काठमाडौँ । नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत बोल्डिनले हालैको भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितप्रति गहिरो समवेदना व्यक्त गरिन्। उनले विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन्।
बोल्डिनले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराइन्। भेटमा परराष्ट्रमन्त्री खनालले कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गरे। मन्त्री खनालले बाढीपीडितको राहत तथा पुनःस्थापनापछि पुनर्निर्माणको चरणसम्म पनि अमेरिकी सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।



