कांग्रेस 2.0 , २४ पदाधिकारीमा ५० को उम्मेदवारी

२१ असोज ८३, बुधबार
Share this
734shares

२१ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसको १५औँ महाधिवशेनमा आज उम्मेदवारी फिर्तासहित अन्तिम नामावली प्रकाशन गरिदैछ भने बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गरिदैछ । कांग्रेसको निर्वाचन समितिका अनुसार, सभापतिका लागि तीनजनाको मनोनयन दर्ता भएको छ ।

निर्वाचित हुने २४ पदाधिकारीका लागि ५० जना चुनावी मैदानमा छन् । किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्की सभापति पदमा भिड्ने भएका हुन् । वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

वरिष्ठ उपसभापतिमा अन्य कसैको पनि उमेदवारी नपरेपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिला उपसभापतिको एक पदका लागि पुष्पा भुसालले मात्र उमेदवारी दर्ता गराएकी छन् । अन्य आकांक्षी नभएपछि उनी निर्विरोध निर्वाचित भएकी छन् ।

उपसभापति खुलामा भने नौजनाको उमेवदारी दर्ता भएको छ । दुई पदका लागि नौजनाले उमेदवारी दर्ता गराएका निर्वाचन समितिले बताएको छ । डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उपसभापति खुलामा उमेदवारी दर्ता गराएका हुन् ।

Advertisement

उपसभापति समावेशीमा पाँचजनाको उमेदवारी दर्ता भएको छ । विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङले उमेदवारी दर्ता गराएका छन् । कांग्रेसले समावेशीमा एकजना उपसभापति रहने व्यवस्था गरेको छ ।

महामन्त्री महिलातर्फको एक पदका लागि तीनजनाले उमेदवारी दर्ता गराएका छन् । महामन्त्री महिलामा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय डिनाले उमेदवारी दर्ता गराएका हुन् । महामन्त्री खुला दुई पदका लागि आठजनाको उमेदवारी दर्ता भएको छ ।

महामन्त्री खुलातर्फ शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज, घिमिरे, अमरसिंह पुन, उदयशमसेर राणा र सन्तोष उपाध्यायले उमेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीमा खसआर्यतर्फ एक पदका लागि तीनजनाले मानोनयन दर्ता गराएका छन् ।

खसआर्यबाट सहमहामन्त्रीमा जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतले मनोनयन दर्ता गराएका छन् । आदिवासी जनजातिबाट सहमहामन्त्रीमा दुईजनाको मनोनयन दर्ता भएको छ । एक पदका लागि बहादुरसिंह लामा र तारामान गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

मधेसीबाट सहमहामन्त्रीमा आठजनाको मनोनयन दर्ता भएको छ । मधेसीतर्फ महेन्द्र यादव, अजय चौरासिया, नागिना यादव, किरण यादव, अभिसेक प्रताप साह, रामपल्टन साह, मनिष कुमार मिश्र र मुक्तकुमारी यादवले मनोनयन दर्ता गराएका छन् ।

दलित एक सहमहामन्त्रीका लागि चारजनाको मनोनयन दर्ता भएको छ । दलित सहमहामन्त्रीका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन् । थारुबाट तीनजनाको मनोनयन दर्ता भएको छ ।

थारुबाट सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले मनोनयन दर्ता गराएका छन् । अल्पसंख्यक÷अपांगताबाट तीनजनाले मनोनयन दर्ता गराएका छन । एक पदका लागि नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले मनोनयन दर्ता गराएका हुन् ।

मुस्लिमबाट तीनजनाको मनोनयन दर्ता भएको छ । एकपदका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानले मनोनयन दर्ता गराएका हुन् । खुलामा सातजनाको मनोनयन दर्ता भएको छ । अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

पिछडिएको क्षेत्रतर्फ पनि सातजनाको उमेदवारी परेको छ । एक पदका लागि कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले मनोनयन दर्ता गराएका हुन् । सहमहामन्त्री महिलामा दुईजनाको मनोनयन दर्ता भएको छ ।

महिला सहमहामन्त्रीमा एक पदका लागि नानु बस्तोला र प्रतिमा गौतमले मनोनयन दर्ता गराएका हुन् । सभापतिमा राठौर र खड्गीको उम्मेदवारी रहे पनि थापा निर्वाचित हुने निश्चित छ। निवर्तमान सभापति शेरबहादुर देउवाको असहमतिका बाबजुद गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाविरुद्ध राठौर र खड्गीको उम्मेदवारी राजनीतिक उपस्थिति जस्तो मात्र देखिन्छ।

१५ औँ महाधिवेशनमा सभापति लड्ने लामो तयारी गरेका नेता शेखर कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काले महाधिवेशन बहिष्कार गरेपछि थापा बिनाचुनौती सभापतिमा दोहोरिने पक्का भयो। महाधिवेशन बाहिर रहेका पूर्वउपसभापति खड्काले आफ्नो टिमलाई अहिले थापाकै नेतृत्वमा व्यवस्थापन गर्न खोजेको चर्चा कांग्रेस वृत्तमा छ।

कांग्रेसमा बलियो सांगठनिक पकड भएका बालकृष्ण खाँण पनि आफू निकट नेताको व्यवस्थापनमै व्यस्त देखिए। खड्का र खाँणका साझा मानिने नेताहरू सुरेन्द्र पाण्डे, रामहरि खतिवडा, महेन्द्र यादव, जीवन शाही लगायत पदाधिकारीका उम्मेदवार छन्।

१४ औँ महाधिवेशनमा उपसभापति निर्वाचित धनराज गुरुङ, उपसभापतिका प्रत्यासी डा चन्द्र भण्डारी, महामन्त्रीका प्रत्यासी डा मिनेन्द्र रिजाल उपसभापतिको उम्मेदवार छन् । समावेशी उपसभापतितर्फ चौधरी र मन्सुरबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

पछिल्लो समय उनीहरू दुवै जना सभापति थापाका विश्वासपत्र र बलिया सारथी हुन्। उद्योगपति चौधरी १४ औँ महाधिवेशन र विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए भने मन्सुर सहमहामन्त्री थिए। परियार १४ औँ महाधिवेशनमा दलितबाट सहमहामन्त्री बनेका थिए भने गुरुङ केन्द्रीय सदस्य थिइन्।

यादव र कर्ण भने अहिलेसम्म केन्द्रीय कार्यसमितिमा प्रवेश गरिसकेका छैनन्। नेविसंका पूर्वअध्यक्ष कर्ण युवा पंक्तिमा लोकप्रिय छन् भने यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन्। महामन्त्रीद्वय प्रदीप पौडेल र गुुरुराज घिमिरेले पनि थापाकै नेतृत्वमा १५ औँ महाधिवेशनबाट अगाडि बढ्ने नीति लिए।

महामन्त्री पौडेल, महर, राणा, घिमिरे र शर्माबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।  पौडेल र घिमिरे महामन्त्रीमा दोहोरिने दौडमा छन्। १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित पौडेल विशेष महाधिवेशनबाट चुनिएका थिए। नेविसंघका पूर्व अध्यक्ष पौडेल महामन्त्रीमा बलिया उम्मेदवार हुन्।

यस्तै नेविसंघका पूर्वअध्यक्ष घिमिरेलाई सुनिल शर्माले चुनौती दिएका छन्। मोरङ निवासी घिमिरेलाई सोही जिल्लाका शर्माको बलियो उपस्थितिका कारण कोसी प्रदेशको मत काटिने चिन्ता छ। महर, राणा र शर्मा पौडेल र घिमिरेबाट महामन्त्री पद खोस्ने रणनीतिमा छन्।

मेडिकल व्यवसायी समेत रहेका शर्मा महामन्त्रीका उम्मेदवारमध्ये सामाजिक सञ्चालमा धेरै चर्चा हुने पात्रका रूपमा चिनिन्छन्। उपसभापति र महामन्त्रीमा सभापति थापा र वरिष्ठ उपसभापति शर्माको आन्तरिक हस्तक्षेप नभए महामन्त्रीमा अप्रत्यासित नतिजा आउन सक्ने कतिपय प्रतिनिधिको अड्कल छ।

सभापति थापाले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गरिएको बताएका छन् । निर्वाचन तालिका अनुशार आज असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

आज दिनभर प्रचारप्रसार गर्न पाइने छ । असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ । मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ ।

कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाइने भएको छ । खुलामञ्चमा नै भ्रातृ एवम् शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गर्ने छन् । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन । सोमबारको बन्दसत्रबाट पारित संशोधित विधान अनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् ।

उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै, महामन्त्री ३ जना रहने छन् । जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन् । कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना हुनेछन् । प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन् ।

केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहनेछन् । महिला खुलामा १५ जना हुनेछन् । हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन् । साथै, उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ । यस्तै, दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन् ।

जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन्, भने खस आर्यबार्ट ८ महिलासहित १८ जना हुनेछन् । मधेशीतर्फ पाँच महिलासहित १३ जना हुनेछन् । यस्तै, जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन् । पिछडिएको बर्गबाट ३ जना हुनेछन् ।

थारूबाट २ महिलासहित ६ जना रहेका छन् । श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना रहेका छन् । साथै, सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहनेछन् । यस्तै, अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन् । केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनीत गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top