२१ असोज , काठमाण्डौ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेकाले आज देशका ५ प्रदेशमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुरीसहित असिना पानी पर्ने पूर्वानुमान छ ।
देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक–दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।
देशको हिमाली भूभागको थोरै स्थानमा र पहाडी भूभागको केही स्थानमा चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति कोशी प्रदेश सबै भूभाग तथा देशको हिमाली र पहाडी भूभाग साधरणतया बादल लाग्ने छ।
देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा बिहानीपख कुहिरो पनि सम्भावना छ । देशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । देशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा कास्कीको मालेपाटन केन्द्रमा ३४.४ मिलिमिटर भएको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ६ः३८ बजे जनाएको छ। मौसम महाशाखाका अनुसार उक्त अविधमा कोसी, बगमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भाग र बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैले विशेषगरी कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिई आवश्यक तयारी तथा योजना बनाउन महाशाखाले अनुरोध गरेको छ ।
अब देशभर संक्रमण फैलिएको स्क्रब टाइफस सम्बन्धी खबर । यो सङ्क्रमण ७४ जिल्लामा फैलिएको स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । १० हजार २ सय १० जना मानिसमा स्क्रब टाइफसको सङ्क्रमण समेत देखिएको छ ।
महाशाखाका अनुसार सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । सङ्क्रमण र मृत्युको प्रदेशगत तथा जिल्लागत वितरण अनुसार लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ लुम्बिनी प्रदेशमा दुई हजार ८४८ जना सङ्क्रमित भएका छन् ।
त्यस्तै सुदूरपश्चिममा २ हजार १३ जना, गण्डकीमा १,८९५ जना, बागमतीमा एक हजार २८४ जना, कोशीमा १ हजार १६० जना, कर्णालीमा ७५१ जना र मधेस प्रदेशमा २५९ जना सङ्क्रमित रहेका छन् ।
जोखिम बढेसँगै स्वास्थ्य महाशाखाले झाडी, घाँस, खेतबारी तथा जङ्गलमा जाँदा सावधानी अपनाउन, पूरै शरीर ढाक्ने लुगा र बुट लगाउन तथा घर फर्किएपछि मनतातो पानी र साबुनले नुहाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
अचानक तीव्र ज्वरो आउने, टाउको र शरीर दुख्ने, अत्यधिक थकान हुने वा शरीरमा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन र थप जानकारीका लागि महाशाखाको कल सेन्टर १११५ मा सम्पर्क गर्न सुझाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र का अनुशार स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ।
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ। मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइट को टोकाइबाट मानिसमा सर्दछ।
यो रोग मानिसबाट मानिसमा सर्दैन। स्क्रब टाइफसका लक्षणहरुमा । धेरै ज्वरो आउनु (काम ज्वरो समेत आउन सक्छ) ,धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु रहेका छन् ।
स्क्रब टाइफसबाट बच्न खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइँ सम्म बुट लगाउने गर्नुपर्दछ । घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने गर्नुपर्दछ ।
सम्भव भएसम्म भुइँमा नबस्ने। खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने गर्नुपर्दछ । मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने तथा स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ । औषधी सेवनपछि यो रोग निको हुन्छ।



