विराटनगर,फागुन २६
काठमाडौ बाहिर पहिलोपटक विराटनगरमा हुन गईरहेको ५ औं साफ महिला फुटबल च्याम्पियनसीपको सम्पूर्ण तयारी पूरा भएसँगै विराटनगर फुटबलमय भएको छ । प्रतियोगितामा सहभागी भएका सबै देशका टिम विराटनगरमा आइपुगेका छन् ।
विराटनगरमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मंगलबारबाट सहिद रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको मंगलबार हुने उद्घाटन खेल आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा भाग लिन आयोजक नेपालसहित भुटान, भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशका टिम आइतबार विराटनगर आइपुगेका छन् ।
प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन् । पछिल्ला समय नेपाली महिला टोलीले सफलता हात पार्ने क्रम बढ्दै गएको छ । दक्षिण एशियाली राष्ट्रमध्ये शक्तिशाली राष्ट्र छिमेकी मुलुक भारतलाई उसैको भूमिमा धेरै समयपछि पराजित गर्दा नेपाली टोलीले उच्च मनोबलका साथ उपाधि जित्ने दाउमा रहेको छ ।
विराटनगरमा अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै प्रहरीले सुरक्षा व्यवस्था थप कडाइ गर्न थालेको छ । प्रहरीले सडक चेकलगायत अन्य सुरक्षा विधिलाई बढाउँदै लगेको प्रहरीले जनाएको छ । प्रहरीले खेलाडी तथा अफिसियल बसेका होटल, अभ्यास गर्ने मैदान, प्रतियोगिता हुने मैदानलगायत आवतजावत गर्ने सडकमा सुरक्षा तैनाथी बढाएको छ ।
प्रहरीले नयाँ प्रविधिसहित सुरक्षा रणनीति बनाउँदै प्रतियोगितालाई पूर्ण सुरक्षित बनाउने अभियान थालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।