१९ असोज , काठमाण्डौ ।
सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनस्र्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्था समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनसमेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो ।
यसैगरी, बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ ।
यसैगरी, लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ ।
बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनस्र्थापनाको काम पनि त्यसै गरी हुने बताए । यस कार्यमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता र बाग्मती, गण्डकी, मधेश र कोशी प्रेदशका मुख्यमन्त्रीहरुले आफ्नो पूर्ण साथ रहेको बताए ।
बैठकले भोटेकोशी–त्रिशूली बाढी तथा मनसुनजन्य विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
यसका साथै, विषम परिस्थितिमा खोज, उद्धार, राहत तथा पुनस्र्थापनामा खटिने सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक, सञ्चारकर्मीका साथै सहयोग पु¥याउने दातृराष्ट्र र विकास साझेदारहरूप्रति परिषद्ले उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
यसैबीच यता नेपाल र चीनको सिमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ । नेपाली वैज्ञानिकसँग मिलेर विपद्को स्रोत, विकासक्रम र प्रभावको स्थलगत अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरु नेपाल आएका हुन् ।
गत भदौ १० गते नेपालको उत्तरी क्षेत्रमा हिमनदी भत्किँदा सुरु भएको हिमपहिरो तथा माटो–ढुंगाको बहाव सीमापार फैलिएको थियो । त्यसबाट चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ बन्दरगाहसहित नेपालतर्फ १०० किलोमिटरभन्दा बढी क्षेत्रमा क्षति पुगेको थियो ।
चीन युनिभर्सिटी अफ जियोसाइन्सेस (बेइजिङ)को नेतृत्व तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सहकार्यमा संयुक्त वैज्ञानिक अभियान सञ्चालन हुन लागेको हो । अभियानमा नेपाल र चीनका १० भन्दा बढी विश्वविद्यालय तथा अनुसन्धान संस्थाका ५० भन्दा बढी वैज्ञानिक सहभागी छन् ।
चिनियाँ वैज्ञानिक टोली आइतबार सिचुआन प्रान्तको छेन्दुबाट नेपालका लागि प्रस्थान गरी सोही दिन काठमाडौं आइपुगेको हो । करिब २० दिन सञ्चालन हुने अभियानमा नेपालको विपद्को स्रोत क्षेत्रदेखि चीनमा प्रभावित क्षेत्र तथा हिमालयबाट बग्ने नदी प्रणालीका तल्लो तटीय क्षेत्रसम्म अध्ययन गरिनेछ ।
वैज्ञानिकहरूले ड्रोन, हेलिकोप्टर तथा स्थलगत भूगर्भीय नक्सांकन र नमुना संकलनमार्फत विपद्को क्रमिक विकासको अध्ययन गर्नेछन् । प्रारम्भिक हिम–चट्टान खस्ने घटनाबाट कसरी लेदो बहाव, लेदो बाढी हुँदै बाढीको रूप लियो भन्ने विषयमा वैज्ञानिक पुनर्निर्माण गरिनेछ ।
त्यसैगरी, विपद्को मार्गमा भएको भूक्षय, ढुंगा–माटोको बहाव, सञ्चय तथा नदी प्रणालीमा परेको प्रभावसमेत अध्ययन गरिनेछ ।विपद् सीमापार फैलिएकाले कुनै एक देशमा मात्रै गरिएको अध्ययनबाट यसको पूर्ण शृंखला पहिचान गर्न कठिन हुने वैज्ञानिकहरूको भनाइ छ ।
त्यसैले नेपालको स्रोत क्षेत्रमा गरिने संयुक्त स्थलगत अध्ययनले विपद्को सुरुवाती घटनादेखि चीनसम्म पुगेको प्रभावको समग्र शृंखला पहिचान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । अध्ययनबाट प्राप्त निष्कर्षले विपद्को वैज्ञानिक पुनर्निर्माणसँगै चीनको ग्यिरोङ बन्दरगाहको पुनःस्थापना तथा पुनर्निर्माणमा समेत वैज्ञानिक आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
साथै, जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो विपद् जोखिम व्यवस्थापनका लागि समेत अध्ययन उपयोगी हुने बताइएको छ । विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म १ हजार ४५७ जनाको शव फेला परेको छ । र
सुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो ।
साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शव व्यवस्थापन गरिएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार ३३६ र आफन्तका २ हजार ७७ गरी कुल ३ हजार ४१३ वटा डिएनए नमुना संकलन गरिएको छ । साथै, पहिचान नभएको १ हजार ४३० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २२६ जना व्यक्तिहरूलाई राखिएको छ ।



