११ मंसिर , काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा हिजो दुई नेता बीच पाँच घण्टा लामो भेटवार्ता भएको हो । रविको सचिवालयका अनुशार सभापति निवास बुढानिलकण्ठमा पाँच घण्टा आत्मिय र सौहार्दपूर्ण कुराकानी भएको छ । भेटमा प्रधानमन्त्रीद्वारा भ्रमणबारे सभापतिलाइ जानकारी दिइएको तथा भेटमा भारत भ्रमण र उपलब्धीका बारेमा छलफल भएको सचिवालयले जनाएको छ ।
आगामी निर्वाचनहरु र त्यसको तयारीका सन्दर्भमा समेत दुबैजनाबीच कुराकानी भएको रविका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका छन् । भेटमा पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री, मन्त्रालय र सरकारका कामकारवाही सहित अध्यादेश र आगामी संसद् अधिवेसनसम्बन्धमा कुराकानी भएको आचार्यले जानकारी दिएका छन् । आज मात्रै प्रधानमन्त्री शाहले मन्त्रीको वरीयता फेरबदल गरेको अवस्थामा दुई नेता बीच भएको भेटलाई महत्वका साथ हेरिएको छ । रविसँग प्रधानमन्त्री शाहले भारत भ्रमणमा जानु अघि समेत भेटवार्ता गरेका थिए ।आज मात्रै प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम चार स्थानको छलाङ मार्दै सातौँबाट तेस्रो वरीयतामा उक्लिएकी छन्। गौतम तेस्रो स्थानमा आएसँगै यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, चौथो स्थानमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ पाँचौँ, पाँचौँ स्थानमा रहेका सुधन गुरुङ छैटौँ र छैटौँ स्थानमा रहेका सुनिल लम्साल सातौँ स्थानमा झरेका छन्। आठौँ स्थानमा रहेका महावीर पुन र अन्य मन्त्रीहरूको वरीयता भने यथावत् राखिएको छ।मन्त्रिपरिषद् गठन भएको आठ महिनापछि प्रधानमन्त्री शाहले एकाएक वरीयता हेरफेर गर्नुको पछाडि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भित्रको आन्तरिक शक्ति संघर्ष र मन्त्रीहरूको कित्ता परिवर्तन मुख्य कारण रहेको उच्च राजनीतिक स्रोतको दाबी छ। कानुनमन्त्री गौतमको बढुवा र अन्य मन्त्रीहरूको घटुवालाई न्यायपालिकामाथिको प्रभावसँग समेत जोडेर हेरिएको छ।
अर्कोतर्फ, वरीयता घटुवामा परेका परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ अझै पनि रास्वपा सभापति रवि लामिछाने निकट मानिन्छन्। एकैपटक तेस्रोबाट चौथो र चौथोबाट पाँचौँ स्थानमा झारिनुलाई प्रधानमन्त्री शाहले रवि निकट मन्त्रीहरूलाई दिएको राजनीतिक सन्देशका रूपमा हेरिएको छ।प्रधानमन्त्री शाहले यही मंसिर ६ र ७ गते गरेको मित्रराष्ट्र भारतको राजकीय भ्रमणका क्रममा मंसिर ७ मा फेसबुकमा भ्रमण दलमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको फोटो राख्दै देश उँभो लगाउने टोली क्याप्सन लेखेका थिए । देश उँभो लगाउने प्रधानमन्त्रीको टोलीमा परेका परराष्ट्रमन्त्री खनाल भने स्वदेश फर्किएको तेस्रो दिन नै वरीयताता घटुवामा परेका छन् । प्रधानमन्त्रीको अनुपस्थितमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको उर्जामन्त्री श्रेष्ठको पनि वरीयता घटुवा हुँदै पाँचौँ नम्बरमा पुगेको छ ।

मन्त्री गौतम बालेन शाह नेतृत्वको सरकार गठन हुँदा १२औँ वरीयतामा थिइन् । त्यसबेला पहिलोपटक सांसद र मन्त्री बनेका सुधन गुरुङ तेस्रो वरीयतामा थिए । यसअघि नै मन्त्री र सांसद बनेकाहरूलाई वरीयतामा तल राखिएको भन्दै असन्तुष्टि भएपछि प्रधानमन्त्री शाहले चैत २४मा १३औँ दिनमै मन्त्रीहरूको वरीयता हेरफेर गरेका थिए । त्यसवेला तेस्रो नम्बरमा रहेका गृहमन्त्री गुरुङ भन्दा माथि परराष्ट्रमन्त्री खनाल र उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई राखिएको थियो । तर, ०७९ मै सांसद भएकी गौतमलाई भने पहिलोपटक सांसद भएका गृहमन्त्री गुरुङ र पूर्वाधारमन्त्री लम्सालभन्दा पछि राखिएको थियो । गौतम सातौँ वरीयतामा परेकी थिइन् ।
त्यसबेला उनीसँगै मन्त्री सिता वादीको पनि वरीयता सुधार गर्दै १४औँ नम्बरबाट आठौँमा बढुवा भएको थियो । दोस्रोपटक वैशाख ३१ मा वरीयता हेरफेर हुँदा उनी छैटौँ नम्बरमा परेकी थिइन् । त्यसबेला पाँचौँ वरीयताका मन्त्री सुधन गुरुङले राजीनामा दिएर खाली हुँदा गौतम छैटौँ वरीयतातामा परेकी थिइन् । जेठ २६मा राजीनामा दिएका गृहमन्त्रीमा गुरुङको पुनर्नियुक्ति हुँदा स्वतन्त्र निर्वाचित भएका महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका थिए । त्यसबेला तेस्रोपटक वरीयता हेरफेर हुँदा गौतमको सातौँ वरीयता कायम थियो । मन्त्री पुन आठौँ वरीयतामा पर्दा मन्त्री सिता वादी पछिको वरीयताका मन्त्रीहरूको एक तह घटेको थियो । तर विश्लेषकहरु भने यसलाई नियमित र आवश्यक ठान्छन् । विगतामा मन्त्रिपरिषद् गठन हुँदा नै मुख्यसचिवको परामर्शमा मन्त्रीहरूको वरीयता निर्धारण हुने अभ्यास थियो । तर, पछिल्लो मन्त्रिपरिषद् गठन हुँदा मुख्यसचिवसँग सल्लाह÷सम्पर्क नभएको पाइको छ ।
मन्त्री सोविताको बढुवामा दुई कारण रहेको प्रधानमन्त्री निकट स्रोत बताउँछ । पार्टीको वरीयताको मान्यतासँगै व्यक्तिगत ‘फर्ममेन्स’ पनि आधार रहेको स्रोतको दाबी छ । “पहिलो त उहाँ पार्टीको उपसभापति हुनु भएको झण्डै ६ महिना भइसकेको छ । पहिलेको वरीयतामा उहाँले चित्त बुझाउनुभएको थिएन,” स्रोतले भन्यो, “त्यो भन्दा महत्त्वपूर्ण आफ्नो ‘पर्फमेन्स’ मार्फत प्रधानमन्त्रीलाई उहाँले सकारात्मक प्रभाव पार्नुभएको हो ।” मन्त्री गौतमको सचिवालयले भने पार्टीको वरीयतातालाई सरकारले मान्यता दिएको रूपमा अथ्र्याएको छ । पार्टीको प्रथम महाधिवेशन गत असारमा सम्पन्न भएको थियो । असारमै पार्टीको उपसभापति निर्वाचित भएकी गौतमको मंसिर १० गते प्रधानमन्त्री शाहले वरीयतामा सुधार गरेका हुन् ।





