माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेले मागे माफी

१२ कात्तिक २०८३, बिहीबार
Share this
696shares

१२ कार्तिक,काठमाण्डौ ।

Advertisement

चीनका संस्थापक नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको टिप्पणीप्रति फुटबल स्टार, फ्रान्सका कप्तान किलियन एमबाप्पेले माफी मागेका छन् । उनको टिप्पणीपछि चीनका तीन कम्पनीले व्यावसायिक सम्झौता अन्त्य गर्ने घोषणा गरेका छन् भने चिनियाँ फुटबल सङ्घ र सरकारी सञ्चारमाध्यमले पनि आपत्ति जनाएका छन् ।

त्यसपछि एमबाप्पेले मङ्गलबार वक्तव्य जारी गर्दै आफ्नो टिप्पणी गलत भएको र त्यसले चीन तथा विश्वभरका चिनियाँ समुदायका मानिसको भावनामा चोट पु¥याएको स्वीकार गरेका थिए । उनले चिनियाँ जनता र उनीहरूको इतिहासप्रति सम्मान रहेको बताउँदै माफी मागेका हुन् ।

Advertisement

पेय पदार्थ उत्पादक डोङपेङ, दुग्ध कम्पनी मेङनियू र चीज उत्पादक मिल्कग्राउन्डले उनीसँगको सम्झौता अन्त्य गरिरहेका छन् । फ्रान्सेली अनलाइन कार्यक्रम ‘द ब्रिज’ मा प्रसारित एउटा भिडियोमा एमबाप्पेले आफ्नो मनपर्ने मीमबारे बोल्दा माओलाई चिनियाँ तानाशाहका रूपमा उल्लेख गरेका थिए ।

यता चाइना फुटबल एसोसिएसनले स्पेनिस क्लब रियल म्याड्रिड र एमबाप्पे दुवैलाई सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको थियो । चाइना मिडिया ग्रुपले उनी सहभागी खेलको प्रसारण रोक्नुका साथै विज्ञापन हटाएको जनाएको छ ।

Advertisement

ला लिगाले चिनियाँ समर्थकप्रति खेद व्यक्त गर्दै टिप्पणी एमबाप्पेको व्यक्तिगत धारणा भएको स्पष्ट पारेको छ । ला लिगाका अध्यक्ष जेभियर तेबासले चीनसँगको व्यावसायिक साझेदारी जोगाउन चिनियाँ राजदूतसँग छलफल गर्ने बताए।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चिनियाँ जनताको भावनामा चोट पु¥याउने व्यवहारले व्यापक विरोध सामना गर्नुपर्ने बताए । चिनियाँ सामाजिक सञ्जाल रेडनोटले पनि एमबाप्पेसँग सम्बन्धित प्रचार सामग्री हटाउने जनाएको छ।

वेइबोमा उनीसँगको साझेदारी अन्त्य गर्न माग गर्दै ह्यासट्याग लोकप्रिय बनेका छन्। केही प्रयोगकर्ताले उनको बहिष्कार गर्नुपर्ने मागसमेत गरेका छन् । चीनमा विज्ञापनमा नियमित देखिँदै आएका एमबाप्पेको घटनाले विदेशी खेलाडीका सार्वजनिक टिप्पणीले व्यावसायिक सम्बन्धमा पार्न सक्ने प्रभाव देखाएको छ।

सन् २०१९ मा ह्युस्टन रकेटका तत्कालीन महाप्रबन्धक डेरिल मोरेले हङकङका सरकारविरोधी प्रदर्शनकारीलाई समर्थन गरेपछि चिनियाँ सरकारी टेलिभिजनले एनबीए खेल प्रसारण रोकेको थियो । अहिले फ्रान्सेली स्ट्राइकरले चीनका पूर्वनेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेपछि सिर्जना भएको तीव्र आक्रोशलाई शान्त पार्न स्पेनिस फुटबल क्लब रियल मड्रिडले चिनियाँ जनतासँग औपचारिक माफी माग्नु परेको हो ।

तर एम्बाप्पे र स्पेनिस फुटबल लिग (ला लिगा) ले माफी मागिसक्दा पनि चीनमा आक्रोश कम नभएपछि ला लिगाका अध्यक्ष हाभियर तेबासले क्राइसिस युनिट गठन गर्दै चिनियाँ राजदूत याओ जिङसँग भेटवार्ता गरेका हुन् ।

आधुनिक चीनका संस्थापक नेता माओत्सेतुङ, जसले सन् १९४९ देखि १९७६ मा आफ्नो निधन नभएसम्म चीनमा शासन गरेका थिए, उनीमाथि गरिने व्यंग्य वा टिप्पणीलाई चिनियाँ समाजमा गम्भीर अपराधका रूपमा हेरिन्छ।

यो विवादले आकर्षक चिनियाँ बजारमा खेलाडी र ब्रान्डहरूले भोग्नुपर्ने सम्भावित वित्तीय जोखिमलाई पुनः उजागर गरिदिएको छ । रियल मड्रिडले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा खेलाडी किलिएन एम्बाप्पेका हालैका शब्दहरूका कारण पर्न गएको असुविधाका लागि रियल मड्रिड चिनियाँ जनतासमक्ष माफी माग्न चाहन्छ। हाम्रो क्लब चीन, यसको इतिहास, संस्कृति र नागरिकका साथै रियल मड्रिडलाई माया गर्ने करोडौं चिनियाँ समर्थकहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ।’

यता यस विवादका कारण चीनको सरकारी प्रसारण प्लेटफर्म ‘मिगु’ ले आउँदो आइतबार हुने रियल मड्रिड र रेसिङ सेन्टेन्डरबीचको ला लिगा खेल प्रसारण नगर्ने निर्णय गरेको छ। टेलिभिजन प्रसारणमा रोक र वित्तीय घाटाको त्रास‘मिगु’ ले यस साता ला लिगाका १० मध्ये ९ वटा खेलहरू प्रसारण गर्ने तालिका सार्वजनिक गरे पनि रियल मड्रिडको खेललाई मात्र सूचीबाट हटाएको छ ।

विवादले उग्ररूप लिएपछि ला लिगाले तुरुन्तै क्राइसिस युनिट गठन गरी रियल मड्रिडसँग सम्पर्क बढाएको हो । स्पेनिस फुटबलभित्रको शक्ति संघर्ष र राजनीतिक खिचातानीका कारण ला लिगा अध्यक्ष तेबास र रियल मड्रिड क्लबबीच लामो समयदेखि सम्बन्ध चिसिएको थियो, जहाँ भर्खरै मात्र रियल मड्रिडले तेबासको राजीनामा समेत मागेको थियो।

तर, एम्बाप्पेको टिप्पणीले स्पेनिस फुटबललाई पर्न सक्ने अल्पकालीन र दीर्घकालीन ठूलो आर्थिक क्षतिलाई मध्यनजर गर्दै दुवै पक्षले आफ्ना मतभेद पन्छाएर एक ठाउँमा उभिने निर्णय गरेका छन् । रियलको माफीपछि ला लिगा अध्यक्ष तेबास स्पेनिस फुटबलको आर्थिक नोक्सानी रोक्न आफैं चीन भ्रमण गर्ने तयारीमा रहेको बताइएको छ।

चिनियाँ सरकारी टेलिभिजनले थप औपचारिक पहलको प्रतीक्षा गरिरहेका बेला ला लिगाले पनि बेइजिङसँगको संस्थागत सम्बन्ध सुदृढ बनाउन गम्भीर विचार गरिरहेको छ । एक फ्रान्सेली पोडकास्टको भिडियोमा एम्बाप्पेले आफ्नो अनुहार कसैले ‘चिनियाँ तानाशाह’को तस्बिरमा जोडेर बनाएको ट्रोल÷मिमबारे जिस्कँदै कुरा गरेका थिए। पोडकास्ट अहिले हटाइसकिएको छ।

एम्बाप्पेसँग आफू खेल्ने टोलीका निर्णयहरूमा ठूलो प्रभाव पार्ने क्षमता रहेको भन्दै समर्थकहरूले यसअघि पनि उनको अनुहार विभिन्न सैन्य तथा राजनीतिक नेताहरूको तस्बिरमा राखेर मिम बनाउने गरेका थिए। युरोपेली सञ्चारमाध्यममा समेत उनलाई व्यंग्यात्मक रूपमा ‘द डिक्टेटर’ (तानाशाह) उपनाम दिने गरिएको थियो ।

यसैबीच, एम्बाप्पेको माफीबारे चीनको धारणा सोधिएका बेला चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, ‘सम्बन्धित व्यक्तिले मागेको माफीलाई हामीले गम्भीरताका साथ लिएका छौं।’ चीनका पूर्व नेतामाथि व्यंग्य गर्नु वा उनलाई तानाशाहका रूपमा चित्रण गर्नु त्यहाँ अझै पनि निषेधित मानिन्छ । एमबाप्पेले एक वक्तव्य जारी गर्दै भनेका छन्, “मेरो टिप्पणी विचारहीन थियो । यसले चीन तथा विश्वभरका चिनियाँ समुदायका धेरै मानिसहरूको भावनामा ठेस पु¥याएको कुरा मैले बुझेको छु ।”

उनले अगाडि भनेका छन्, “मेरा शब्दहरूले दुखी बनाएका सबैजनासँग म माफी माग्छु । मेरो नियत बिल्कुलै त्यस्तो थिएन । म चिनियाँ जनता र उनीहरूको इतिहासप्रति गहिरो सम्मान गर्दछु । म साँचो हृदयले क्षमाप्रार्थी छु ।”

यसअघि पनि एमबाप्पेको टोलीका साथीहरूप्रतिको प्रभाव र क्लबका निर्णयहरूलाई असर पार्न सक्ने क्षमतालाई लिएर अनलाइन मिमहरूमा उनलाई निरंकुश नेताका रूपमा चित्रण गर्ने गरिएको थियो । युरोपेली सञ्चारमाध्यमहरूमा एमबाप्पेलाई द डिक्टेटर (तानाशाह) उपनाम दिइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top