२ मंसिर, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो एसिया भ्रमणको पहिलो चरणअन्तर्गत मंगलबार फिलिपिन्सको राजधानी मनिला आइपुगेका छन् । उनको यो एसिया भ्रमणको अन्त्य चीनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने उच्चस्तरीय वार्तापछि हुनेछ । मनिलास्थित भिल्लामोर एयर बेसमा ‘एयर फोर्स वन’ बाट ओर्लँदा राष्ट्रपति ट्रम्पका लागि रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो । त्यस क्रममा सैन्य ब्यान्डले उनको मन पर्ने गीत ‘वाई.एम.सी.ए’. बजाएको थियो । विमानस्थलको स्वागतपछि उनी हेलिकप्टरमार्फत होटलतर्फ प्रस्थान गरेका थिए । आसियान सम्मेलनको क्रममा ट्रम्पले आफ्नो पहिलो बैठक ‘क्वाड’ साझेदार राष्ट्रहरूका नेताहरूसँग गरेका छन् । बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी (जसलाई ट्रम्पले ‘निकै कडा मानिस’ भनेका छन्), जापानकी सानाए ताकाइची र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सहभागी थिए । बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘हाम्रा देशहरू स्वतन्त्र, खुला, स्थिर र समृद्ध इन्डो–प्यासिफिकका चार स्तम्भ हुन् । हामीबीच उत्कृष्ट सम्बन्ध छ र हामी नजिकबाट समन्वय गर्छौँ…मेरो फोन सधैँ खुला छ ।’
दक्षिण–पूर्वी एसियाका थुप्रै मुलुकहरू राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफ र इरानसँगको युद्धका कारण प्रभावित भएका छन् । तर, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि आवश्यक पार्टपुर्जा निर्माण गर्ने यस क्षेत्रबाट अमेरिकातर्फको निर्यात भने एआई विस्तारका कारण गत वर्ष ३० प्रतिशतले वृद्धि भएको छ । अमेरिका यस क्षेत्रका थप देशहरूलाई चीनबाट टाढा राख्दै आफ्नो ‘प्याक्स सिलिका’ प्रविधि तथा एआई इकोसिस्टममा ल्याउन चाहन्छ । यद्यपि, यस क्षेत्रमा चीनको रहेको व्यापक प्रभावलाई ट्रम्पले फिलिपिन्समा बिताउने केही घण्टामै चुनौती दिन भने सहज छैन । मनिलामा रात बिताएपछि अमेरिकी राष्ट्रपति ट्रम्प एसिया–प्यासिफिक नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन चीनको शेन्जेनतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आणविक वार्ता गर्ने कार्यक्रम छ । पुटिनसँग छुट्टै वार्ताको सम्भावनाबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘यदि अवसर मिल्यो भने, म तयार छु ।’तीन आणविक शक्ति सम्पन्न मुलुकका नेताबीच हुन लागेको यो ऐतिहासिक भेटवार्ता सेन्जेनमा हुनेछ । ह्वाइट हाउसका अनुसार ट्रम्पले त्रिपक्षीय बैठकमा विश्वमा आणविक हतियारको विस्तार रोक्ने र आणविक हतियारको संख्या घटाउने विषय उठाउनेछन् । अमेरिका र रुससँग विश्वका सबैभन्दा ठूला आणविक हतियार भण्डार छन् । चीनको आणविक क्षमता पनि तीव्र रूपमा विस्तार भइरहेको अमेरिकी पक्षको दाबी छ । त्यसैले आणविक हतियार नियन्त्रणका विषयमा तीन देशबीच संवाद आवश्यक रहेको ट्रम्प प्रशासनको धारणा छ । तर चीन यस विषयमा अमेरिका र रुससँग प्रत्यक्ष छलफल गर्न त्यति इच्छुक देखिएको छैन । बेइजिङले आफ्नो आणविक हतियारको संख्या अमेरिका र रुसको तुलनामा निकै कम रहेको तर्क गर्दै आएको छ । अमेरिकी अधिकारीहरूले पनि यस बैठकबाट तत्काल कुनै ठोस सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् । उनीहरूका अनुसार यो तीन देशका नेताबीच आणविक हतियार नियन्त्रणबारे उच्चस्तरीय संवाद सुरु गर्ने प्रारम्भिक प्रयास हो । त्रिपक्षीय बैठकमा इरानसँग जोडिएको युद्ध र मध्यपूर्वको तनाव पनि छलफलको विषय बन्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । इरानसँगको युद्धमा अमेरिका, चीन र रुसका आ–आफ्ना रणनीतिक स्वार्थ छन् । यस्तो अवस्थामा तीन शक्तिका नेताबीच हुने छलफलले मध्यपूर्वको भविष्यमा पनि प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ । तर रुसले युक्रेनमा चलाइरहेको युद्ध भने यो त्रिपक्षीय बैठकको एजेन्डामा नरहने अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकाले युक्रेन युद्धका विषयमा रुससँग छुट्टै कूटनीतिक संवाद गरिरहेको र त्यसमा चीनलाई सहभागी गराउनु उपयुक्त नहुने तर्क गरेको छ । ट्रम्प र पुटिनबीच छुट्टै द्विपक्षीय भेटवार्ता पनि तय भएको छैन । उनीहरू सीसहितको त्रिपक्षीय बैठकमा सहभागी हुनेछन् । ट्रम्पको चीन भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष अमेरिका र चीनबीचको व्यापारिक सम्बन्ध हो । दुवै देशबीच केही समयअघि व्यापारिक तनाव कम गर्ने सहमति भए पनि प्रविधि, दुर्लभ खनिज र अमेरिकी चिप निर्यातका विषयमा मतभेद कायमै छन् । विशेषगरी चीनलाई उन्नत कृत्रिम बुद्धिमत्ता प्रविधिमा प्रयोग हुने अमेरिकी चिप उपलब्ध गराउने विषयमा वासिङ्टनले कडा नियन्त्रण लगाएको छ । चीनले त्यसको विरोध गर्दै आवश्यक प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ । ट्रम्प र सीबीचको द्विपक्षीय वार्तामा यसअघि भएका व्यापारिक सहमतिको कार्यान्वयन, दुर्लभ खनिजको आपूर्ति र प्रविधिसम्बन्धी विवादमा छलफल हुने अपेक्षा गरिएको छ । ट्रम्पसँगै टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क पनि चीन भ्रमणमा जानेछन् । तर उनी पुटिन र सीसँगको औपचारिक त्रिपक्षीय बैठकमा सहभागी हुने छैनन् ।
अमेरिका, चीन र रुस विश्व राजनीतिका तीन प्रभावशाली शक्ति हुन् । यी तीन मुलुकबीचको सम्बन्धले अन्तर्राष्ट्रिय सुरक्षा, व्यापार, ऊर्जा, प्रविधि र सैन्य सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ । युक्रेन युद्ध, मध्यपूर्वको द्वन्द्व, अमेरिका–चीन व्यापार प्रतिस्पर्धा र आणविक हतियारको विस्तारका कारण विश्व राजनीति पछिल्लो समय थप जटिल बनेको छ । यस्तो अवस्थामा तीन देशका शीर्ष नेताबीच एउटै टेबलमा हुने छलफललाई महत्त्वपूर्ण मानिएको छ । यद्यपि उनीहरूबीच तत्काल कुनै ठोस सहमति हुने निश्चित छैन । दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिनबीच भएको याल्टा सम्मेलनसँग पनि सेन्जेनको सम्भावित भेटवार्तासँग दाजेर हेर्न थालिएको छ ।तीनै नेताले विभिन्न अवसरमा एकअर्कासँग द्विपक्षीय भेटवार्ता गरे पनि अहिलेसम्म औपचारिक रूपमा तीन पक्षीय वार्ता भने गरेका छैनन्। बेइजिङले यस शिखर सम्मेलनलाई ‘विश्वव्यापी परिस्थितिलाई स्थिर बनाउने’ र विश्व शान्ति प्रवद्र्धन गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ। यद्यपि, विभिन्न रिपोर्टअनुसार तीनै नेता पूर्वनिर्धारित औपचारिक कार्यसूचीबिना नै वार्तामा सहभागी हुँदैछन्। खाडी क्षेत्रका अर्थतन्त्रका लागि यस सम्मेलनको सबैभन्दा महत्त्वपूर्ण विषय इरानसँगको द्वन्द्व हो। ह्वाइट हाउसका अधिकारीहरूले ट्रम्पले सी चिनफिङ र भ्लादिमिर पुटिनसँगको भेटमा यो विषय प्रत्यक्ष रूपमा उठाउने पुष्टि गरेका छन्। यसै साता अमेरिकाले मध्यपूर्वमा आफ्नो नौसैनिक उपस्थिति थप बलियो बनाएको छ। यूएसएस थियोडोर रुजवेल्ट विमानवाहक युद्धपोत पनि उक्त क्षेत्रमा पुगेको छ। तर अमेरिकी मध्यावधि निर्वाचनपछि ट्रम्प प्रशासनमाथि युद्धमा अमेरिकाको संलग्नता घटाउन आन्तरिक दबाब बढिरहेको छ। त्यसैगरी, चीन र रुस दुवैको इरानसँग गहिरो आर्थिक तथा रणनीतिक सम्बन्ध छ। त्यसैले मध्यपूर्वमा थप तनाव फैलिन नदिन यी दुई देशले कस्तो भूमिका खेल्न सक्छन् भन्ने विषयमा अमेरिकी प्रशासनले चासो राख्ने देखिन्छ। तीन शक्तिबीच कूटनीतिक दबाब सिर्जना गर्ने सहमति भएमा वा वार्ता निष्कर्षविहीन भएमा त्यसको प्रभाव तत्कालै तेल बजार, समुद्री ढुवानी बीमा दर र खाडी सहयोग परिषद् (जीसीसी) क्षेत्रका देशहरूको आर्थिक जोखिम मूल्यांकनमा पर्न सक्छ।

फेब्रुअरीमा नयाँ स्टार्ट (स्ट्राटेजिक आम्र्स रिडक्सन) सन्धिको अवधि समाप्त भएको नौ महिनापछि यो शिखर सम्मेलन हुन लागेको हो। उक्त सन्धिको अवधि सकिएपछि आधा शताब्दीभन्दा बढी समयपछि पहिलोपटक अमेरिका र रुसका रणनीतिक आणविक हतियार भण्डारमा बाध्यकारी सीमा कायम रहेन। यद्यपि, यस विषयमा प्रगति हुने आशा गरिएको छ। सेन्जेनमा हुने वार्ता त्यस दिशामा पहिलो कदम बन्न सक्ने देखिएको छ। ट्रम्पले शीतयुद्धकालीन कूटनीतिक व्यवस्थाको अवशेषका रूपमा रहेको स्टार्ट सम्झौता अहिलेको अवस्थामा पुरानो भइसकेको बताउँदै आएका छन्। उनको लामो समयदेखिको धारणा के छ भने चीनको तीव्र गतिमा विस्तार भइरहेको आणविक हतियार भण्डारलाई पनि अमेरिका र रुससँगै एउटै सम्झौताभित्र समेट्नुपर्छ।
यस विषयमा सम्भावना रहेको संकेत पनि देखिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वार्ताबाट अघि बढ्ने कुनै पनि आणविक निशस्त्रीकरण पहललाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न तयार रहेको बताएका छन्। तर बेइजिङले यसअघि अमेरिका–रुसबीचको द्विपक्षीय आणविक हतियार कटौती वार्तामा सहभागी हुन अस्वीकार गर्दै आएको छ। चीनको तर्कमा अमेरिका र रुससँग आफ्नो तुलनामा निकै ठूलो आणविक हतियार भण्डार छ। त्यसैले पहिले यी दुई देशले आपसमा वार्ता गर्नुपर्छ। अमेरिकाका वरिष्ठ अधिकारीहरूले पनि यस वार्ताबाट तत्कालै ठूलो उपलब्धिको अपेक्षा नगर्न आग्रह गरेका छन्। उनीहरूले यसलाई पूर्ण सम्झौता गर्ने मञ्चभन्दा पनि ‘वार्ताको सुरुवात’ का रूपमा व्याख्या गरेका छन्।
पुटिनसँगको त्रिपक्षीय भेटवार्ताबाहेक ट्रम्प र सी चिनफिङबीच बिहीबार छुट्टै द्विपक्षीय बैठक तथा कार्यभोज हुने कार्यक्रम छ। यो वार्ता मुख्यतः भन्सार शुल्क, कृषि उत्पादन र कृत्रिम बौद्धिकता (एआई) मा केन्द्रित हुने सम्भावना छ। विशेषगरी अमेरिका र चीनबीच कायम रहेको भन्सार शुल्कसम्बन्धी अस्थायी सहमति विस्तार हुन्छ वा हुँदैन भन्ने विषय महत्त्वपूर्ण हुनेछ। जनवरी १० को समयसीमा नजिकिँदै गर्दा यसले थप महत्त्व पाएको छ। अमेरिकाले चीनलाई कृषि उत्पादन खरिदसम्बन्धी प्रतिबद्धता पूरा गर्न दबाब दिइरहेको छ। तर बेइजिङले विद्यमान भन्सार शुल्क घटाइएमा मात्रै अमेरिकी कृषि उत्पादनको आयात बढाउने संकेत दिएको छ। यसैबीच, चीनमा अत्याधुनिक एआई चिप निर्यात गर्ने अमेरिकी नीतिमाथि वासिङ्टनमा पुनः निगरानी र बहस भइरहेको छ। विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरेबियाले यस वार्तालाई नजिकबाट नियालिरहेका छन्। यी दुवै देशका सार्वभौम सम्पत्ति कोषले एआई तथा प्रविधि क्षेत्रमा ठूलो लगानी गरेका छन्।
अमेरिकाका वरिष्ठ अधिकारीहरूले त्रिपक्षीय वार्ताका क्रममा ट्रम्पले युक्रेन युद्धसम्बन्धी विस्तृत छलफलबाट टाढै रहने संकेत दिएका छन्। त्यस्तै, सी चिनफिङ पनि युरोपेली सुरक्षा विवादमा आफूलाई मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्न चाहँदैनन्। यस विषयमा चीनले मध्यस्थता गर्ने तयारी गरेको देखिँदैन। खाडी सहयोग परिषद् (जीसीसी) क्षेत्रका व्यावसायिक नेतृत्वका लागि यो सम्मेलन बाध्यकारी सम्झौताभन्दा पनि विश्वका शक्तिशाली राष्ट्रबीचको सम्बन्ध कता जान्छ भन्ने बुझ्ने अवसर हो। यस क्षेत्रका देशहरूले लामो समयदेखि अमेरिका, चीन र रुस तीनै देशसँग एकैसाथ आर्थिक तथा कूटनीतिक सम्बन्ध कायम राख्ने रणनीति अपनाउँदै आएका छन्। यदि बिहीबारको वार्ताले तीन ठूला शक्तिबीचको सम्बन्धमा केही सुधार ल्याउन सकेमा खाडी देशहरूले अपनाएको सन्तुलित कूटनीतिक रणनीति सही दिशामा रहेको पुष्टि हुन सक्छ। तर सेन्जेन वार्ताले तीन शक्तिबीचको दूरी अझ बढाएमा ऊर्जा मूल्य, व्यापारसम्बन्धी नियम तथा प्रविधि आपूर्ति शृङ्खलामा थप अस्थिरता आउन सक्छ। यसले खाडी क्षेत्रको अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।



