१० कार्तिक , काठमाण्डौ ।
सुनसरीको देवानगंज गाउँपालिकाका नागरिकले मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने ।
गाउँपालिकाका बासिन्दालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर ।

सम्झौताअनुसार गाउँपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले अस्पतालका विभिन्न सेवामा सहुलियत पाउने ।
कार्तिक ९ गते भएको सम्झौतामा गाउँपालिकाका उपप्रमुख कुमारी विभा यादव र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनका सञ्चालक तथा प्रशासन प्रमुख अनिताकुमारी गच्छदारबीच हस्ताक्षर ।


छुटअन्तर्गत बहिरंग सेवा (ओपीडी), आकस्मिक सेवा, बेड शुल्क, प्रयोगशाला परीक्षण, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त सेवा, सीटी स्क्यान तथा एमआरआईलगायतका सेवा उपलब्ध हुने ।
प्रारम्भिक रूपमा एक वर्षका लागि लागू हुने सम्झौता आपसी सहमतिमा नवीकरण गर्न सकिने ।
मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित २०० शय्याको अस्पतालमा २४ सै घण्टा आकस्मिक तथा ट्रमा केयर, आईसीयू, एनआईसीयू, एचडीसीयू र सीसीयूलगायतका सेवा सञ्चालनमा ।
अस्पतालले विभिन्न जटिल शल्यक्रिया तथा विशेषज्ञ उपचार सेवा पनि प्रदान गर्दै आएको छ।



