विराटनगर,माघ १४
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको बास्केटबलको उपाधि अरनिको कलेजले जितेको छ । फुटबलमा मोर्डनएरा र ग्रिनल्याण्ड कलेज, क्रिकेटमा मेरिल्याण्ड र अरनिको तथा छात्र भलिबलमा ग्रिनल्याण्ड, सिर्जनाज्ञान, मोर्डनएरा र कान्तिपुर कलेज विजयी भएका छन् ।
हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको बास्केटबलको फाइनलमा अरनिको कलेजले शिक्षादीप कलेजलाई पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै छात्र भलिबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले शिक्षादीप कलेजलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले ग्रिनल्याण्ड कलेजलाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो । दोस्रो खेल अरनिको कलेजले लर्डबुद्ध कलेजलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुग्यो । त्यसैगरी फुटबलको पहिलो खेल मोर्डनएरा कलेजले कोसी कलेजलाई १–० गोलमा पराजित गर्दै फाइनलमा प्रवेश गरको छ ।
दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले रेडस्टार स्कुललाई टाइब्रेकरमा ५–४ गोलमा पराजित गर्दै फाइनलमा पुगेको छ । उपाधि जितका लागि ग्रिनल्याण्ड र मोर्डनएराबीच बुधबार खेल हुनेछ । प्रतियोगिताको भोलिको भलिबल छात्रतर्फ पहिलो खेल ग्रिनल्याण्ड र कोसी तथा दोस्रो खेल सिर्जनाज्ञान कुञ्ज र बाल्मिकीबीच हुनेछ । क्रिकेटको पहिलो खेल मेरिल्याण्ड र कोसी तथा दोस्रो खेल अरनिको र अर्किडबीच हुनेछ ।










