काठमाडौं : गत १९ चैत मंगलबार राति चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ ।
घटनाबारे छानबिन गर्न गठित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको चार सदस्यीय समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै घटनामा दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारीबीच प्रभावकारी समन्वय नभएको भन्दै कारबाही गर्न भनिएको छ ।
त्यस्तै, उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचालेको भन्दै निगमका दुई कर्मचारीलाई र ह्यांगरबाट पार्किङ वेमा जहाज ल्याउँदा समन्वयमा कमजोरी गर्ने निगमकै थप दुई कर्मचारीलाई पनि विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ । तर, नाम किटान गरेरै कारबाही सिफारिस गरिए पनि दोषीको नाम भने सार्वजनिक नगर्ने सहमति भएको छानबिन समितिका एक सदस्यले बताए ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।