एजेन्सी, फाल्गुन २०
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ लोगो र राष्ट्रिय टिमले प्रयोग गर्न नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै एन्फाले नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो । एन्फाको नयाँ लोगो पोखराका सन्दीप तिवारीले तयार पारेका हुन् ।
उक्त लोगो निर्माण गरेका तिवारीलाई एन्फाले नगद ५० हजार दिएर सम्मान गरेको छ । नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह छ । यस्तै फुटबल भित्र मुलुकको ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातै रङ राखिएको छ । यो सँगै एन्फाको दोस्रो पटक लोगो परिवर्तन गरेको हो । यसअघि २०६२र६३ को जनआन्दोलन पछि पहिलो पटक लोगो परिवर्तन गरेको थियो।
एन्फाले नेपाली राष्ट्रिय टोलीले लगाउने जर्सी पनि परिवर्तन गरेको छ । नयाँ जर्सी एकै ढाँचाको रहेकोछ । यसअघि नेपाली टोलीले फरक फरक कम्पनीको फरक(फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो । नयाँ जर्सी यस पटक पनि दुई रातो र निलो रङको छ। तर, लोगो राखेको स्थान परिवर्तन भएका छन् ।
जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतिक राखिएको छ । जर्सीमा बायाँ पट्टि राष्ट्रिय झण्डाको सट्टा एन्फाको लोगो हुनेछ। राष्ट्रिय झण्डा अब जर्सीको पछाडि हुनेछ। यो जर्सीको डिजाइन एन्फा आफैंले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो । यसैबीच एन्फाले फुटबल टिमको गीतसमेत सार्वजनिक गरेको छ । फुटबल टिमको गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन्। गीतमा शिव परियार, ईन्दिरा जोशीलगायतको स्वर छ ।