विराटनगर,मंसिर २७
मोरङको कटहरी गाउँपालिका ३ निवासी ३२ वर्षीय दिपक मिश्रको शव कलेजले उपचारको खर्च नदिएको भन्दै अस्पतालमै राखेपछि ऋण लिएर आफन्तले शव बुझेका छन् ।
शव तीन दिनदेखि नियन्त्रणमा राखेको खबर सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिनाशर्त शव दिन निर्देशन दिएको थियो । तर मन्त्रालयले दिएको निर्देशन नोबेल मेडिकल कलेज विराटनगरले अवज्ञा गरेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको निर्देशनमा चिकित्सा महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले अस्पतालमा टेलिफोन गरी शव रोकेर नराख्न निर्देशन दिएका थिए ।
महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले अस्पतालका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र उपाध्यायलाई टेलिफोन गरेर बिना शर्त शव आफन्तलाई जिम्मा लगाउन निर्देशन दिएका थिए । अस्पतालले पीडितबाट औषधि र अस्पतालको सबै चार्ज लिए शव बुझाएको मृतककी श्रीमती अनिता मिश्रले जानकारी दिइन् ।
बिहीबार आफन्तले अस्पतालमा एक लाख ५३ हजार, अस्पताल भित्र रहेको फार्मेसीको ९० हजार सँगै बाहिरको फार्मेसीबाट औषधि लिएको एक लाख २५ हजार, अस्पतालको क्यान्टिकको ३६ हजार गरी ४ लाख ४ हजार तिरेपछि अस्पतालले शव आफन्तलाई दिएको हो ।
मृतकका दाइले सबै रकम ऋणमा लिएर अस्पतालमा बुझाएको बताए । बिहीबार कोशी अञ्चल अस्पतालमा पोस्मार्टम गरेपछि मिश्रको अन्तिम संस्कार गरिएको छ । नोबेल मेडिकल कलेजले भने ५० प्रतिशत रकम छुट गरेर शव आफन्तको जिम्मा लगाएको बताएको छ ।
मन्त्रालयबाट आफन्तलाई शव जिम्मा लगाउन आएको निर्देशन बारे प्रशासकीय अधिकृतले आफूलाई जानकारी नभएको बताएका छन् । साउन २ गते विराटनगर महानगरनगरपालिका ४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको मिश्रको उपचारको क्रममा मंगलबार दिउँसो ११ बजे मृत्यु भएको थियो ।