दिल्ली घोषणापत्रमा के छ? सी–मोदी–पुटिनको मिलन र मेलेसियन पीएमको हिन्दी गाना भाइरल

२८ भदौ ८३, आइतबार
Share this
750shares

२८ भदौ , काठमाण्डौ ।

Advertisement

भारतको राजधानी नयाँ दिल्लीमा शनिबारदेखि जारी अठारौँ ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो । आज खुला बैठक हुँदैछ, जसमा सदस्य देशका नेता र अन्य आमन्त्रित देशका प्रमुख सहभागी छन् । बैठकमा ब्रिक्ससँग सम्बन्धित महत्त्वपूर्ण विषयमा छलफल हुनेछ ।

यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशका नेतासँग छुट्टाछुट्टै द्विपक्षीय बैठक गर्नेछन् । शिखर सम्मेलनको पहिलो दिन भारतले ब्रिक्स देशहरूले हाल साझा मुद्रा सिर्जना गर्ने कुनै प्रस्ताव नगरेको बतायो । यद्यपि विदेश मन्त्रालयले स्थानीय मुद्रामा पारस्परिक व्यापार र भुक्तानी प्रवद्र्धन गर्न ब्रिक्सभित्र छलफल भइरहेको बताएको छ ।

Advertisement

यसको उद्देश्य सदस्य देशहरूबिचको व्यापारलाई सहज बनाउनु र लेनदेन लागत घटाउनु रहेको उल्लेख छ । ब्रिक्स सम्मेलनको पहिलो दिन शनिबार सदस्य देशहरूले नयाँ दिल्ली घोषणापत्र अनुमोदन गरेका छन् । जारी घोषणापत्रमा रुस र चीनलगायत ब्रिक्स देशहरूले पहलगाम आतंकवादी हमलाको निन्दा गरेका छन् ।

उनीहरूले आतंककारीहरूलाई आश्रय दिनेहरूविरुद्ध संयुक्त रूपमा कारबाही गर्ने बताएका छन् । आतंकवादलाई कुनै पनि धर्म, राष्ट्रियता वा समुदायसँग जोड्ने कुराको विरोध गरिएको छ । आतंकवादीहरूलाई जवाफदेही बनाउन आतंकवादी र आतंकवादी संगठनविरुद्ध सामूहिक कारबाहीको आह्वान गर्ने घोषणापत्रमा उल्लेख छ ।

Advertisement

यस्तै संयुक्त राष्ट्रसंघको आतंकवादविरोधी सन्धि चाँडै बनाउने कुरा छ । ब्रिक्सका मुख्य सिद्धान्त बलियो रहने भनिएको छ, जसमा पारस्परिक सम्मान, सार्वभौम समानता, एकता र सहमतिमा आधारित निर्णयहरूमा जोड दिइएको छ । एकपक्षीय भन्सार शुल्कको निन्दा गरिएको छ । जसमा एकपक्षीय भन्सार शुल्क र व्यापार प्रतिबन्धहरूबारे चिन्ता व्यक्त गर्दै त्यस्ता कदम डब्ल्यूएचओका नियमअनुसार हुनुपर्नेमा जोड दिइएको छ ।

यसैगरी आणविक हतियार प्रयोगको खतरा र बढ्दो विश्वव्यापी तनावप्रति चिन्ता व्यक्त गरिएको छ । यस्तै ब्रिक्स देशहरूले भारतको अध्यक्षतामा भएको ब्रिक्स प्लस र आउटरिच संवादको प्रशंसा पनि गरेका छन् । ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो।

सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको हो । हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन्।

यस्तै सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार ’नयाँ दिल्ली घोषणापत्र २०२६’ लाई सबै सदस्य राष्ट्रहरूले सर्वसम्मतिले स्वीकार गरेको घोषणा गरेका छन् । मोदीका अनुसार कुनै पनि सदस्य राष्ट्रले यसमा कुनै आपत्ति जनाएनन् र यसलाई आम सहमतिबाट स्वीकृत गरियो ।

ब्रिक्सको विस्तार भई ११ देशहरूको समूह बनिसकेको र सदस्य राष्ट्रहरूबिच कयौँ जटिल भू–राजनीतिक मतभेदहरू विद्यमान रहेको परिस्थितिमा यो घोषणा सार्वजनिक भएको हो । संयुक्त घोषणापत्रमा अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान, संवाद र कूटनीतिमा जोड दिइएको छ ।

साथै, विश्व व्यापार संगठन (डब्लूटीओ) को नियमविपरीत मानिने एकतर्फी भन्सार महसुल र गैर–भन्सार व्यापारिक प्रतिबन्धहरूप्रति चिन्ता व्यक्त गरिएको छ । घोषणापत्रमा बहुपक्षवादलाई मजबुत बनाउन र वैश्विक मुद्दाहरूमा विभिन्न देशका दृष्टिकोणको सम्मान गर्नुपर्ने वकालत पनि गरिएको छ ।

समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार, संयुक्त वक्तव्यमा सहमति कायम गर्नका लागि ब्रिक्स देशहरूबीच राति अबेरसम्म गहन वार्ता भएको थियो । छलफल शनिबार बिहान चार बजेसम्म जारी रहेको बताइएको छ । इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता देशहरूबीच रहेका क्षेत्रीय र रणनीतिक मतभेदहरूलाई ध्यानमा राख्दा सहमति जुटाउनुलाई एक ठूलो कूटनीतिक चुनौती मानिएको थियो ।

यस प्रक्रियामा भारतले मध्यस्थको भूमिका निर्वाह गर्दै विभिन्न पक्षहरूबीच आम सहमति निर्माण गर्न योगदान पु¥याएको थियो । मोदीले देशहरूका विचार फरक हुन सक्ने भए तापनि ब्रिक्स सहकार्यका लागि काम गर्ने प्रतिबद्धता प्रस्ट रहेको बताए । उनले बदलिँदो विश्वलाई पुराना संस्थाहरूको भरमा चलाउन नसकिने र वैश्विक निकायहरूमा प्रतिनिधित्व, कार्यशैली र नियम बनाउने प्रक्रियामा सुधार आवश्यक रहेको बताए ।

“भविष्यको प्रविधि र उत्पादनमा ‘ग्लोबल साउथ’को सहभागिता हुनुपर्छ । ब्रिक्स देशहरूले आफ्ना निर्णय र परिणामबीचको दूरी अन्त्य गर्न मिलेर काम गर्नुपर्छ,” उनले भने । यसैबीच, पश्चिम एसियाको द्वन्द्वमा फरक–फरक पक्षहरूसँग जोडिएका इरान र संयुक्त अरब इमिरेट्स जस्ता देशहरूको उपस्थितिका कारण साझा घोषणापत्रमा आम सहमति बन्न सहज नहुने आशंकाहरू थिए ।

यसै पृष्ठभूमिमा नयाँ दिल्ली घोषणापत्रमा पश्चिम एसियामा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । यसमा सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन र विवादहरूलाई संवाद तथा कूटनीतिको माध्यमबाट सुल्झाउन आह्वान गरिएको छ । घोषणापत्रमा कुनै देशको नाम नलिई नागरिक पूर्वाधारहरूमाथि हुने आक्रमणको निन्दा गरिएको छ ।

साथै, व्यापार, आपूर्ति शृंखला र ऊर्जा प्रवाहलाई निर्वाध राख्नुपर्ने महत्त्वमा जोड दिइएको छ । यसबीच सात वर्षपछि भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता भएको छ । शिखर सम्मेलनका क्रममा दुई शीर्ष नेताबिच भएको भेटवार्ता फलदायी रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जानकारी दिएका छन् ।

उनका अनुसार तियानजिनमा भएको अघिल्लो भेटवार्तापछि भारत–चीन सम्बन्धमा देखिएको स्थिर प्रगतिको दुवै नेताले समीक्षा गरेका छन् । प्रवक्ता जयसवालका अनुसार दुवै नेताले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नुपर्ने आवश्यकता र महत्त्वमा जोड दिएका छन् । साथै, उनीहरूले पारस्परिक सम्मान, पारस्परिक हित र पारस्परिक संवेदनशीलताका आधारमा आपसी सहकार्यलाई अघि बढाउने प्रतिबद्धता दोहो¥याएका छन् ।

यसैबिच, प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा राष्ट्रपति सीसँगको तस्बिर पोस्ट गर्दै आफूहरूबिच भारत–चीन सम्बन्धका सबै पक्षमा समीक्षा भएको उल्लेख गरेका छन् । उनले आगामी वर्ष सुरु हुने चीनको ब्रिक्स अध्यक्षताका लागि चिनियाँ पक्षलाई शुभकामना दिएको समेत बताएका छन् ।

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी वर्ष चीनले ब्रिक्सको अध्यक्षता सम्हाल्ने र १९औँ ब्रिक्स शिखर सम्मेलनको आयोजना गर्ने घोषणा गरेका छन् । यस विषयमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै चीनले यो अवसरलाई सहमति निर्माण गर्न तथा सबै पक्षहरूसँग मिलेर भविष्यको योजना तय गर्न सदुपयोग गर्ने बताएकी छन्

उनले सबै मिलेर ब्रिक्स सहकार्यको तेस्रो स्वर्णिम दशकको सुरुवात गर्ने समेत उल्लेख गरेकी छन् । ब्रिक्स सम्मेलनमा १० वर्षपछि मोदी, सी र पुटिन एकसाथ देखिएका हुन् । यसअघि यी तीन नेता सन् २०१६ मा भारतको गोवामा आयोजित ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए ।

यसबीच शनिबार आयोजित डिनरमा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले हिन्दी फिल्मका दुई चर्चित गीत गाएको भिडिओ पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडिओमा उनले पियानोको धुनमा किशोर कुमारको प्रसिद्ध गीत ‘ख्वाब हो तुम या कोई हकीकत’ र मुकेशको गीत ‘दोस्त दोस्त ना राहा’ गाइरहेका छन्। लगभग डेढ मिनेटको भिडिओमा उनले दुवै गीतका केही अंश गाएका छन् ।

मेलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले उक्त भिडिओ आफ्नो सामाजिक सञ्जाल एक्समा सेयर गरेका छन् । अनि लेखेका छन्, ‘गुरु, म अलिकति गाउन सक्छु?’ यसअघि फेब्रुअरी २०२६ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मलेसिया भ्रमणका क्रममा अनवर इब्राहिमले आधिकारिक भिडिओ मोन्टाज साझा गरेका थिए । भिडिओमा ‘कभी खुसी कभी गम’ फिल्मको लोकप्रिय गीत ‘बोले चुडियाँ’ प्रयोग गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top