४ असोज , काठमाण्डौ ।
लगातारको अमेरिका आक्रमण, धम्की र प्रतिबन्धका बीच कडा जवाफ दिइरहेको इरानले अन्ततः अमेरिकासँग युद्ध अन्त्यका लागि ३ सर्त अघि सारेर आफू युद्धको विपक्ष र वार्ताको पक्षमा रहेको सन्देश दिएको छ । इरानले शान्ति वार्ताका लागि अमेरिकालाई आफ्ना सर्त पठाएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले मध्यस्थताकर्ताद्वय कतार र पाकिस्तानमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना सर्तहरू बुझाएको बताएका हुन्। उनले भनेका छन्, ‘इरानले कतारी र पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना सर्तहरू बुझाएको छ र अब राष्ट्रपति ट्रम्पको प्रतिक्रियाको पर्खाइमा छ।’

बीबीसी फारसीका अनुसार, उनले इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, इरानको रोक्का सम्पत्ति फिर्ता र नौसेना नाकाबन्दी हटाइनुपर्ने छन्। योसँगै रेजाइले चेतावनी पनि दिएका छन्, ‘इरानमा आक्रमण भएमा इरानी सेनाले यस क्षेत्रमा रहेका अमेरिकी आधार र सुविधालाई थप शक्तिका साथ आक्रमण गर्नेछ।’
आणविक कार्यक्रमका विषयमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले इरानले आणविक अप्रसार सन्धि (एनपीटी) बाट फिर्ता हुने निर्णय गरिनसकेको र यो कुरा अमेरिकाको व्यवहारमा निर्भर बताएका छन्। उनले थपे, ‘इरानले अझै पनि आणविक हतियारसम्बन्धी पूर्वनेताको फतवा पालना गर्छ र आफ्नो आणविक सिद्धान्त परिवर्तन गरेको छैन, यद्यपि भविष्यमा के होला, हामीलाई थाहा छैन।’

रजाईले साउदी अरेबिया र यमनबिचको युद्ध अन्त्य गर्न पनि आह्वान गरे। साथै उनले यमनका हुथी विद्रोही पनि साउदीसँग सम्झौता गर्न इच्छुक रहेको विश्वास व्यक्त गरे। अर्काेतर्फ, इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।
इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेपछि कारबाही गरिएको हो । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलडमरूमध्य पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी दिएको छ ।
यसैबिच, अर्को तेलवाहक जहाजमाथि पनि अज्ञात वस्तुबाट आक्रमण भएको बताइएको छ । चालकदलका सबै सदस्य सुरक्षित रहेको जनाइएको छ । अब साउदीको प्रंसग । यमनमा हुथी समूहको गतिविधिका कारण बाब अल–मन्देब जलडमरूमध्यमा पनि व्यापारिक जहाजको आवागमन घटेको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण महत्वपूर्ण समुद्री व्यापारिक मार्गहरू प्रभावित भइरहेका छन् । यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न क्षेत्रमा ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत आक्रमण गरेको दाबी गरेको छ।
समूहले राजधानी रियादसहित लालसागर आसपासका महत्वपूर्ण ऊर्जा तथा औद्योगिक केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। हुथी समूहले आफूले गरेको भनिएको सैन्य कारबाहीमा ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रसँगै ठूलो संख्यामा ड्रोन प्रयोग गरिएको दाबी गरेको छ।
यद्यपि, समूहले सार्वजनिक गरेका सबै दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।साउदी अरबका अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई देशको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै रोक्दै नष्ट गरेको बताएका छन्। अन्य सम्भावित आक्रमणका सम्बन्धमा भने साउदी पक्षबाट विस्तृत आधिकारिक विवरण सार्वजनिक भएको छैन।
आक्रमणबाट मानवीय क्षति वा भौतिक संरचनामा भएको क्षतिको पूर्ण विवरणसमेत तत्काल सार्वजनिक गरिएको छैन। तर शनिबार रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थल आसपासबाट इन्धन भण्डारण ट्यांकीमा आगलागी भएको देखिएको र त्यसबाट बाक्लो कालो धुवाँ निस्किएको विवरण सार्वजनिक भएको छ।
घटनापछि विमानस्थलमा केही समय उडान सञ्चालन प्रभावित भएको जनाइएको छ। यद्यपि, विमानस्थलको नियमित सेवा कति समय प्रभावित भयो र त्यसबाट कति उडानमा असर पर्यो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र बनाएको भनिएको जुलाईयता राजधानी रियादमा शनिबार पहिलोपटक हवाई आक्रमणसम्बन्धी चेतावनी जारी गरिएको बताइएको छ। साउदी नागरिक सुरक्षा निकायले रातिको समयमा रियादसहित विभिन्न क्षेत्रमा सम्भावित खतरा रहेको भन्दै नागरिकका मोबाइल फोनमा आपत्कालीन सूचना पठाएको थियो।
पछि अवस्था नियन्त्रणमा आएको जनाउँदै ‘अल क्लियर’ सूचना जारी गरिएको थियो। एएफपीका अनुसार रियादका केही क्षेत्रमा विस्फोटका आवाज सुनिएका थिए। स्थानीय बासिन्दाले पनि चेतावनी जारी भएपछि विस्फोटजस्तो आवाज सुनेको बताएका छन्।
उत्तरी रियादका एक स्थानीय बासिन्दाले एएफपीसँग कुरा गर्दै हवाई चेतावनी सुनेपछि केही समयसम्म झ्यालहरू हल्लिएको र आफूहरू त्रसित भएको बताएका थिए। हुथीका सैन्य प्रवक्ता याह्या अल–सारियाले सार्वजनिक गरेको वक्तव्यमा रियादका संवेदनशील क्षेत्र तथा लालसागर किनारमा रहेको यान्बुस्थित साउदी सरकारी ऊर्जा कम्पनी अरामकोका संरचनालाई आक्रमणको निशाना बनाइएको दाबी गरिएको छ।
सारियाका अनुसार उक्त सैन्य कारबाहीमा विभिन्न प्रकारका ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको थियो।हुथी पक्षले आक्रमणलाई यमनको राजधानी सानामाथि साउदी अरबले गरेको भनिएको सैन्य कारबाहीको प्रतिक्रियाका रूपमा प्रस्तुत गरेको छ।
साना अहिले हुथी विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्र हो।हुथी सैन्य प्रवक्ताले पछिल्लो एक साताको अवधिमा साउदी अरबले यमनका विभिन्न स्थानमा ठूलो संख्यामा आक्रमण गरेको आरोपसमेत लगाएका छन्। उनका अनुसार उक्त अवधिमा करिब ३०० वटा आक्रमण भएको दाबी गरिएको छ।
तर यी दाबीको स्वतन्त्र रूपमा पुष्टि भएको छैन।साउदी नेतृत्वको गठबन्धनका एक प्रवक्ताले देशका अन्य केही सहरमा पनि नागरिक क्षेत्रलाई लक्षित गर्ने प्रयास भएको बताएका छन्। उनका अनुसार बिश, ताइफ, फरासान र यान्बु क्षेत्रमा आएका सम्भावित हवाई खतरालाई साउदी हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको थियो।
तर ती स्थानमा कति वटा क्षेप्यास्त्र वा ड्रोन प्रयोग गरिएको थियो र घटनाबाट कस्तो क्षति भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। यसबीच मध्यपूर्वमा सैन्य तनाव थप बढ्दै गएपछि विभिन्न देशले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयले साउदी अरब तथा मध्यपूर्व क्षेत्रमा यात्रा गर्ने आफ्ना नागरिकलाई सम्भावित सुरक्षा जोखिम र यात्रा अवरोधलाई ध्यानमा राख्न सुझाव दिएको छ।अमेरिकी पक्षले हुथी समूहबाट साउदी अरबमा नागरिक विमानस्थलसहित विभिन्न लक्ष्यमा आक्रमणको जोखिम रहेको उल्लेख गर्दै क्षेत्रीय सैन्य द्वन्द्व थप फैलिन सक्ने चेतावनी दिएको छ।
हुथी विद्रोही र यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारबीच लामो समयदेखि सशस्त्र संघर्ष जारी छ। यमन सरकारलाई साउदी अरबले समर्थन गर्दै आएको छ भने हुथी समूहलाई इरानको समर्थन प्राप्त रहेको मानिन्छ।
पछिल्लो समय हुथी समूहले साउदी अरबभित्रका विभिन्न रणनीतिक तथा सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गर्दै आएको छ। यसै क्रममा समूहले केही दिनअघि यमनमाथि उडिरहेको साउदी लडाकु विमान खसालेको दाबी पनि गरेको थियो। शनिबार यमनमा हुथी र साउदी समर्थित सरकारी फौजबीच भएको भिडन्तमा ठूलो मानवीय क्षति भएको अपुष्ट विवरण सार्वजनिक भएको छ।
एएफपीले सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त भिडन्तमा हुथी पक्षका ३१ जना र सरकारी पक्षका १७ सैनिक गरी ४८ जनाको मृत्यु भएको जनाएको छ। यद्यपि, उक्त तथ्यांकको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
यसअघि संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय जारी द्वन्द्वका कारण यमनमा विस्थापित हुने मानिसको संख्या एक लाख चार हजार ७९६ भन्दा माथि पुगेको छ।
यमनमा जारी सैन्य तनावको असर स्थल क्षेत्रमा मात्र सीमित नरही लालसागरको सामुद्रिक मार्गसम्म विस्तार भएको देखिएको छ। हुथी समूहले रणनीतिक महत्वको मोखा बन्दरगाह सहर तथा पेरिम टापु आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ ।
यी क्षेत्र एसिया र युरोपबीच हुने समुद्री व्यापारका लागि महत्वपूर्ण मार्गको आसपासमा अवस्थित छन्। खाडी मुलुकहरूबाट युरोप तथा एसियातर्फ ऊर्जा र अन्य वस्तु ढुवानीका लागि लालसागर तथा आसपासका समुद्री मार्ग महत्वपूर्ण मानिन्छन्।
हुथी समूहले आफूहरूको नियन्त्रणमा रहेका उत्तरपश्चिमी यमनका बन्दरगाह तथा विमानस्थलमा साउदी अरबले लगाएको प्रतिबन्धको जवाफस्वरूप समुद्री मार्गमा अवरोध सिर्जना गरिएको दाबी गरेको छ।यसअघि नै मध्यपूर्वको अर्को महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा चिन्ता बढेको छ।



