वाइडबडी खरिद प्रकरणःबचाऊमा उत्रिए नेकपाका सांसद

वाइडबडी खरिद प्रकरणःबचाऊमा उत्रिए नेकपाका सांसद

काठमाडौँ, पुस २०
संसदको सार्वजनिक लेखा समिति सदस्य रहेका सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूले वाइडबडी प्रकरणमा सरकारको बचाउ गरेका छन् । शुक्रबार बसेको लेखा समितिको बैठकमा उपस्थित सत्तारूढ दलका अधिकांश सांसदले वाइडबडी खरिद प्रकरणमा संसदीय उपसमितिले सार्वजनिक गरेको प्रतिवेदनमा केही त्रुटी रहेको बताएका हुन् ।

यसअघि उपसमितिको प्रतिवेदन त्रुटीपूर्ण भएको भन्दै सरकारले उच्चस्तरीय छानबिन आयोग बनाएको थियो । बैठकमा बोल्दै सांसद विशाल भट्टराईले प्रतिवेदनले अन्याय गरेको बताए । नेकपाकी सांसद पुष्पाकुमारी कर्णले पनि प्रतिवेदनमा त्रुटी भएको बताइन् । उनले प्रतिवेदनमा नाम तोकिएका सबै सचिवहरूको राय लिन सुझाव दिइन् ।

अर्का सांसद सूर्य पाठकले समिति सदस्यले थाहा पाउनु पहिले नै उपसमितिको प्रतिवेदन मिडियामा आएकोमा आपत्ति जनाए । उनले पूर्वपर्यटन सचिव प्रेमकुमार राई र निगम महाप्रबन्धक सुगतरत्न कंसाकारलाई एउटै घानमा हाल्न नमिल्ने बताए । जहाज खरिदको बिल पनि नपाएकाले उपसमितिको प्रतिवेदन अपुरो भएको उनको तर्क छ ।

अर्का सांसद यज्ञबहादुर बोहराले उपसमितिको प्रतिवेदन समितिलाई बुझाउनु अघिल्लो दिन सार्वजनिक हुनु गैरजिम्मेवारी भएको बताए । यस्तै सांसद पार्वती कुमारी विशुन्खेले खरिद प्रक्रियाको प्रपञ्च गर्नेलाई कम र अन्तिम किस्ता दिएर जहाज बुझ्नेलाई बढी दोषी किन देखाइयो भनी प्रश्न गरेका छन् । अर्का सांसद लेखराज भट्टले प्रतिवेदनमा कमजोरी रहेको बताए । समितिको शुक्रबारको बैठकमा प्रतिवेदनमा सहमति जुटन नसकेपछि सोमबारसम्मका लागि बैठक स्थगित भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.