ओलीको प्रतिवेदन : पराजय स्वीकार्दै संगठन पुनर्जागरणमा जोड

५ असोज ८३, सोमबार
Share this
777shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा व्यहोरेको पराजयलाई गम्भीर रूपमा समीक्षा गर्दै संगठन पुनर्निर्माण, जनतासँगको सम्बन्ध सुधार र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीले निर्वाचन परिणामलाई पार्टीका लागि कठोर सन्देशका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।

Advertisement

उनले पार्टी पराजित भए पनि समाप्त नभएको भन्दै कमजोरी पहिचान गरेर संगठनलाई पुनर्जागरणतर्फ लैजानुपर्ने बताएका छन्। ओलीले निर्वाचन पराजयको कारण बाह्य घेराबन्दी र राजनीतिक प्रतिद्वन्द्वितामात्र नभई पार्टीभित्रका कमजोरी पनि रहेको स्वीकार गरेका छन्।  संगठनका कतिपय तह निष्क्रिय हुनु, जनतासँग प्रत्यक्ष संवाद कमजोर हुनु, युवाको बदलिँदो मनोविज्ञान बुझ्न ढिला हुनु र डिजिटल सञ्चारमा पार्टीको प्रतिक्रिया कमजोर हुनुजस्ता कारण उनले औंल्याएका छन्।उनका अनुसार पार्टीले सरकारमा रहँदा गरेका कामलाई प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन सकेन। काम हुनु र जनताले त्यसको अनुभूति गर्नु फरक विषय भएको उल्लेख गर्दै ओलीले आगामी दिनमा जनसम्पर्क र राजनीतिक सञ्चार प्रणालीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन्।

प्रतिवेदनमा ओलीले पुस्तान्तरण र नेतृत्व परिवर्तनको विषयलाई पनि उठाएका छन्। उनले पुस्तान्तरण उमेरको अंकगणित मात्र नभई नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव, अवसर र निर्णय प्रक्रियामा स्थान दिने प्रक्रिया भएको बताएका छन्। अनुभव र नयाँ ऊर्जाको संयोजन आवश्यक रहेको उनको भनाइ छ। ओलीले पार्टी पुनर्गठनलाई नेतृत्व विस्थापनसँग मात्र जोड्न नहुने तर्क गरेका छन्। असहज र असामान्य परिस्थितिमा संगठनलाई जोगाउन तथा पुनर्निर्माण गर्न पुनर्गठन आवश्यक पर्ने उल्लेख गर्दै उनले पार्टीको संस्थागत निरन्तरता कायम राख्दै रूपान्तरण अघि बढाउनुपर्ने बताएका छन्।
एमालेको आगामी कार्यदिशामा युवालाई वास्तविक जिम्मेवारी दिने, रोजगारी, उद्यम, शिक्षा, प्रविधि, जलवायु र डिजिटल अर्थतन्त्रजस्ता विषयमा युवा नीति समूह बनाउने प्रस्ताव प्रतिवेदनमा गरिएको छ। महिलाको नेतृत्व तथा विभिन्न सामाजिक समुदायको प्रतिनिधित्वलाई संगठनमा प्रभावकारी बनाउने विषय पनि समेटिएको छ। ओलीले सामाजिक सञ्जालको प्रभाव बढेको अवस्थामा पार्टीको डिजिटल सञ्चार प्रणालीलाई पुनर्निर्माण गर्नुपर्ने बताएका छन्। तथ्यमा आधारित सामग्री, छोटा भिडियो, प्रश्नोत्तर र स्थानीय भाषामार्फत सूचना प्रवाहलाई तीव्र बनाउनुपर्ने उनको प्रस्ताव छ।
प्रतिवेदनमा भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ। मृतकका परिवारलाई न्याय, घाइतेलाई उपचार तथा घटनामा सुरक्षा निकाय, प्रशासनिक निर्णय, राजनीतिक नेतृत्व र बल प्रयोगको भूमिकासमेत अध्ययन गर्नुपर्ने ओलीको धारणा छ।ओलीले छानबिनलाई सत्य खोज्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने, राजनीतिक प्रतिशोध वा राजनीतिक सफायाको औजार बनाउन नहुने बताएका छन्। एमाले प्रतिपक्षमा रहे पनि सरकारका हरेक कामको विरोध गर्नु नभई सरकारलाई संविधानको सीमाभित्र राख्नु आफ्नो भूमिका हुने उनले उल्लेख गरेका छन्।
प्रतिवेदनको अन्तिम भागमा ओलीले निर्वाचन पराजयलाई आत्मसमीक्षाको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। पार्टीले जनताको असन्तोष, संगठनको सुस्तता, कमजोर सञ्चार र युवासँगको अपर्याप्त संवादलाई स्वीकार गरेर सुधार अघि बढाउनुपर्ने उनको निष्कर्ष छ।
उनले आगामी कार्यदिशामा सत्य संवाद, संगठन सक्रियता, कार्यकर्ताको मनोबल पुनर्निर्माण, जनहितका अभियान, डिजिटल पुनर्निर्माण, स्थानीय समस्या समाधान, वैकल्पिक शासन–खाका, नीति अनुसन्धान र वैचारिक प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। प्रतिवेदनमा ओलीले एमालेको तत्कालीन लक्ष्य आगामी निर्वाचन मात्र नभई लोकतन्त्र सुदृढ गर्ने, संविधानको रक्षा गर्ने, जनताको जीवनमा आशा जगाउने र राष्ट्रिय स्वाधीनता कायम राख्ने रहेको उल्लेख गरेका छन्। उनले पराजयलाई शिक्षामा, शिक्षालाई रूपान्तरणमा र रूपान्तरणलाई पुनर्जागरणमा बदल्ने कार्यदिशा अघि सारेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top