काठमाडौं । नेकपा एमालेभित्रको विवाद थप पेचिलो बन्दै गएको देखिएको छ। गत बिहीबार गुण्डुमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रदीप ज्ञवालीलाई दुईवटा प्रतिवेदन मर्ज गर्ने जिम्मेवारी दिएपछि पार्टीभित्र विवाद थप चर्किएको हो। ज्ञवाली यसअघि पार्टीले गठन गरेको उपाध्यक्ष रामबहादुर थापा (बादल) नेतृत्वकाे कार्यदलमा थिएनन्। तर, अध्यक्ष ओलीले दिएको जिम्मेवारीअनुसार उनले दुई प्रतिवेदनलाई एकीकृत गर्दै आइतबार बस्ने कार्यदल बैठकका लागि तयार पारिएको प्रतिवेदन नेताहरूलाई पठाएका थिए। उक्त प्रतिवेदन सञ्चारमाध्यममार्फत समेत सार्वजनिक भएको थियो।
ज्ञवालीको प्रतिवेदनमा यसअघि महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनका मूल अंश हटाइएको भन्दै केही नेता असन्तुष्ट बनेका थिए। अहिले च्यासलस्थित पार्टी कार्यालयमा कार्यदलको बैठक जारी छ। बैठकमा तल्लो तहका नेता तथा कार्यकर्ताबाट आएका सूक्ष्म सुझावहरू प्रतिवेदनबाट हटाइएको भन्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीसँग असन्तुष्टि जनाएका छन्।
‘आजको बैठक बिहीबारकै भाग–२ जस्तो भएको छ। अब कुरा नमिल्ने छाँटकाँट देखिएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘आजै दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठकमा यसबारे विस्तृत छलफल हुनेछ।’

एमालेले आज दिउँसो बस्ने सचिवालय बैठकबाट केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने तयारी गरेको छ। केन्द्रीय कमिटी बैठक असोज ५, ६ र ७ गते ललितपुरको रामबाग महलमा बस्ने तय भएको छ।





