२४ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा सभापति पदमा विजयी भएसंगै उनले बधाई तथा शुभकामना प्राप्त गर्ने क्रम जारी छ । थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । कुल ७ हजार ३९ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ । नवनिर्वाचित सभापति थापाले ९३.८८ प्रतिशत प्राप्त गरेका हुन् । खड्गीले भने ५.३५ प्रतिशत प्राप्त गर्दा ०.७७ प्रतिशत मत बदर भएको हो ।

थापाले खड्गीभन्दा ६,२०९ मत बढी प्राप्त गरी भारी मतान्तरले विजय हासिल गरेका हुन् । यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिको असहमतिबिच विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यही कार्यसमितिले १५औँ महाधिवेशन गराएको हो ।
बाँकी सबै पदाधिकारीको मतगणना अहिले जारी छ । यसैबीच गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिएका छन् । उनले यो यात्रा सुरु भएको तर लक्ष्य प्राप्त गर्न बाँकी रहेको बताउँदै शुभकामना दिएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन!’ शर्माले देशलाई गन्तव्यमा पु¥याउन धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै अफ्ठ्याराहरूको संयमपूर्वक सामना गर्नुपर्ने बताएका छन् ।
उनले भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका गौरवलाई पछ्याउँदै कमजोरी सच्याउनुपर्ने र इतिहासप्रति इमानदार रहँदै समुन्नति सम्भव तुल्याउनुपर्ने बताएका छन् । ‘हामीले सक्नुपर्छ र सक्नेछौँ,’ शर्माले लेखेका छन्, उनले गगन थापालाई सम्बोधन गर्दै ‘लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना!’ भन्दै बधाई दिएका छन् ।
यता सभापति पदमा पराजित श्यामकृष्ण खड्गीले पनि बहुमतले विजयी गगन थापालाई शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले विशेष महाधिवेशन र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न भएका असमझदारी र विभाजनका भावनालाई अन्त्य गर्दै, छुट्टै महाधिवेशनको बाटोमा रहेकालाई समेत संवाद, सहमति र सम्मानका साथ एकताको मूलधारमा समेट्नु आजको प्रमुख आवश्यकता रहेको उल्लेख गरेका छन् ।
उनी भन्छन– ’गगनजी, अब तपाईँ सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । तपाईंलाई मत दिने र नदिने, फरक विचार र धारमा रहनुभएका सबै साथीहरूलाई समेटेर अघि बढ्नुहोस्। कसैले आफूलाई पराइ महसुस गर्नु नपरोस्, सबैले पार्टीभित्र आफ्नो सम्मान र अपनत्व पाएको अनुभूति गर्न सकून्।’
’नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र होइन, फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुने उनले उल्लेख गरेका छन् । मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन। प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन’, उनले भनेका छन् ।
यता नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । भट्टराईले आशा, भरोसा र विश्वासको जगमा दुवै नेता नेतृत्वमा आएको उल्लेख गर्दै बधाई तथा शुभकामना दिएका हुन्।
साथै, उनले जनताको विश्वास टुट्न नदिन आग्रह पनि गरेका छन् । भट्टराई भान्छन् बधाई तथा शुभकामना! नेपाली कांग्रेसका नवनिर्वाचित सभापति र वरिष्ठ उपसभापति प्रिय साथि गगनजी र विश्वजीलाई,’ उनले सामाजिक सञ्जालमा लेखे, ’आशा, भरोसा र विश्वासको जगमा तपाईंहरु नेतृत्वमा आउनु भएको छ, टुट्न दिनुहुने छैन!’
उनले लोकतन्त्र र संविधानको रक्षा, विकास तथा कार्यान्वयनमा सहकार्य र स्वस्थ राजनीतिक प्रतिस्पर्धाको फराकिलो मार्गमा भेट हुने विश्वास व्यक्त गरेका छन् । भट्टराईले व्यक्ति र स्वार्थ केन्द्रित दूषित सत्ता गठबन्धनको ‘म्युजिकल चियर’बाट मुलुकलाई मुक्त गर्नुपर्ने बताएका छन्। सम्मानित तथा मर्यादित राजनीतिक संस्कृति निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक आयोजना गरेकोमा भट्टराईले समस्त कांग्रेसजनलाई बधाई दिएका छन्। ’लोकतन्त्र र संविधानको रक्षा, विकास र कार्यान्वयनमा सहकार्य अनि स्वस्थ राजनीतिक प्रतिस्पर्धाको सुखद र फराकिलो राजमार्गमा हाम्रो भेट हुनेछ। तपाईं÷हाम्रो साझा प्रयत्नले व्यक्ति र स्वार्थ केन्द्रित दुषित सत्ता गठबन्धनको अत्यासलाग्दो म्युजिकल चियरबाट मुलुकलाई मुक्त गर्नुपर्ने छ। सम्मानित तथा मर्यादित राजनीतिक संस्कृति निर्माण गर्नुछ,’ उनले भने, ’१५ औ महाधिवेशनको सफल आयोजनाका लागि समस्त कांग्रेसजनलाई बधाई छ।’
सभापतिसंगै कांग्रेस कार्यसमितिका २३१ पदका लागि ८११ जनाले उम्मेदवारी दिएकामा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
अन्य पदमा भने मतगणना जारी छ । यससंगै गगन थापाले आगामी चार वर्ष नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने मौका पाएका हुन् । विद्यार्थी राजनीतिबाट स्थापित थापा जेनजी आन्दोलनपछि नाटकीय रूपमा नेपालको सबैभन्दा पुरानो पार्टीको नेतृत्वमा पुग्न सफल भएका हुन् ।
सक्रिय राजनीतिमा लागेको ३५ वर्षमा उनी नेतृत्वमा त पुगे नै, गगन पार्टीको निर्विकल्प र शक्तिशाली नेताका रूपमा पनि स्थापित भएका छन् । २०४६ सालको जनआन्दोलनताका गगनले बाल कांग्रेसको क्रियाशील सदस्यता लिएर राजनीतिक पाइला चालेका थिए ।
पछि नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । २०५३ मा त्रिचन्द्र स्ववियुमा सचिव निर्वाचित २०५५ मा स्ववियु सभापति भए । त्यसपछि नेविसंघको राजनीतिमा थापाले छलाङ मारे। २०५७ मा नेविसंघ उपसभापति बनेका थापा २०५९ मा महामन्त्री भए ।
तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित सरकार अपदस्त गरी शासन सत्ता हातमा लिएका बेला दुई वर्ष थापाले नेविसंघको महामन्त्री भएर काम गरे । पहिलो संविधानसभा चुनावमा समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए ।
सोही समयमा कृषि तथा जलस्रोत समितिको सभापति बनेका उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ मा प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बने । ०७४ को चुनावमा तत्कालीन वाम गठबन्धनको लहर आउँदा उनी काठमाडौँ–४ बाट निर्वाचित भए ।
२०६७ मा भएको कांग्रेसको १२ औँ महाधिवेशनमा लोकप्रिय मत पाएर केन्द्रीय सदस्य बनेका थापा २०७२ मा भएको १३ औँ महाधिवेशनमा महामन्त्रीका लागि मैदानमा उत्रिए । तत्कालीन कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उठेका उनी तेस्रो भए ।
बीपी कोइराला पुत्र शशांक कोइराला महामन्त्री बन्दा थापाकै ससुरा पनि महामन्त्रीको प्रतिस्पर्धी थिए । २०७८ मा भएको १४ औँ महाधिवेशनमा तत्कालीन शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर मैदानमा उत्रिएका थापा दुई तिहाइ मतसहित विजयी भए ।
सोही महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा उनका भरपर्दा सारथी बन्न पुगे । देउवा नेतृत्वको कार्यसमितिमा चार वर्ष एक–अर्काका परिपूरक जस्तै देखिएका थापा र शर्माले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा जबरजस्त रूपमा उठाइहे ।
गतवर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि उक्त मुद्दा उठाएर समयमै नियमित महाधिवेशन नत्र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चल्यो । तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा समूहको अगुवाइमा गत वर्ष पुस २७–३१ मा विशेष महाधिवेशन भयो ।
तत्कालीन सभापति देउवाको असहमतिका बाबजुद गरिएको विशेष महाधिवेशनबाट थापाले कांग्रेस नेतृत्व पाए । उनकै नेतृत्वमा १५ औँ महाधिवेशनसम्म आइपुग्दा पार्टीको ठूलो पंक्ति एकाकार भइसकेको छ ।
१४ औँ महाधिवेशनबाट निर्वाचित अधिकांश जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको दुई तिहाइ शक्ति थापाको नेतृत्वमा एकाकार हुन पुगेको छ । यद्यपि देउवा समूहले असन्तुष्ट २०–२५ प्रतिशत कार्यकतालाई संगठित गरी समानान्तर महाधिवेशन गरिरहेको छ ।
तर १५ औँ महाधिवेशनबाट सभापति थापाले पार्टीभित्र राजनीतिक र कानुनी लडाइँ बलियो बनाएको अवस्था छ । अब थापासामु चुनौतीका चाङ छन् । चुनावमा गुमाएको कांग्रेसको साख फर्काउनेदेखि पार्टी मिलाउनुपर्ने चुनौती थापाका अगाडि पहाड बनेर उभिएका छन् ।
अर्कातिर आधिकारिताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म कांग्रेस थापाको कि देउवाको भन्ने अन्योल कायमै रहनेछ । अर्कातिर कांग्रेस केन्द्रदेखि वडासम्म थापा र देउवाका नाममा विभाजित भएको छ ।
सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म थापासँग वार्ता गर्न इच्छा नदेखाएका देउवाकै निर्देशनमा समानान्तर महाधिवेशन भइरहेको छ । सर्वोच्चको अन्तिम फैसलापछि दुई वटा महाधिवेशनलाई एकीकृत गर्नुपर्ने चुनौती थापालाई छ।
कांग्रेसका करिब २५ प्रतिशत कार्यकर्ताले थापाको नेतृत्व अस्वीकार गरेको अवस्था छ । पूर्वसभापति देउवा र विरासतधारी नेतालाई स–सम्मान गोलबद्ध गर्नुपर्ने चुनौती छ । यसो नगरे ती एक चौथाइ कार्यकर्ता नयाँ यात्राका लागि तयार देखिएका छन् ।
यता गगन–विश्वले महाधिवेशनमा युवा परिचालन उल्लेख्य संख्यामा गरेका छन् । जसले अबका निर्वाचनमा रास्वपालाई यही शक्तिले चुनौती दिने आशा कांग्रेसका कार्यकर्तामा बढेको छ । आम कार्यकर्ताको यो विश्वास र अपेक्षा सभापति गगनका लागि बल हो ।
अहिले ७५३ पालिकामध्ये ३३२ पालिकाको नेतृत्व गरी कांग्रेस पहिलो शक्तिका रूपमा स्थापित छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय निर्वाचनमा ल्याएको सुनामी स्थानीय निर्वाचनमा रोक्न थापालाई चुनौती छ ।
स्थानीय चुनावमा कांग्रेसको अवस्था खस्किए पार्टीभित्र र बाहिर थापामाथि प्रश्न उठ्ने पक्का छ । यस्तै सभापति थापालाई महाधिवेशनबाट निर्वाचित २९६ सदस्यीय केन्द्रीय कार्यसमिति सम्हाल्न हम्मेहम्मे देखिन्छ । पदाधिकारीको संख्या मात्रै २५ पुगेको छ। नेता व्यवस्थापनका लागि महाधिवेशनमा बढाइएका पदले ‘पार्टीमा बेथिति निम्याउने’ आशंका बढिरहेको छ ।



