काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले चाडपर्वअघि नै कालोबजारी र कृत्रिम अभाव रोक्ने प्रभावकारी संयन्त्र निर्माण गरी विपद्पीडित नागरिकलाई राहत दिन सरकारसँग अपील गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परियारले भोटेकोशीको विकराल बाढी तथा हिमपहिरोको असर दीर्घकालसम्म देखिने भन्दै उद्धार र राहतमा राज्यको उपस्थिति प्रशंसनीय भए पनि संकट अझै नसकिएको बताए।
उनले दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा विपद्का कारण सडक तथा पुलहरू भत्किएर भूगोल विच्छेदित भएको अवस्थामा नागरिकको असहजतालाई अवसर बनाएर बजारमा कालोबजारी र कृत्रिम अभाव हुनसक्ने जोखिम औँल्याए। ‘विपत्तिले आहत भएका नागरिकलाई महँगी र अभावको दोहोरो मारमा पार्नु राज्यको दायित्व हुँदै होइन,’ उनले भने।
परियारले विपद्का बेला गरिने औपचारिकतामा सीमित बजार अनुगमनले नागरिकलाई राहत नदिने भन्दै दुर्गम क्षेत्रसम्मको आपूर्ति व्यवस्था आपत्कालीन रूपमा चुस्त र प्रभावकारी बनाउन सरकारलाई आग्रह गरे। उनले कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गर्न र भत्किएका पुल तथा सडकसँगै विच्छेदित भूगोललाई राज्यको विश्वासले जोड्ने काम तत्काल अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।‘सडक टुक्रिए पनि नागरिक र सरकारबीचको विश्वासको सेतु टुक्रिनु हुँदैन,’ उनले भने।




