२६ कार्तिक , काठमाण्डौ ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी)ले ब्यालिस्टिक र क्रुज मिसाइल तथा तिनलाई प्रक्षेपण गर्ने प्रणाली राखिएको नयाँ भूमिगत ‘मिसाइल सिटी’को भिडियो सार्वजनिक गरेको छ । आईआरजीसीसँग सम्बन्धित समाचार संस्था तस्नीमले मंगलबार उक्त भूमिगत सैन्य संरचनाका तस्बिर तथा भिडियो सार्वजनिक गरेको हो ।
यद्यपि, यसको वास्तविक स्थान, त्यहाँ भण्डारण गरिएका मिसाइलको संख्या र प्रकारबारे खुलाइएको छैन । टाइम्स अफ इजरायल र गल्फ न्युजका अनुसार, इरानका करिब ९० प्रतिशत मिसाइल भण्डारण केन्द्र तथा भूमिगत सुरुङहरू अझै सञ्चालनमा रहेको दाबी गरिएको छ ।

हवाई आक्रमणका बाबजुद ती सैन्य संरचना सक्रिय रहेको इरानको भनाइ छ । उक्त भूमिगत सैन्य संरचनाको उद्घाटन कार्यक्रममा इरानका चिफ अफ स्टाफ मेजर जनरल अली अब्दुल्लाही र आईआरजीसीका कमान्डर ब्रिगेडियर जनरल माजिद मौसवी सहभागी भएका थिए ।
सार्वजनिक भिडियोमा भूमिगत सुरुङ तथा करिडोरमा विभिन्न प्रकारका मिसाइल र सैन्य उपकरणहरू राखिएको देखिन्छ । अमेरिकाले इरानमाथि प्रतिबन्ध जारी राखेको र नौसैनिक नाकाबन्दीसमेत गरिरहेको समयमा तेहरानले उक्त भिडियो सार्वजनिक गरेको हो ।
भूमिगत मिसाइल सिटी सार्वजनिक गरेर इरानले सैन्य आक्रमणका बाबजुद आफ्नो प्रतिरक्षा तथा प्रत्याक्रमण क्षमता कायम रहेको सन्देश दिन खोजेको छ । भूमिगत संरचनामा मिसाइल उत्पादन, भण्डारण र प्रक्षेपणको व्यवस्था गरेर इरानले आफ्ना सैन्य क्षमतालाई हवाई आक्रमणबाट सुरक्षित राख्ने रणनीति अपनाएको छ ।
यसका लागि उसले विभिन्न स्थानमा सुरुङ तथा भूमिगत सैन्य संरचना निर्माण गरेको छ । कार्यक्रमका क्रममा आईआरजीसीका कमान्डर माजिद मौसवीले आवश्यक परे इरानले आफ्ना शत्रुका सैन्य ठेगानालाई क्षेत्रभरि र त्यसभन्दा बाहिरसमेत निशाना बनाउन सक्ने चेतावनी दिएका छन् ।
अमेरिका र इजरायलका आक्रमणपछि इरानसँग कति मिसाइल बाँकी छन् र तीमध्ये कति भूमिगत भण्डारमा सुरक्षित छन् भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन । विभिन्न निकायका अनुमान भने फरक–फरक छन् । अमेरिकी सेन्ट्रल कमान्डले सन् २०२२ मा इरानसँग तीन हजारभन्दा बढी ब्यालिस्टिक मिसाइल रहेको अनुमान गरेको थियो ।
लामो समयसम्म यही तथ्यांकलाई इरानको मिसाइल भण्डारको आधार मानिएको थियो । सार्वजनिक विवरणअनुसार, हाल इरानसँग दुई हजारभन्दा कम ब्यालिस्टिक मिसाइल हुन सक्ने अनुमान छ । यस वर्षको सुरुवातमा इजरायली सेनाले इरानसँग करिब दुई हजार पाँच सय मिसाइल रहेको र उसले हरेक महिना दर्जनौँ नयाँ मिसाइल उत्पादन गरिरहेको बताएको थियो ।
रोयटर्सका अनुसार, युद्ध सुरु हुनुअघि इरानसँग करिब दुई हजार पाँच सय मिसाइल थिए । तीमध्ये अहिले एक हजारदेखि १५ सयसम्म प्रयोग गर्न सकिने अवस्थामा रहेको अनुमान गरिएको छ । आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीका अनुसार, इरानले मिसाइल तथा ड्रोन उत्पादन गर्ने कारखानाहरूलाई जमिनमाथिका संरचनाबाट भूमिगत केन्द्रहरूमा सारेको छ ।
उनले ती संरचनालाई हतियार भण्डारण गर्ने स्थान मात्र नभई ‘मिसाइल निर्माणका सहर’ को संज्ञा दिएका छन् । मोहेबीका अनुसार, इरानसँग आफ्नै हतियार उत्पादन प्रविधि भएकाले भारी बमबारीका बाबजुद मिसाइल तथा ड्रोन निर्माण जारी राख्न सम्भव छ । आईआरजीसीको एरोस्पेस फोर्सले इरानको मिसाइल तथा ड्रोन कार्यक्रम सञ्चालन गर्छ ।
भूमिगत कारखाना र भण्डारण केन्द्र निर्माण गर्नुको मुख्य उद्देश्य हवाई आक्रमणबाट सैन्य संरचनालाई जोगाउनु तथा आक्रमणपछि पनि हतियार उत्पादन र प्रक्षेपण क्षमता कायम राख्नु हो । यसैबीच, इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्।
अल जजिरासँगको विशेष अन्तर्वार्तामा उनले आठ महिना लामो द्वन्द्व अन्त्य गर्न तेहरानले अघि सारेको सातबुँदे प्रस्तावअन्तर्गत इरान र ओमानबिच उक्त महत्त्वपूर्ण जलमार्गको रेखदेख गर्ने समझदारी बनेको जानकारी दिएका हुन् । अन्तर्वार्तामा गालिबफले भने, ‘त्यहाँ कुनै अन्तर्राष्ट्रिय जलक्षेत्र छैन र सन् १९८२ को संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि यस जलमार्गमा लागु हुँदैन।’
स्ट्रेट अफ होर्मुजभित्रका नियमहरू यसको सिमाना जोडिएका दुई तटीय राष्ट्रहरूको कानुनअनुसार सञ्चालन हुने उनले स्पष्ट पारे। गालिबफले कतारी मध्यस्थकर्तामार्फत इरानले अमेरिकालाई शान्ति वार्ताका सात सर्तहरूसहित स्पष्ट जवाफ पठाएको बताउँदै अब आधिकारिक प्रतिक्रियाको प्रतीक्षामा रहेको उल्लेख गरे। उनले भने, ‘बल अब अमेरिकाको कोर्टमा छ।’
प्रमुख वार्ताकार गालिबफका अनुसार इरानका सर्तहरूमा अमेरिकाले लगाएको सामुद्रिक नाकाबन्दी र प्रतिबन्धहरू फुकुवा गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने, सबै मोर्चामा भइरहेको लडाइँ रोकिनुपर्ने र युद्ध अन्त्य भएको स्पष्ट घोषणा गरिनुपर्ने विषय समावेश छन्।
गत जुन महिनामा हस्ताक्षरित इस्लामाबाद समझदारीपत्रको हिस्सा रहेका यी मागहरू अमेरिकासँग वार्तामा बस्नुअघि नै कार्यान्वयन हुन आवश्यक रहेको उनले बताए। गालिबफले भने, ‘यदि अमेरिकाले अनावश्यक माग नराखी र अविश्वास पैदा गर्ने व्यवहार नगरी सहमति भएका विषयमा मात्र आफूलाई सीमित राख्छ भने स्वाभाविक रूपमा सम्झौता सम्भव छ।’
सम्झौताको बाधक अमेरिकाप्रतिको अविश्वास नै रहेको उनको भनाइ छ। गालिबफले अमेरिकी अधिकारीहरूले मस्को भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तेहरानसँग प्रत्यक्ष वार्ताका लागि मध्यस्थता गरिदिन आग्रह गरेको खुलासा गरे। इरानविरुद्ध नयाँ अमेरिकी आक्रमण भएमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हार बेहोर्ने र आगामी जनवरीमा कार्यभार सम्हाल्ने नयाँ कङ्ग्रेसबाट राजनीतिक दबाब झेल्नुपर्ने चेतावनीसमेत उनले दिए।
इरान ‘न युद्ध न शान्ति’ को अवस्थाबाट बाहिर निस्कन दृढ रहेको बताउँदै उनले सैन्य क्षमतासहितको दिगो प्रतिरोधात्मक क्षमता विकास गर्नुपर्नेमा जोड दिए। साउदी समर्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारी सेना र ‘अन्सार अल्लाह’ भनेर चिनिने हुथी विद्रोही समूहबिच यमनमा जारी लडाइँमा ‘कसैले पनि हस्तक्षेप गर्न नहुने’ गालिबफले बताए।
उनले भने, ‘यदि यमन सरकार र साउदी अरेबिया दुवैले हाम्रो सहयोग मागेमा हामी उनीहरूको द्वन्द्व समाधान गर्न निश्चित रूपमा मद्दत गर्नेछौँ।’ साउदी अरेबियामाथि भएका शृङ्खलाबद्ध घातक आक्रमणपछि इरानले गत अक्टोबरमा पनि साउदी अरेबिया र यमनको हुथी समूहबिच वार्ताको सहजीकरण गर्ने प्रस्ताव राखेको थियो।
अर्कातर्फ, इरानबाट ज्यान मार्ने धम्की प्राप्त भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो सुरक्षालाई प्राथमिकता दिँदै वासिङ्टन क्षेत्रस्थित निजी निवास छाडेर अमेरिकी सैन्य बेसमा बसाइँ सरेका छन्। द न्युयोर्क टाइम्सले घटनाबारे जानकार तीन स्रोतलाई उद्धृत गर्दै यससम्बन्धी समाचार सार्वजनिक गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहनुभएका बेसेन्टले पछिल्लो समय इरानको अर्थतन्त्रलाई कमजोर बनाउने अमेरिकी आर्थिक अभियानको नेतृत्व गर्दै आएका छन्। इरानमाथि विभिन्न आर्थिक तथा वित्तीय प्रतिबन्ध लगाएर उसको आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने अमेरिकी रणनीतिमा उनको प्रमुख भूमिका रहेको छ।
अमेरिकाले इरानमाथि आर्थिक दबाब बढाउने उद्देश्यले प्रतिबन्धको विस्तृत सञ्जाल विस्तार गरेको छ। यस अभियानमार्फत इरानको वित्तीय स्रोत सीमित पार्ने र उसको आर्थिक क्षमतालाई कमजोर बनाउने प्रयास भइरहेको छ । यही भूमिकाका कारण बेसेन्ट इरानको सम्भावित निशानामा पर्नुभएको हुन सक्ने अमेरिकी अधिकारीहरूको आकलन रहेको समाचारमा उल्लेख छ।
अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख जे क्लेटनले गत महिना इरानले मध्यपूर्वसहित अन्य क्षेत्रमा रहेका अमेरिकी नागरिक तथा अधिकारीहरूलाई लक्षित गर्ने प्रयास उल्लेख्य रूपमा बढाएको चेतावनी दिएका थिए। द न्युयोर्क टाइम्सका अनुसार इरानबाट वर्तमान तथा पूर्वअमेरिकी अधिकारीहरूलाई लक्षित गर्ने योजनाहरू थप उन्नत चरणमा पुगेका छन् ।
यसमा अर्थमन्त्री बेसेन्टलाई लक्षित गरिएको सम्भावित गतिविधि पनि समावेश रहेको बताइएको छ। यद्यपि उनीमाथि रहेको सुरक्षा जोखिमको वास्तविक गम्भीरताबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । यस घटनापछि अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले बेसेन्ट इरानी सरकारको धम्कीबाट विचलित नहुने र इरानको अर्थतन्त्रमाथि दबाब कायम राख्ने अभियानमा प्रतिबद्ध रहेको बताए।
उनले निर्धारित जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारेका छन्। इरानसँग सम्बन्धित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अमेरिकाले मध्यपूर्वमा आफ्ना कूटनीतिक तथा सैन्य संरचनाको सुरक्षा व्यवस्था पनि कडा बनाउँदै आएको छ । गत महिना साउदी अरेबियास्थित अमेरिकी दूतावासका अत्यावश्यकबाहेकका कर्मचारी तथा उनीहरूका परिवारलाई सुरक्षा कारण देश छाड्न निर्देशन दिइएको थियो।
त्यस्तै, इरानबाट सम्भावित खतराको सूचना प्राप्त भएपछि अमेरिकी सेनाले बेलायतस्थित आफ्ना दुई सैन्य बेसबाट केही विमान अन्यत्र सारेको समाचार पनि सार्वजनिक भएको छ। अर्कोतर्फ, मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास भइरहेका छन् ।
अमेरिकी प्रशासनले इरानमाथि आर्थिक दबाब बढाएर सैन्य तनाव कम गर्ने रणनीतिलाई प्राथमिकता दिइरहेको जनाएको छ। तर इरानले सैंन्य दबाबमा कहिल्यै नझुक्ने बताउदै आएको छ । इरानले अमेरिकी अधिकारीहरूलाई लक्षित गरी आक्रमणको योजना बनाएको आरोपबारे स्वतन्त्र रूपमा पुष्टि भएका सबै विवरण सार्वजनिक भएका छैनन् ।
यस घटनाले अमेरिका र इरानबीचको तनावका बीच उच्चपदस्थ अमेरिकी अधिकारीहरूको सुरक्षालाई लिएर थप चिन्ता उत्पन्न गरेको छ।



