२९ भदौ , काठमाण्डौ ।
यूएईको दुबईमा गएराति भएको महिला एशिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एशियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ । नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्षसमेत हुन् ।
दक्षिण एशियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतले श्रीलङ्कालाई ७२ रनले हराउँदै उपाधि जित्यो । तर दुवै टोलीका खेलाडीहरू आ–आफ्ना ड्रेसिङ रुमबाहिर पर्खिरहँदा खेलपछिको समारोह ४५ मिनेटभन्दा धेरै समयसम्म ढिलो हुन पुगेको थियो ।

त्यसपछि अम्पायरहरूलाई चिनो तथा उपविजेता टोली श्रीलङ्काका खेलाडीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो । यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन ।
पाकिस्तानले यस घटनालाई खेलको भावनासँग जोड्दै खेल भावनाको अभावमा हार वा जीतको कुनै अर्थ नहुने बताएको छ । यस्तै भारतीय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक अमोल मजुमदारले ट्रफी नलिने निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले लिएको बताए ।
सन् २०२५ मा पाकिस्तानलाई हराउँदै एशिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो । भारतीय महिला क्रिकेट टोलीले आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा वुमन्स एसिया कप २०२६ को उपाधि आठौँ पटक आफ्नो नाममा ग¥यो ।
तर, अस्वभाविक दम्भ देखाउँदै विजेताको ट्रफी र पदक ग्रहण गर्न अस्वीकार गरेको छ । भारतीय महिला टोलीका प्रशिक्षक अमोल मजूमदारले खेलपछिको पत्रकार सम्मेलनमा भने, झयो निर्णय बीसीसीआईको हो र हामी त्यसमा सहमत छौँ। हामी यस प्रतियोगिताका विजेता हौँ । त्यति नै पर्याप्त छ । स्कोरबोर्डमा भारत च्याम्पियन लेखिएको छ ।
हाम्रा लागि प्रतियोगिता समाप्त भइसकेको छ । उनले ट्रफी कहिले प्राप्त हुने भन्ने सम्बन्धमा कुनै जानकारी नरहेको पनि बताए। बीसीसीआई सचिव देवाजित सैकियाले यस कदमलाई देशको हित, जनताको सम्मान तथा गत वर्ष पुरुष टोलीले लिएको अडानसँगको एकताका रूपमा व्याख्या गरेका छन् ।
उनको भनाइअनुसार गत वर्षको पुरुष एसिया कपको ट्रफी अझै भारत नपुगेको अवस्थामा महिला टोलीले फरक व्यवहार देखाउन उपयुक्त नहुने निर्णय लिइएको हो । औपचारिक ट्रफी ग्रहण नगरिएपछि यो घटनालाई धेरैले अनावश्यक अहंकारको प्रदर्शन भनेका छन् ।
आधिकारिक रूपमा भारत विजेता घोषित भए पनि ट्रफी अहिले एसीसीसँगै रहेको छ । भारतीय महिला टोलीले लगातार दोस्रो पटक एसिया कपको उपाधि हात पारे पनि भौतिक ट्रफी भने अझै प्राप्त गरेको छैन । यस घटनाप्रति प्रतिक्रिया जनाउँदै पाकिस्तानका गृह राज्यमन्त्री तल्लाल चौधरीले भारतले ट्रफी लिन अस्वीकार गर्दैमा उसको ‘कूटनीतिक र सैन्य पराजय नमेटिने’ टिप्पणी गरेका छन्।
जियो न्युजसँग कुरा गर्दै चौधरीले भारतमाथि ‘खेलकुदको संस्कृतिलाई नै नष्ट गरेको’ आरोप लगाए। उनले खेलकुदमा खेलभावना महत्वपूर्ण हुने भन्दै त्यो भावना नै नभए जित वा हारको कुनै अर्थ नहुने बताए। चौधरीका अनुसार भारतले आफ्नो सम्पूर्ण समाजमा राष्ट्रवादी उन्माद बढाएको छ।
उनले शान्ति र प्रेमको प्रतीकका रूपमा रहेको तथा विगतमा विभिन्न द्वन्द्वसमेत अन्त्य गर्न भूमिका खेलेको दक्षिण एसियाली खेलकुद संस्कृतिमा क्षति पुगेको दाबी गरे। पाकिस्तानी राज्यमन्त्रीले पाकिस्तानले खेलकुदलाई राजनीतीकरण नगरेको र दुई देशबीचको विवादको विषय नबनाएको दाबी गर्दै सबै विवादित विषयमा संवादका लागि पाकिस्तान तयार रहेको बताए।
साबिक विजेता श्रीलंकाविरुद्ध ७२ रनको सानदार जित निकाल्दै भारत एसीसी महिला ट्वान्टी–२० एसिया कपको च्याम्पियन बनेको छ । भारतले आठौँपटक यो उपाधि जितेको हो । आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभर नै ब्याटिङ गरे पनि सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाकी कप्तान चमारी अथापाथुले ३६, निलाक्षिका सिल्भाले २२ र विष्मी गुनारत्नेले २० रन जोडे । भारतका श्री चरानीले चार, दीप्ति शर्माले तीन तथा क्रान्ति गौड, सफाली वर्मा र प्रेमा रावतले एक÷एक विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनाएको थियो ।
भारतकी सफाली वर्माले ६८, स्मृति मन्धनाले ५९, रीचा घोषले १७, गुनालन कमलिनीले अविजित १५ र कप्तान हरमनप्रीत कौरले १४ रन बनाए । श्रीलंकाका मिथाली अयोध्या, चमारी अथापाथु र चामुडी प्रबोधाले एक÷एक विकेट लिए ।
भारतीय कप्तान हरमनप्रीत कौरले भारतले आफ्नो स्तरअनुसार खेल प्रदर्शन गरेको बताइन्।
उनले शेफाली र स्मृतिको ओपनिङ साझेदारीको प्रशंसा गर्दै प्रतियोगिताभर शेफालीले ब्याटिङ र बलिङ दुवैतर्फ जिम्मेवारी लिएर खेलेकोमा खुसी व्यक्त गरिन्। यता श्रीलंकाकी कप्तान चामारी अटापट्टुले आगामी एसियन गेम्समा टोलीले पुनरागमन गर्ने बताइन्।
उनले खेलकुदमा एउटा टोलीले जित्ने र अर्कोले हार्ने स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै फाइनलमा श्रीलंकाले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न नसकेको स्वीकार गरिन्। ‘हामीले प्रतियोगिताभर राम्रो क्रिकेट खेलेका थियौँ, तर आज केही कमजोर भयौँ,’ अटापट्टुले भनिन्। उनले आगामी प्रतियोगितामा टोलीले पुनः बलियो रूपमा फर्किने प्रतिबद्धता व्यक्त गरिन्।




