काठमाडौं, कात्तिक २५
झण्डै दुई वर्षअघि छिन्नभिन्न भएका तीनवटा राप्रपा फेरि एकीकरणको अन्तिम तयारीमा जुटेका छन् । तीनै पार्टीका नेताहरुका अनुसार पार्टी एकता घोषणाको अन्तिम तयारी भइरहेको छ । उनीहरुका अनुसार तत्कालै आ–आफ्नो पार्टीमा एकताबारे छलफल गरेर संयुक्त पत्रकार सम्मेलन गरी एकताको मिति घोषणा गरिनेछ ।
पार्टी एकताका लागि भएका प्रगतिबारे जानकारी दिन तीनवटै पार्टीका अध्यक्षले आ–आफ्नो पार्टीमा ब्रिफिङ गर्न पार्टी बैठक बोलाएका छन् । कमल थापा नेतृत्वको राप्रपाको आइतबार दिउँसो बैठक बस्दैछ । सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार उपत्यकामा उपलव्ध केन्द्रीय सदस्यहरुको बैठक आइतबार बोलइएको हो ।
त्यस्तै पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पनि आजै पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सो पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले साढे २ बजेपछि उच्चस्तरीय कार्यसम्पादन समतिको बैठक बस्न लागेको बताए ।
‘एकताका लागि तीनै अध्यक्षबीच पटक पटक भएका वार्ता र छलफलपछि आ–आफ्नो पार्टीमा छलफल गर्न बैठक बोलाइएको हो । सम्भवत एकदुई दिनमै एकता गर्ने नगर्ने स्पष्ट धारणा बाहिर आउछ ’ गुरुङले रातोपाटीसँग भने ।
तीनै पार्टीका अध्यक्षले छुट्टाछुट्टै वार्ता र छलफल गरेर एकताको गृहकार्य गरेका थिए । पहिलो चरणमा उनीहरुबीच सामूहिक नेतृत्वका आधारमा एकता प्रकृया अघि बढाउने सहमति भएको बताइएको छ ।
यसअघि २०७३ फागुनमा एकीकृत राप्रपाको महाधिवेशन भएको थियो । तर, त्यसको केही समयमै असन्तुष्टि जनाउँदै नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा त्यागेर एकीकृत राप्रपा गठन गरेका थिए ।
लोहनीले पार्टी छाडेको केही समयपछि अर्का नेता पशुपतिशमशेर राणाले पनि राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । राप्रपाका नेता बुद्धिमान तामाङका अनूसार एकता महाधिवेसनकै आधारमा एकता घोषणा गरिनेछ ।
उनले एकीकृत पार्टीमा कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनैजना अध्यक्ष हुने तथा लोकेन्द्रबहादुुर चन्दलाई पार्टीको संरक्षक बनाउने तयारी भएको बताए । पछिल्लो समय नेपालका राजनीतिक दलहरु सामुहिक नेतृत्वको अभ्यासतर्फ उनमुख भएका छन् ।