विराटनगर, बैशाख १५
विराटनगर महानगरपालिकाले ५० लाखको बजेटमा डिजिटल प्रोफाईल निर्माण गर्ने भएको छ । महानगरभित्रका घरधुरीको सचित्र विवरण सहित आवश्यक सम्पूर्ण तथ्यांक समेटिएको डिजिटल सिटि प्रोफाईल आगामी २६ साता भित्र निर्माण गरिने विराटनगर महानगरपालिका कार्यालयका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिए ।
निर्माण गर्न लागिएको डिजिटल प्रोफाईलका बिषयमा आइतबार महानगरपालिका परिसरमा पाश्र्वचित्र निर्माण सम्बन्धि प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सरोकारवालाहरुलाई सहभागि गराएर गरिएको गोष्ठिमा प्रोफाइल निर्माण गर्ने जिम्मा लिएको स्कोलर नेपाल प्रालिका प्रतिनिधिले डिजिटल प्रोफाईलको स्वरुपको बिषयमा सरकोरावालालाई सचित्र जानकारी गराएको छ । स्कोलर नेपालका आइसिटी बिज्ञ दीपक दवाडीले उपस्थित सरोकारवालालाई सो बिषयको जानकारी गराएका थिए ।
महानगरको दोश्रो नगर सभाले डिजिटल प्रोफाईल निर्माण गर्ने निर्णय पारित गरेको थियो । जसकालागि ५० लाख बजेट बिनियोजन गरिएको छ । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली,उपप्रमुख इन्दिरा कार्की,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे लगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।