विराटनगर, माघ १२
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटमा विभिन्न कलेजहरु विजयी भएका छन् । क्रिकेटमा शिक्षादीप र अर्किड तथा फुटबलततर्फ ग्रिनल्याण्ड र मोर्डनएरा तथा छात्रा भलिबलमा शिक्षादीप, टेबलटेनिसमा मेरिल्याण्ड, अरनिको र कान्तिपुर कलेज विजयी भएका छन् ।
हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको क्रिकेटको पहिलो खेलमा शिक्षादीप कलेजले एभरेष्ट कलेजलाई १५ रनले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेल अर्किड कलेजले पथरीको एभरेष्ट कलेजलाई ८४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्सैगरी टेबलटेनिसको छात्र टिम इभेन्ट्सतर्फ मेरिल्याण्ड कलेज र अरनिको कलेज फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै छात्रा टिम इभेन्ट्सततर्फ मेरिल्याण्ड कलेज र कान्तिपुर कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको छन् । टेबलटेनिसकै छात्र एकलततर्फ मेरिल्याण्डका राहुल साहले अरनिकोका प्रजन्य श्रेष्ठलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् ।
अर्को खेलमा शिक्षादीपका फुबलाल साहले मेरिल्याण्डका सुशांक आचार्यलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् । छात्रा एकलततर्फ मेरिल्याण्डकी अंकिता उदासले कान्तिपुरकी सरिता मगरलाई हराउँदै फाइनलमा प्रवेश गरेकी छन् । अर्को खेलमा मेरिल्याण्डकी पूजा दंगाले कान्तिपुरकी श्रृशा लुइँटेललाई हराउँदै फाइनलमा प्रवेश गरेकी छन् ।
छात्रा भलिबलमा शिक्षादीप कलेजले मोर्डनएरा कलेजलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । त्यस्तै फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले भानु मेमोरियल कलेजलाई ६–१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भोलि टेबलटेनिसको फाइनल खेल हुनेछ । क्रिकेटको पहिलो खेल शिक्षादीप र कोसी तथा दोस्रो खेल कान्तिपुर र अरनिकोबीच हुनेछ । भलिबल छात्रको खेल हुनेछ ।