काठमाडौं,पुस ११
नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ।
इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा ’बधाई’ दिएको जनाइएको छ।
विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ’बधाई सन्देश पठाएको’ लेखिएको छ।
पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ। उद्दार तथा राहत अभियान सफल होओस् भन्ने सदीक्षा पनि राष्ट्रपतिले राखेको विज्ञप्तिमा उल्लेख छ। (अन्नपुर्ण पोष्ट)