विराटनगर,फागुन ३०
पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताबाट लगातार दुई खेलमा पराजित भएसँगै भुटान घर फर्किएको छ । विराटनगरको सहिद रंगशालामा बिहीबार बंगलादेशसँग भएको आफनो दोस्रो खेलमा भुटान २ शुन्य गोल अन्तरले पराजित भएको छ ।
यसअघि नेपालसँगको खेलमा भुटान तीन शून्यले पराजित भएको थियो । भुटान पराजित भएसँगै बंगलादेश र नेपाल एक खेल अगावै सेमिफाईनल पुगेका छन् । समूह ’ए’ मा नेपाल र बंगलादेशको समान ३ अंक रहेको छ ।
समूहको विजेता भने दुई टिमबीचको शनिबारको खेलबाट टुङगो लाग्नेछ । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । समूह बीका श्रीलंका र माल्दिभ्सबीच शुक्रबार खेल हुनेछ । समूह बीमा भारतले माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोडेको छ ।