३ असोज , काठमाण्डौ ।
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र वरपपर रहने जंगली भाले हात्ती ‘रोनाल्डो’ आज बिहान मृत भेटिएको छ। चितवनको मध्यवर्ती क्षेत्र २० हजारी ताल नजिकै रहेको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिएका छन् ।
थापामगरले हात्ती मृत फेला परेको बारेमा अनुसन्धान भैरहेको बताए । रोनाल्डो हात्ती २४ वर्ष अगाडि निकुञ्जमा देखिएको थियो । हात्ती प्रजनन् केन्द्रमा रहेका पोथी हात्ती रोनाल्डो हात्तीबाट नै गर्भवती हुँदै आएका थिए । रोनाल्डो ३८ वटा छावाको बाबू भएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा लामो समयदेखि देखिदै आएको यो जङ्गली हात्ती करेन्ट लागेर मरेको अनुमान गरिएको छ । यद्यपि निकुञ्जले आधिकारिक पुष्टि गर्न बाँकी रहेको छ । हात्ती मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जको र राष्ट्रिय प्रकृति सरक्षण कोषका प्राबिधिक टोली पुगेर हात्तीको मृत्यु बारे अनुषन्धान शुरू गरेका जनाएका छन् ।
सौराहाको हात्ती प्रजनन केन्द्रमा मात्रै यो हात्तीबाट ३३ वटा हात्तीका बच्चाको जन्म भएका छन् । सन् २००२ देखि रोनाल्डो हात्ती चितवनमा देखिएको संरक्षण कर्मीहरुले जानकारी दिएका छन् । निकुञ्जका पूर्व वन्यजन्तु चिकित्सक डा. विजय श्रेष्ठ हात्तीको मृत्युले सरक्षणका क्षेत्रमा समेत क्षति पुग्ने बताए ।

रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र विशेषगरी सौराहा र खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्र आसपास बस्ने गरेको हात्ती हो । केन्द्रका पोथी हात्तीहरूसँग प्रजनन जगली हात्तीबाट नै हुने गरेको छ । चितवन राष्ट्रिय किनकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यो हात्ती कसरी म¥यो भन्ने कुरा एकिन भइसकेको छैन ।
मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाइएको निकुञ्जले जनाएको छ । रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जमा प्रभावशाली र चर्चित जंगली हात्तीका रूपमा परिचित थियो । निकुञ्जको विवरणअनुसार २०८३ असारसम्म निकुञ्जको केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान हुन् ।
निकुञ्जमा रहेका जंगली हात्तीको प्रजनन र वंश विस्तारमा रोनाल्डोको योगदान उल्लेख्य रहेको विवरणले देखाउँछ । यस्तै विभिन्न समयमा हात्तीको आक्रमणबाट मानिसको ज्यान गएको घटनामा रोनाल्डोको समेत नाम जोडिँदै आएको थियो ।
उपलब्ध विवरणअनुसार १६ वर्षको अवधिमा रोनाल्डोको आक्रमणबाट २२ जनाको मृत्यु भएको बताइन्छ । यद्यपि पछिल्लो समय रोनाल्डो पहिलेको तुलनामा कम आक्रामक भएको बताइन्थ्यो । प्रजनन केन्द्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू नजिकै पुगेर फोटो खिच्दा समेत उसले खासै वास्ता नगर्ने गरेको कर्मचारीहरूको भनाइ थियो ।
बरण्डाभार क्षेत्रबाट गाउँबस्ती प्रवेश गर्दा भने रोनाल्डोले बालीनालीमा क्षति पु¥याउने गरेको थियो । घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पु¥याएको स्थानीयले बताएका छन । रोनाल्डोको एउटा छुट्टै पहिचान भनेको उसको छोटो पुच्छर पनि थियो। उसको पुच्छरको फेद मात्रै देखिन्थ्यो ।
पुच्छर कसरी चुँडिएको भन्ने विषयमा समेत लामो समयदेखि विभिन्न अनुमान हुँदै आएका थिए । रोनाल्डोको मृत्यु स्वाभाविक हो वा अन्य कारण भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाइएको छ ।



