आज कोशी, बागमती र गण्डकीमा भारी वर्षा,कर्णाली राजमार्ग ठप्प

४ असोज ८३, आइतबार
Share this
729shares

४ असोज , काठमाण्डौ ।

Advertisement

आज देशभरको मौसमको कुरा गर्दा, मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको पनि आंशिक प्रभाव देखिएको छ। यही कारण अहिले देशका धेरैजसो भूभागमा मौसम बदली भइरहेको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

पछिल्लो विवरणअनुसार बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा विहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अब आज दिउँसोको मौसम कस्तो रहला? त्यो जानौ, दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्ने पूर्वानुमान गरिएको छ।

Advertisement

तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, तराई भूभागका पनि एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ

तर आजको मौसममा विशेष ध्यान दिनुपर्ने कुरा के छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। अब आज रातिको मौसमतर्फ जाऔँ। रातिको समयमा पनि देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लागिरहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।

Advertisement

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी क्षेत्रको कुरा गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ।यता तराईतर्फ पनि मौसम पूर्ण रूपमा खुल्ने अवस्था भने छैन।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभरको मौसम पूर्ण रूपमा सफा रहने छैन। हिमाली र पहाडी भूभागमा बादल लाग्ने र ठाउँ–ठाउँमा वर्षा हुने सम्भावना छ भने तराई क्षेत्रमा पनि केही स्थानमा मौसम बदली भएर वर्षा हुन सक्ने देखिएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नागरिकले मौसममा आउने परिवर्तनलाई ध्यान दिनुपर्ने देखिन्छ। अहिले देशमा मनसुनी वायुको प्रभाव कायमै रहेको अवस्थामा पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि विभिन्न प्रदेशका हिमाली, पहाडी र तराईका केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यसैले आज बाहिर निस्कँदै हुनुहुन्छ बाटोको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गर्नुहोला ।

उता कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२, रिपनजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।

पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्, सडकमा ठूलाठूला ढुंगा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । जिल्ला सदरमुकाम सिमकोटमा आइतबार सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताए ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन पहल भइरहेको बताए । उनका अनुसार सडकमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको उनले बताए ।

करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ । दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावतः पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ ।

वर्षायाममा बाढी, पहिरो र ढुंगा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।

मौसमसम्बन्धी थप जानकारी र नयाँ पूर्वानुमानका लागि मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने आधिकारिक सूचना हेर्नुहोला। मौसम अपडेट अहिलेलाई यतिनै मौसमसम्बन्धी थप नयाँ जानकारी र अन्य देशविदेशका समाचारका लागि नेपाल टाइम्स अनलाइन टेलिभिजनका हाम्रा अन्य प्रसारणहरू हेर्दै गर्नुहोला, तपाईंहरूको दिन शुभ र सुरक्षित रहोस्, नमस्कार।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top