भीषण आगलागी भएको थियो । विमानको अगाडिको भाग धसिने गरी रोकिएको थियो । घटनालगत्तै करिब २०० जना अग्निनियन्त्रक उद्धार तथा आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो ।
घाइते पाँचजनामध्ये तीन जनालाई गम्भीर अवस्थामा स्थानीय ट्रमा सेन्टर र अन्य दुईजनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । पोर्टो रिकोको सान जुआनबाट आएको विमान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे रनवेबाट बाहिरिएको थियो। विमानले रनवे पार गर्दै विमानस्थल वरपरका गोदाम तथा अन्य व्यवसायमा काम गर्ने कर्मचारीले प्रयोग गर्ने सडकमा पुगेको थियो।
मियामी–डेड काउन्टीका अधिकारीका अनुसार दुर्घटनामा पाँचजनाको मृत्यु भएको, तीनजना गम्भीर घाइते भएको र अन्य दुईजनालाई कम गम्भीर चोट लागेकाले अस्पताल भर्ना गरिएको छ। विमानका पाइलट र सहपाइलट जीवित रहे वा नरहेको तथा मृत्यु हुने सबैजना सवारीसाधनभित्रै रहेका थिए कि थिएनन् भन्ने तत्काल स्पष्ट हुन सकेको छैन।
मियामी–डेड उद्धार तथा अग्नि नियन्त्रण प्रमुख रे जदल्लाहका अनुसार दुर्घटनापछि विमानको ककपिटमा पाइलट र सहपाइलट तथा केही सवारीसाधनमा रहेका व्यक्ति फसेका थिए। एक व्यक्ति सवारीसाधनमुनि समेत थिचिएको अवस्थामा फेला परेका थिए ।
दुर्घटनापछि आकाशमा बाक्लो कालो धुवाँ देखिएको थियो। विमानमा इन्जिनको जटिल भागमा आगलागी भएको थियो। विमानस्थलका विशेष अग्निनियन्त्रण उपकरणबाट फोम प्रयोग गरी आगो निभाइएको थियो। दुर्घटनाको केही घण्टापछि पनि विमानबाट इन्धन चुहावट भइरहेको अधिकारीहरूले बताएका छन्।
प्राइम एयरको विमान सडकछेउ दुईवटा ठूलो मालवाहक ट्रकनजिक आएर रोकिएको थियो। तस्बिरहरूमा विमान पेटको भागमा अडिएर बसेको र आगलागीका बाबजुद अधिकांश भाग सुरक्षित रहेको देखिएको थियो।
दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन। मौसमले दुर्घटनामा भूमिका खेलेको थियो कि थिएन भन्ने पनि स्पष्ट छैन।
राष्ट्रिय मौसम सेवाका अनुसार दुर्घटनाको समयमा क्षेत्रमा मेघगर्जनसहितको वर्षा र प्रतिघण्टा ४८ किलोमिटरसम्मको हावाको गति चलेको थियो। उक्त उडान उत्तरी क्यारोलिनामा आधारित कार्गो विमान कम्पनी ‘२१ एयर’ले सञ्चालन गरेको थियो। ३२ वर्ष पुरानो बोइङ ७६७ विमान सुरुमा यात्रु बोक्न प्रयोग हुने गरी निर्माण गरिएको थियो।
दुई दशकभन्दा बढी समय विभिन्न एयरलाइन्समा सञ्चालन भएपछि सन् २०१५ मा त्यसलाई कार्गो विमानमा रूपान्तरण गरिएको थियो। दुर्घटनाका कारण मियामी विमानस्थलमा दिउँसोको अधिकांश समय उडान प्रभावित भएको थियो। आइतबार साँझसम्म १६० भन्दा बढी उडान रद्द भएका थिए भने करिब ३२५ उडान ढिला भएका थिए।
केही उडानलाई मियामीबाट ३२० किलोमिटरभन्दा बढी उत्तरमा रहेको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो। अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले दुर्घटनाको अनुसन्धानका लागि अध्यक्ष जेनिफर होमन्डीको नेतृत्वमा टोली मियामी पठाउने जनाएको छ।
अमेजनले पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ। अमेजनले विज्ञप्तिमार्फत दुर्घटनामा पाँचजनाको मृत्यु भएको खबरले आफूहरू अत्यन्त दुःखी भएको जनाएको छ। कम्पनीले मृतकका परिवार, आफन्त तथा दुर्घटनाबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
अमेजनकी प्रवक्ता केली नान्टेलले विज्ञप्तिमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले मृतकका परिवार तथा दुर्घटनाबाट प्रभावित सबैप्रति अमेजनका तर्फबाट समवेदना व्यक्त गरेकी छन् । यसअघि गत वर्ष पनि लुइसभिलको मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा युपिएसको कार्गो विमान दुर्घटना भएको थियो।
रनवेमा गति बढाउने क्रममा इन्जिनमा समस्या आएपछि भएको उक्त दुर्घटनामा तीन पाइलटसहित जमिनमा रहेका १२ जनाको मृत्यु भएको थियो भने थप २३ जना घाइते भएका थिए। हवाई सुरक्षा विज्ञ स्टिभ एरोयोका अनुसार घरेलु उडानमा बोइङ ७६७ जस्तो कार्गो विमानमा सामान्यतया पाइलट र सहपाइलट मात्र हुन्छन्।
अन्तर्राष्ट्रिय उडानमा तेस्रो पाइलट र लामो दूरीको अन्तर्राष्ट्रिय उडानमा चौथो पाइलटसमेत आवश्यक पर्न सक्छ। एरोयोले विमान रनवेको निर्धारित ‘टचडाउन जोन’भित्र अवतरण गरेको थियो कि थिएन भन्ने महत्वपूर्ण प्रश्न रहेको बताएका छन्। उनका अनुसार विमान निर्धारित क्षेत्रमा अवतरण नगरेको भए अवतरण रद्द गरी पुनः आकाशमा गएर अर्को प्रयास गर्न सकिने थियो।
यस्तै, यातायात विभागकी पूर्व महानिरीक्षक तथा पाइलट मेरी सियाभोले सामाजिक सञ्जालमा सार्वजनिक भएको अवतरणको भिडियोमा विमान लामो समयसम्म रनवेमाथि तैरिएको देखिएको बताएकी छन्। उनका अनुसार विमानले तत्काल जमिन छोएन र यस क्रममा रनवेको महत्वपूर्ण दूरी गुमाउँदै गयो।
सियाभोले मियामी विमानस्थलमा रनवेबाट विमान बाहिरिएपछि सुरक्षित रूपमा रोक्न प्रयोग हुने ‘अरेस्टिङ सिस्टम’ नभएको पनि बताएकी छन्। अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार देशभरका १२० भन्दा बढी विमानस्थलमा यस्ता प्रणाली जडान गरिएको छ।
रनवेको अन्त्यमा राखिने हलुका तथा सजिलै च्यापिने सामग्रीबाट बनेका यस्ता संरचनाले रनवे पार गरेका विमानमा रहेका कम्तीमा ४९७ जनाको ज्यान जोगाउन सहयोग गरेको एफएएले जनाएको छ।




