१८० यात्रु बोकेको इजरायली विमानको पाइलटलाई हावामै मार्ने प्रयास

१४ असोज ८३, बुधबार
Share this
796shares
१४ असोज , काठमाण्डौ।
दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको यात्रुवाहक विमानबाट उडानकै क्रममा खतरापूर्ण असामान्य घटना भएपछि केही समय अन्तर्राष्ट्रियस्तरमै हलचल मच्चिएको छ।
विमानबाट अपहरण वा गैरकानुनी हस्तक्षेपको संकेत मानिने ‘७५००’ आपत्कालीन कोड प्रसारण भएपछि इजरायली सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका थिए। तर पछिल्लो विवरणअनुसार विमान अपहरणमा परेको नभई विमानभित्रै   पाइलटमाथि आक्रमणको प्रयास भएको खबर बाहिरिएको छ ।
 बुधबार बिहान दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको फ्लाईदुबईको यात्रुवाहक विमानबाट आपत्कालीन संकेत प्राप्त भएपछि इजरायलमा हंगामा मच्चियो । विमानबाट स्क्वाक कोड ७५०० पठाइएपछि विमान अपहरण भएको आशंका गरिएको थियो ।
त्यसपछि विमानलाई साउदी अरबको हवाई क्षेत्रतर्फ मोडेर आपत्कालीन अवतरण गराइएको थियो। विमानमा करिब १८० जना यात्रु सवार रहेको बताइएको छ। सुरुमा विमानले स्क्वाक ७७०० पठाएको थियो, जुन सामान्य आपत्कालीन अवस्थाको संकेत हो।
तर केही क्षणपछि यो ७५०० मा परिवर्तन भयो। स्क्वाक ७५०० विमानमा गैरकानुनी हस्तक्षेप अर्थात् अपहरण भएको संकेतका रूपमा प्रयोग गरिन्छ। त्यसपछि पुनः प्रारम्भिक कोडमा फर्काइएको थियो। आपत्कालीन संकेत प्राप्त भएपछि इजरायली वायुसेनाले सम्भावित सुरक्षा खतरालाई ध्यानमा राख्दै लडाकु विमान परिचालन गरेको बताइएको छ।
जेरुसेलम पोस्टका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुरक्षा अधिकारीहरूसँग बैठकसमेत बोलाएका थिए। सीएनएन ले फ्लाइट ट्र्याकिङ डेटालाई उद्धृत गर्दै विमान साउदी अरबमाथि रहँदा करिब दुई मिनेटमै ३४ हजार फिटबाट १६ हजार ६ सय फिटको उचाइमा झरेको जनाएको छ।
अर्थात् विमान १७ हजार ४ सय फिटभन्दा बढी तल झरेको थियो। इजरायली सञ्चारमाध्यम च्यानल १४ का अनुसार प्रारम्भिक आशंकामा एक पाइलटले विमानलाई तीव्र गतिमा तल लैजाने प्रयास गरेको र अर्को पाइलटले हस्तक्षेप गरी विमानको नियन्त्रण पुनः लिएको दाबी गरिएको छ।
तर यी विवरण स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन्। एक यात्रुले घटनाको अनुभव सुनाउँदै आफूहरू दुर्घटनामा पर्ने वा मारिने अवस्था आएको जस्तो महसुस भएको बताएका छन्। एक यात्रुले विमानका पाइलटमाथि आक्रमण भएको दाबी गरेका छन्।
यात्रुको बयानअनुसार, पाइलटमाथि चक्कुले आक्रमण गर्ने प्रयास गरिएको थियो। तर यात्रुहरूले साहस देखाउँदै ती आक्रमणकारीलाई नियन्त्रणमा लिएर भुइँमा दबाएर राखेका थिए। त्यसपछि कुनै तरिकाले विमानलाई सुरक्षित अवतरण गराइएको बताइएको छ।
यात्रुले घटनाका क्रममा केही क्षण आफूहरू जीवित नरहने अवस्था आएको जस्तो लागेको बताएका छन्। फ्लाइट ट्र्याकिङ डेटाअनुसार, फ्लाईदुबईका एफजेड १०७३ उडान दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तेल अभिभनजिक रहेको बेन गुरियन विमानस्थलतर्फ जाँदै थियो।
यही क्रममा विमानले अन्तर्राष्ट्रिय आपत्कालीन कोड ७७०० पठाएको थियो। तर टाइम्स अफ इजरायलले भने विमान अपहरणको प्रयास भएको दाबीलाई अस्वीकार गरेको छ। पछि एक इजरायली अधिकारीले यो विमान अपहरणको घटना नभएको र विमानभित्रै पाइलटहरूबीच विवाद भएको बताएका छन्।
इजरायली प्रधानमन्त्री कार्यालयले पनि स्थिति नियन्त्रणमा रहेको र यात्रुहरूलाई सुरक्षित रूपमा फर्काउन आवश्यक सबै उपाय अपनाइएको जनाएको छ। यद्यपि, पाइलटले वास्तवमा के गर्न खोजेका थिए भन्ने अझै स्पष्ट भइसकेको छैन।
स्क्वाक कोड ७५०० भनेको के हो?
विमानले आपत्कालीन अवस्थामा एयर ट्राफिक कन्ट्रोल अर्थात एटीसीलाई संकेत दिन विभिन्न स्क्वाक कोड प्रयोग गर्छ।
स्क्वाक ७७०० — सामान्य आपत्कालीन अवस्थाको संकेत।
स्क्वाक ७६०० — विमानको रेडियो वा सञ्चार प्रणालीमा समस्या भएको संकेत।
स्क्वाक ७५०० — विमानमा गैरकानुनी हस्तक्षेप अर्थात् सम्भावित अपहरण भएको संकेत।
स्क्वाक ७५०० देखिएपछि एटीसीले सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन सक्छ।
आवश्यकताअनुसार विमानको बाटोमा रहेका अन्य विमानलाई हटाइन्छ, सुरक्षा निकायलाई तयारी अवस्थामा राखिन्छ र विमानको निरन्तर निगरानी गरिन्छ।
परिस्थितिअनुसार विमानको सुरक्षा र हवाई क्षेत्र नियन्त्रणका लागि लडाकु विमानसमेत परिचालन गर्न सकिन्छ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top