काठमाडौँ, चैत २
अघिल्लो वर्षको दशैंमा रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ । फिल्म अर्को वर्षको दोस्रो साता अर्थात् बैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको निर्माताले जानकारी दिएका छन् ।
दर्शकहरुको चाहना बमोजिम फिल्म रि–रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका छन् । यो मितिमा कुनै फिल्म प्रदर्शनमा आउँदै छैनन् । हलिउडको बहुप्रतिक्षीत फिल्म ‘एभेन्जरः इन्ड गेम’ आउन लागेका कारण यो मितिमा कुनै नेपाली फिल्म प्रदर्शनमा आउन नसकेका हुन् ।
यसअघि यो मितिमा प्रतिक्षीत फिल्म ‘दाल भात तरकारी’ आउने तय भएको थियो । तर, शुक्रबारमात्र ‘एभेन्जर’ को डरले यो फिल्म एक हप्ता पछाडि सरेको छ । यसैको फाइदा उठाउँदै ‘छक्का पञ्जा २’ फेरि हलमा रिलिज हुन लागेको हो ।
हलमा रिलिज भएको डेढ वर्ष वितिसके पनि यो फिल्म अझै युट्युबमा रिलिज भएको छैन । यो फिल्म युट्युबमा पर्खेर बस्ने दर्शक धेरै छन् । तर, निर्माण टिमले तत्काल युट्युबमा रिलिज गर्नेभन्दा पुनः हलमा फिल्म प्रदर्शन गर्ने निर्णय लिएको छ ।
दीपाश्री निरौला निर्देशित यस फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मको तेस्रो पार्ट पनि प्रदर्शनमा आइसकेको छ । फिल्ममा समावेश ‘म त यता किनारामा’ र ‘नाइनलको साडीमा’ बोलको गीत अहिले पनि उतिक्कै लोकप्रिय छ ।
बैशाख १३ मा कुनै नेपाली फिल्म नभएका कारण ‘छक्का पञ्जा २’ ले पुनः एकपटक सिंगल थिएटरमा दर्शक तान्न सक्ने फिल्म पण्डितहरुको आँकलन छ ।









